महामारीको डर, खोपको भर
काठमाडौँ — कोरोना संक्रमणका कारण सुरु भएको मृत्यु शृंखला पछिल्ला ३ सातायता रोकिएको छ । २०७७ जेठ ३ मा पहिलो पटक कोरोनाबाट मानवीय क्षति भएको पुष्टि भएयता नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भइसकेको छ । करिब २२ महिनापछि मात्रै कोरोनाबाट हुने मृत्यु थामिएको हो । पछिल्लो पटक चैत ८ मा एक कोरोना संक्रमितको मृत्यु भएको थियो ।
२०७६ चैत पहिलो साता नेपालीमा कोरोना भाइरस पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना महामारीका ३ लहरमध्ये मानवीय क्षतिका आधारमा दोस्रो लहर बढी घातक रह्यो । तेस्रो लहरमा भने संक्रमण दर उच्च रह्यो । गत वैशाख १ देखि हालसम्म ८ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । ‘कोरोना संक्रमणका कारण मृत्यु भएकामध्ये ७४.४१ प्रतिशतको मृत्यु यही वर्ष भयो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘त्यसमध्ये पनि करिब ९५ प्रतिशत मृत्यु दोस्रो लहरमा भएको देखिन्छ ।’
दोस्रो लहरमा अवस्था यति भयावह थियो कि एकै सातामा १ हजार ४ सय ५ जनाको मृत्यु भएको थियो । यो लहरमा संक्रमित हुने मध्ये १.४ प्रतिशतको मृत्यु भएको थियो । जबकि यस्तो दर पहिलो लहरमा ०.७५ प्रतिशत मात्रै थियो । संक्रमितका आफन्तहरू आईसीयू, भेन्टिलेटर र अक्सिजन अभावमा भौंतारिरहेका दृश्य सामान्यजस्तै बनेको थियो । मृत्यु भएकामध्ये धेरै व्यक्ति लक्षण देखिएपछि ढिलो गरी स्वास्थ्य संस्था पुगेकाहरू थिए ।
शरीरमा अक्सिजनको कमी हुँदा संक्रमितलाई अस्पताल लैजानुपर्ने अवस्था भए पनि तत्काल बेड नपाउने अवस्था र अस्पतालमा समेत अक्सिजन अभाव हुँदा धेरै बिरामीको मृत्यु भएको थियो । विज्ञहरूको दाबीअनुसार दोस्रो लहरमा मृत्यु भएकामध्ये आधाजसो मृत्यु समयमै उपचार नपाउँदा भएको थियो ।
‘देशभरिको स्वास्थ्य संरचना र उपचार सेवा उपलब्धताको विश्लेषण गर्दा कोरोनाले भएका मृत्युमध्ये करिब आधाजतिलाई बचाउन सकिन्थ्यो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले कान्तिपुरसँग भनेका थिए, ‘आधा मृत्यु समयमै उपयुक्त चिकित्सा सेवा सुविधा अभावमा भएको देखिएको छ ।’
पहिलो लहरमा ज्येष्ठ नागरिक र एकभन्दा बढी रोग भएका (कोमर्विडिटी) को बढी मृत्यु भएको थियो भने दोस्रो लहरमा बालबालिका र युवा पनि अधिक प्रभावित बने । पारासिटामोल, एस्टेरोइड, रगत पातलो बनाउने औषधि, श्वासप्रश्वासका बिरामीले सेवन गर्ने औषधि, शल्यक्रिया सामग्री, अक्सिजन मास्कलगायतको चरम अभावसमेत हुन पुग्यो । एन्टिबायोटिकहरू एजिथ्रोमाइसिन, डक्सिसाइक्लिन, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंकलगायत करिब ३० प्रकारका औषधिको सहज उपलब्ध थिएन ।
