गठबन्धन गर्दा महिलाको भाग खोस्न मिल्दैन : महर

0

काठमाडौँ — नेपाली कांग्रेसका नेता नैनसिंह महरले चुनावमा गठबन्धन भएपनि संविधानले व्यवस्था गरेको समावेशिताको मर्मलाई आत्मसात गर्नुपर्ने माग गरेका छन् । उनले गठबन्धन गर्ने नाउँमा महिलाको अधिकार खोस्न नपाइने बताए । काठमाडौंमा ‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा नेता महरले स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व घट्न दिन नहुने बताए ।

‘कानुनले नै स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिलाको उम्मेदवारी हुनुपर्ने प्रष्ट व्यवस्था छ,’ उनले भने, ‘गठबन्धनको नाउँमा महिलाहरूले पाउने त्यो अधिकार खोस्न पाइँदैन ।’

उनले गठबन्धन गर्ने नाउँमा स्थानीय तहमा दुवै पदमा पुरुषहरूको मात्रै उम्मेदवारी पर्न सक्ने जोखिमका प्रति दलहरू र शीर्ष नेताहरूको ध्यान पुग्नुपर्ने बताए । ‘मुलुकभर आधाभन्दा धेरै मतदाता महिला छन्, जनसंख्या पनि महिलाकै धेरै छ, तर दल र सरकारमा महिलाको प्रतिनिधित्व कमजोर छ,’ उनले भने, ‘महिलालाई कानुनले दिएको आरक्षणमात्रै होइन, अन्य पदको उम्मेदवारीमा समेत प्राथमिकतामा राखिनुपर्छ ।’    kantipurnews

You might also like