काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २०२ रन जोडेको हो ।
यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । यस्तै ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन, भृत्या अरविन्दले २४ रनको योगदान गरे ।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २ विकेट लिँदा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।
नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ । rajdhanidaily