सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिबीच शिष्टाचार भेट
काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको भन्दै दुई देशबीचको सम्बन्ध जनस्तरसम्म पुर्याउनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै, जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरिस सम्झौता स्मरणीय रहने पनि बताए । शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताउँदै सभामखुले भनेका थिए, ‘विश्व शान्तिका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गरौं ।’
भेटघाटमा नेपालका लागि फ्रान्सेली राजदूत, संघीय संसद्का महासचिव भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायतको सहभागिता थियो ।kantipurnews