बुबालाई भारत निकाला गरिएको रहस्य खोज्दै धर्म

0

 

चितवन — भरतपुर–८ गौरीगन्जका धर्म कार्कीलाई आफ्ना बुबा गंगाराम जागिरको सिलसिलामा भारतको कलकत्ता गएको थाहा थियो । तर के कारण कलकत्ता छाडेर नेपाल फर्किए भनेर जान्न बुझ्न खोजेनन् । गौरीगन्जमा कमाएर खाने राम्रै खेत थियो ।

धर्म कार्कीका बाबु गंगाराम, उनलाई भारत सरकारले दिएको पत्र र त्यसबेला उनका बारेमा छापिएको समाचार ।

बुबाले चितवन जिल्ला प्रशासनमा चालकको काम गरेर बुझेको तलबले खर्च चलेकै थियो । जब बुबाको मृत्युपछि मात्रै कलकत्ता छाडेर घर फर्किनुको कारण धर्मले चाल पाए, उनी चकित परे ।

भारत सरकारले गंगारामलाई जागिरबाट मात्रै निकालेको रहेनछ, फेरि भारत आउन नपाउने गरी नेपाल फर्काइदिएको रहेछ । उनी कलकत्तामा नेभी अफिसमा चौकीदार थिए । १७/१८ वर्ष काम गरेका गंगारामलाई तलबबाट कट्टा गरेर ‘जीपी फन्ड’मा राखेको रकमसमेत नदिएको विभिन्न कागजातबाट धर्मले थाहा पाए । ६० वर्षअघि सन् १९६२ नोभेम्बर ३ (१८ कात्तिक २०१९) मा भारत सरकारले बुबालाई कारबाही गरेको पत्र पनि उनले फेला पारेका छन् ।

गंगारामलाई भारत निकाला गरेको विषयमा ‘स्वतन्त्र हालखबर’ नामक दैनिक पत्रिकाले पहिलो पृष्ठमै समाचार छापेको थियो । ‘नेपालीमाथि भारत सरकारको कुत्सित व्यवहार, निर्दोष नेपालीलाई भारत छोड्न आदेश’ शीर्षकमा २०१९ पुस १० गते समाचार प्रकाशित भएको थियो । ‘नेपाल समाचार’ ले पनि यो विषयमा पछिल्लो पृष्ठमा समाचार छापेको छ । दुवै पत्रिकाले राष्ट्रिय समाचार समिति (रासस) को स्रोतबाट यो सामग्री लिएका हुन् । राससका महाप्रबन्धक सिद्धराज राईले यो समाचार राससको रेकर्डमा रहेको पुष्टि गरे ।

बुबालाई देशै निकाला गरेकोबारे समाचार मात्रै होइन धर्मले अन्य महत्त्वपूर्ण कागजपत्र पनि जुटाएका छन् । उनको ती सामग्री हात परेको धेरै भएको छैन । गंगारामको २०५१ सालमा निधन भइसकेको छ । ‘टिनको एउटा पुरानो सानो बाक्सा थियो, त्यो आमाको साथमा भएकाले खासै चासो राखिनँ,’ उनले भने, ‘तर दुई वर्षअघि बाक्सा खोलेर हेर्दा त पुराना पत्रिका र कागजपत्रहरू भेटिए । त्यसकै आधारमा मात्रै बाबा किन जागिर छाडेर फर्किनुभएछ भन्ने मैले पत्तो पाएँ ।’ भारत नै छाड्नुपर्ने गरी बुबाले के अपराध गरेका थिए भन्ने जिज्ञासा उनको मनमा उठिरहेको छ । भारत नै गएर बुझ्नै उनले योजना पनि बनाएका थिए तर कोरोना महामारीका कारण जान पाएनन् । गए पनि केके प्रक्रिया पार गर्नुपर्ने हो उनलाई जानकारी छैन ।

गंगारामले त्यसबेलै नेपाल सरकारका विभिन्न निकायमा पत्रचार गरेर भारतमा काम गरेबापत जीपी फन्डमा राखेको पैसासमेत नपाएको हुँदा त्यो दिलाइदिन अनुरोध गरेका रहेछन् । पुरानो बाक्सामा त्यस्ता कागजपत्र पनि उनले सुरक्षित राखेको धर्मले भेट्टाए । ‘भारतले कुनै नेपालीलाई सायदै यसरी देश निकाला गरेको होला,’ उनी भन्छन्, ‘मेरा बाबाले त्यस्तो के भयंकर अपराध गरे, जसका कारण फन्डको पैसा पनि पाएनन् ?’ उनको प्रश्न छ । ‘२०१७ पुस १ को कदमलाई बाबाले समर्थन गर्दा उहाँ कारबाहीमा परेको हुन सक्ने मेरो अहिलेसम्मको खोजखबरले अनुमान गरेको छ,’ धर्मले भने । यत्ति कारणले मात्रै यत्रो ठूलो कारबाही भोग्नुपर्ने वा अन्य के कारण थियो भनेर आफू स्पष्ट हुन चाहेको उनी बताउँछन् । ‘जे जसो भए पनि जीपी फन्डमा राखेको पैसा उपलब्ध नहुनु भनेको घोर अन्याय हो,’ उनले भने ।

धर्मका अनुसार गंगारामले २०१९ पुस १७ गते तत्कालीन परराष्ट्रमन्त्री तुलसी गिरीलाई पत्र लेखेर आफूमाथि भएको घटनाक्रमको जानकारी गराएका छन् । त्यसैगरी, भन्सार तथा अन्तःशुल्क विभागका निर्देशकलाई २०२० भदौ ७ गते पत्र पठाउँदै फन्डको पैसा पाउने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । नेभी अफिसमा ६/७ पटक पत्र पठाउँदा पनि केही जवाफ नआएको गंगारामको कागजातमा उल्लेख छ । ‘त्यो फन्डको पैसा मेरो बाबाले बुझेको देखिँदैन । बुझेको कुरा आमालाई समेत थाहा छैन । त्यसैले खोजखन्तर गर्दै म नेभी अफिस त पुग्छु पुग्छु,’ धर्मले भने ।    kantipurnews

You might also like