बन्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर विसर्जन गर्न नदिने सरोकार समितिको घोषणा
बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न नदिने भएको छ । काठमाडौं उपत्यकाको फोहोर उपत्यकाभित्रै व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले गरेको भन्दै सरोकारवाला समितिले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने भन्दै पत्रकार सम्मेलन गरेको छ ।
समितिका अध्यक्ष श्रीराम ढुंगानाले भने,’मेयर बालेन्द्र शाहले भदौदेखि काठमाडौंभित्र फोहोर व्यवस्थापन गर्छु भनेर भन्नुभएको छ । उहाँको त्यही योजनालाई साकार बनाउनका लागि हामी भदौ १ गतेदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने निर्णय गर्दै उहाँको योजनालाई सघाउने घोषणा गरेका हौं । ‘
सम्झौतामा जग्गा प्राप्ती र गुठी जग्गाको र मध्यवर्ती क्षेत्रको विषयमा समावेश भएपनि कार्यान्वयन नभएक बताए । ‘जग्गा प्राप्त गर्ने सम्बन्धमा चार महिनाभित्र सम्पूर्ण प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने भन्ने निर्णय भएको थियो तर भएको छैन,’ उनले भने ।
अध्यक्ष ढुंगानाले फोहोर मैला प्रशोधन प्लान्ट बन्चरेडाँडामा स्थापना गर्ने भनिएपनि मेयर शाहले काठमाडौंभित्रै खोल्ने र हरेक वडामा स्थापना गर्ने निर्णय गरेकाले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताए । ‘फोहोर प्रशोधन प्लान्ट बन्चरेडाँडामा गर्ने भनिएको थियो । अहिले उपत्यकाभित्रै स्थापना गर्ने निर्णय गर्नुभएको छ । यसलाई हामी स्वागत र सहयोग पनि गर्छौं । काठमाडौंमै स्थापना हुने भएपनि बन्चरेडाँडामा अब फोहोर फाल्न हामी दिदैनौं,’ उनले भने ।
सरोकारवाला समितिले बन्चरेडाँडामा फोहोर विसर्जन नगरेर फुटबल ग्राउन्ड बनाउनुपर्ने आग्रह गरे । ‘फोहोर नफालिएपछि त्यो ठाउँमा फुटबल ग्राउन्ड बनाउनुपर्छ,’ उनले भने,’ भदौ १ गतेदेखि फोहोर विसर्जन रोकिने भएपछि अहिले देखि नै वैकल्पिक व्यवस्थापन गर्ने उपाय खोज्नका लागि भनेर हामीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हौं ।’
मेयर शाहसँग यसबारे बुझ्न खोज्दा उनको सहायक स्वकीय सचिव नविन भण्डारीले मेयर शाह मिडिया र सञ्चारकर्मीलाई केही पनि प्रतिक्रिया नदिने बताए । सहायक स्वकीय सचिव भण्डारीले मेयर शाहले आफ्ना धारणाहरू इन्टरनेट मार्फत सार्वजनिक गर्ने बताए । kantipurnews