निको भइसकेका त्यसमा पनि मधुमेह र रोग प्रतिरोधक क्षमता कम भएका केही संक्रमितमा कालो ढुसी (ब्ल्याक फंगस) को नामले चिनिने रोग ‘म्युकोरमाइकोसिस’ को संक्रमणसमेत देखियो । तर त्यसविरुद्घको औषधि ‘एम्फोटेरेसिन–बी’ भने सहजै पाउने अवस्था रहेन । तत्कालीन सरकारले पूर्वतयारी नगर्दा उपचार र औषधि अभावमा ठूलो मानवीय क्षति पुगेको थियो । बरु सरकार सञ्चालक तथा दलहरू आफैं स्वास्थ्य मापदण्ड उल्लंघन गर्न तल्लीन देखिए । सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन जागरुक बनाउन पनि सरकारले सुरुमा प्रभावकारी रणनीति बनाउन सकेन । तर, त्यसको महत्त्व बुझेपछि स्वस्फूर्त रूपमा खोप केन्द्रमा थाम्नै नसक्ने गरी लाम लाग्ने अवस्था आयो ।
नेपालमा डेल्टा प्लससहित ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । गत पुस तेस्रो साता उच्च संक्रामक मानिएको ओमिक्रोन भेरिएन्टसमेत नेपालमा पुष्टि भयो । तेस्रो लहरमा ओमिक्रोनका कारण एकै दिन (गत माघ १३) सबैभन्दा धेरै संक्रमित थपिएका थिए । त्यस दिन मुलुकभर ९० हजार ५ सय ७५ जना सक्रिय संक्रमित थिए । जबकि मंगलबार यो संख्या ५ सय ५४ मात्रै छ ।
पछिल्लो ७५ दिनमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्यामा १ सय ६३ गुणाले कमी आएको देखिन्छ । मंगलबार देशभर १२ संक्रमित मात्रै सघन उपचारमा छन् । जसमध्ये वाग्मती प्रदेशमा १० जना आईसीयू र १ जना भेन्टिलेटरमा छन् भने गण्डकी प्रदेशमा १ जना आईसीयूमा उपचाररत छन् । पछिल्लो तथ्यांकले तेस्रो लहर मत्थर भएको संकेतसमेत गरेको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलमा ४ दिनयता संक्रमित छैनन् । त्यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भने जनरल बेडमा एक जना मात्रै संक्रमित उपचाररत छन् ।
कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ तेस्रो लहर अब सुषुप्त अवस्थामा पुगेको बताउँछन् । ‘तर संक्रमण अत्यन्त न्यून भए पनि शून्य नभएकाले र नयाँ भेरिएन्ट आउने जोखिम कायम नै रहेकाले सावधानी आवश्यक छ,’ उनले भने ।
वर्ष २०७८ मा कोरोनाविरुद्धको खोप लगाउने अभियानले समेत तीव्रता पायो । सुरुवाती अवस्थामा खोपकै अभाव झेल्दै आएकामा वर्षको मध्यतिर पर्याप्त मात्रामा खोप भित्र्याउन सफल भएको थियो । गत वैशाख १ यता ३ करोड ८५ लाख ८६ हजार १ सय १२ मात्रा खोप लगाइएको छ । यो हालसम्म लगाइएको खोपको कुल मात्राको ९५.३६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कुल जनसंख्याको ३ चौथाइले एक मात्रा, २ तिहाइले पूर्ण प्राथमिक मात्रा र ८ प्रतिशतले अतिरिक्त मात्रा खोपसमेत लगाएका छन् ।
मंगलबारसम्म मुलुकको कुल जनसंख्याको ७५.७ प्रतिशत अर्थात् २ करोड २१ लाख ६ हजार ४ सय ३५ जनाले कम्तीमा एक मात्रा र ६६.१ प्रतिशत अर्थात् १ करोड ९३ लाख ५ हजार ७ सय जनाले पूर्ण प्राथमिक मात्रा खोप लगाइसकेका मन्त्रालयको तथ्यांक छ । तेस्रो लहरमा खोप लगाएकाहरूमा समेत संक्रमण पुष्टि भए पनि स्वास्थ्य जटिलता, मृत्यु अत्यन्त न्यून देखिएको थियो । जसमा प्रमुख कारण खोप नै रहेको बताउँछन् डा. अधिकारी । उनका अनुसार हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप नेपाल भित्रिएको छ । kantipurnews