धौलागिरी टोल विकास संस्थामा नयाँ नेतृत्वमा विवाद हुदाँ अधिबेशन हुन सकेन्
टोल विकास संस्था टोले राजनीति गर्ने केन्द्र बन्दै
बर्दघाट ८ असार- पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित धौलागिरी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन हुन सकेको छैन् ।
वडाका २१ टोल मध्ये २० टोल विकास संस्थामा नयाँ जन प्रतिनिधि आएपछि नयाँ नेतृत्व चयन गरिएको छ । तर , धौलागिरी टोल विकास संस्थामा आँकाक्षीहरु धेरै भएपनि खास गरेर दुई जना आँकाक्षी बीच सहमति नहुदाँ संस्थाले नयाँ नेतृत्व पाउन नसकेको हो ।
नेकपा (माओवादी केन्द्र) का समर्थित आँकाक्षी खेमु गैरे र विप्लव नेकपा समर्थित आँकाक्षी भिम केसी बीच अध्यक्ष पदमा सहमति नहुदाँ टोल विकास संस्थाको अधिबेशन हुन सकेको छैन । बाँकी अन्य आँकाक्षीहरुले छोड्दै गएपनि मुख्य दुई जना बीच प्रतिष्पर्धा भएकोले नयाँ नेतृत्वमा अन्योल देखिएको जनाइएको छ ।
एक पक्षले अर्काे पक्षलाई फकाउने र गलाउने दुवै तरिका अपनाएको कारण टोलले नेतृत्व पाउन नसकेको एक स्थानीयले जानकारी दिए ।
अध्यक्ष पदका आकाँक्षी भिम केसीले आफूले १२० घरका घरमुली मध्ये ७५ जनाको हस्ताक्षर सहित बहुमत सिद्ध गरेपनि वडाले त्यो निबेदन र हस्ताक्षर दर्ता गर्न नमानेर लोकतन्त्रको धज्जी उडाएको बताउनुभयो । उहाँले संस्थाको बिधान देखाएर वडा कार्यालयबाट प्रक्रिया लम्ब्याइएको बताउनुभयो ।
त्यस्तै बर्दघाट वडा नं ४ का वडाध्यक्ष बेधविना तिवारीले सहमतिमै टोल विकास संस्था गठन हुदै आएकोले सहमतिको प्रयास भइरहेको दावी गर्नुभयो । त्यस्तै वडा नम्बर ४ का वडा सदस्य जनक रावलले संस्थाको बिधान बमोजिम आफुहरुले टोल विकास संस्था गठन गर्दै आएको बताउदै हस्ताक्षरको बिषय भन्दा पनि सहमतिमै नयाँ नेतृत्व चयन हुने बिधानमा रहेको जानकारी दिनुभयो ।
त्यस्तै सबै जसो टोल विकास संस्थामा स्थानीय तहमा नयाँ जन प्रतिनिधि आएपछि सत्तारुढ गठबन्धनका नेता कार्यकर्तालाई नेतृत्व दिदै टोल विकास समिति गठन हुदै आएको छ । बिशेष गरेर नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुले अहिलेको टोल विकास संस्थाको नेतृत्व गर्दै आएका छन् । यस अघि नेकपा एमालेले पनि अधिकाँश टोल विकास संस्थालाई आफ्नो पकडमा लिदै आएको थियो । टोल विकास संस्था टोले राजनीति गर्ने केन्द्र बन्दै गएको छ ।