केपी ओलीजीले झुटमाथि झुट बोल्नुभयो, उहाँका काण्ड भनि साध्य छैन : काँग्रेस प्रवक्ता महत
नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको बताए । आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी काँग्रेसमाथि प्रहार गरेपछि आज काँग्रेस प्रवक्ताले भने, ‘हामी झुटो राजनीति गर्दैनौं । केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’
यस्तै केपी ओलीको पालामा ऋण लिएर घ्यु खाने काम भएको उनको भनाइ छ । ‘घ्यु पनि जनतालाई होइन केही समितिले खाए,’ उनले भने, ‘केपी ओली अहिलेसम्म सरकारमा भएको भए नेपाल श्रीलंका भइसक्यो । नेपाललाई श्रीलंका पुराउने ओलीजीको योजना काँग्रेसले असफल पारेको छ ।’
काँग्रेस सरकारले कुरा होइन काम गर्ने उनको भनाइ छ । काँग्रेसले अब ६५ वर्षदेखि नै वृद्ध भत्ता दिने प्रतिबद्धता जनाएको उनले सुनाए । ‘सरदर आयु ७१ वर्ष छ । विपन्न समुदायका मान्छेको सदर आयु ७१ वर्ष छैन । उनीहरु वृद्धभत्ताबाट बन्चित छन् । त्यसैले हामीले ६५ वर्षमा वृद्ध भत्ता दिने प्रतिवद्धता छ ’ हामीले सुत्केरी सत्तास्वरुप ५ हजार दिने काँग्रेसको प्रतिबद्धता रहेको प्रवक्ता महतले बताए । ratopati