सञ्चालनमा आएन सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय
सुदूरपश्चिम प्रादेशिक चिकित्सालयको निर्माण कार्य २०७४ सालमा सुरु भएको थियो। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ राजपुरमा संघीय सरकारले सुदूरपश्चिमका लागि उक्त चिकित्सालय निर्माण गरेको हो।
१६ करोड ३६ लाख लागतमा बनेको चिकित्सालय निर्माणको काम पूर्णरुपमा सकिएको छ। संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले उक्त अस्पताल भवन निर्माण गरेर गत असारमै सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेको थियो। तर, आयुर्वेद सेवा सुरु गर्ने जिम्मा पाएको सुदूरपश्चि सरकार भने कर्मचारी व्यवस्थापन गर्न सकिरहेको छैन।
सुदूरपश्चिम प्रादेशिक चिकित्सालयका प्रमुख डाक्टर खगेन्द्र बमले अस्पताल सञ्चालनको तयारी पूरा भएको बताए। ‘सेवा सुरु गर्नका लागि तयारी पूरा भएको छ। केही प्राविधिक कर्मचारी व्यवस्थापन गर्न सकिएको छैन। त्यसको प्रक्रिया सुरु भएको छ,’ उनले भने।
बहिरंग सेवा भने असोजभित्रै सुरु हुने डाक्टर बम बताउँछन्। ‘बहिरंग सेवा भने आउने असोजभित्रै सुरु गर्ने तयारी छ,’ उनले भने, ‘अन्य सेवा भने कर्मचारी व्यवस्थानपछि मात्रै सुचारु हुन्छ।
साविकको सेती आयुर्वेद अस्पताललाई सुदूरपश्चिम प्रादेशिक चिकित्सालयमै गाभिएको छ। उक्त अस्पतालमा रहेका जनशक्ति पनि चिकित्सालयमा छन्। तर, थप आवश्यक जनशक्ति व्यवस्थापनमा भने ढिलाई भएको छ।
भौतिक संरचना निर्माणको काम सकिएसँगै फर्निचर, खानेपानी, विद्युत विस्तार लगायत कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने अन्य सबै कामहरु पूरा भएको छ। तर, प्राविधिक जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारले ढिलाई गरेकाले उक्त चिकित्सालयले सेवा सञ्चालन गर्न सकेको छैन।
आयुर्वेद अस्पताललाई आवश्यक पर्ने अधिकांश उपकरण पनि खरिद गरिएका छन्। अस्पतालमा शय्या, प्रयोगशाला, एक्सरे लगायतका उपकरणहरु जडान गरिएको छ। आयुर्वेद अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चिकित्सक, वैद्य, स्टाफ नर्स, एएनएम तथा ल्याबका कर्मचारीको पदपूर्ति गर्न बाँकी छ। dineshkhabar