खानेपानी तथा सरसफाईको क्षेत्रमा सरोकारवालासंग सहकार्य गर्छाै- नगर प्रमुख श्रेष्ठ
नवलपरासी- बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले खानेपानी तथा सरसफाईको क्षेत्रमा नगरले सरोकारवालासंग सहकार्य गर्ने बताउनुभएको छ ।
शुक्रवार बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले नगरले स्वास्थ्यलाई प्राथमिकतामा राखेको हुदाँ सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले नगरभित्रका सबै वडामा रहेको खानेपानी योजनाबारे आफूहरु जानकार रहेको बताउदैं विकासमा सबैको पहुचँ बृद्धि गर्ने योजना रहेको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले नगरको विकास तथा समृद्धिमा पत्रकारहरुको भुमिका सकारात्मक हुनुपर्ने उल्लेख गर्नुभयो । पत्रकारहरुले हामीलाई कर्तब्य गराउन मद्धत गर्नुपर्छ – उहाँले भन्नुभयो – हामीले सबै क्षेत्रसंग समन्वय गर्छाैं ।
उहाँले कृषि सहकारी तथा बिभिन्न क्षेत्रका सरोकारवालाहरुसंगको अन्तरक्रियाहरु फलदायी हुदै गएको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले फोहोर ब्यवस्थापनमा कोही बाधक नहुने भन्दै वन क्षेत्रमा काम गर्न असहज भए सबैसंग सहमति गरेरै भएपनि ल्याण्डफिल्ड साइड बनाउने बताउनुभयो ।
उहाँले ल्याण्डफिल्ड साइडका लागि संघीय सरकारबाट २ करोड बजेट आएको जानकारी दिनुभयो । उपप्रमुख उपाध्यायले खानेपानीमा आफूले गरेको अनुभवलाई नगरमा सदुपयोग गर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले पत्रकाहरहरुले निगरानी र खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बर्दघाट ४ का वडाध्यक्ष बेधविना तिवारी, २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री , संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार कमान सिं थापा, सल्लाहकार तारा रानालगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता उपाध्यक्ष दीपक लम्सालको स्वागत एंव सचिव धनबहादुर गुरुङको संचालनमा भएको संस्थाका ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी दिनुभयो ।
त्यस्तै २८ गते शनिवार बिहान संस्थाको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।