‘बेवारिसे’ शव जलिरहन्छन्, तर हराएकाको खोजीमा उदासीन प्रहरी

0

अस्पतालको शव गृहमा भेटियो बुवाको ‘बेवारिसे’ शव

धापासीकी सुनिता केसीले माघ १० गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा आफ्ना बुवा हराएको भन्दै खोजबिनका लागि निवेदन दिइन् । माघ ९ गते घरबाट निस्किएका बुवा राती अबेरसम्म पनि घरमा नफर्किएपछि उनले प्रहरीमा खोजतलासका लागि अनुरोध गर्दै निवेदन दिएकी थिइन् ।
तर माघ १० गते खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी भए पनि सुनिताले आफ्नो बुवा भेट्टाउन सकिनन् । फागुनको २२ गते रातीसम्म पनि उनको बुवा ‘मिसिङ’को सूचीमा नै थिए । ​सुनिताले माघ १० गते दिएको जाहेरीमा आफ्ना ६१ वर्षीय बुवा हराएकाले खोजबिनका लागि अनुरोध गरिएको उल्लेख छ । माघ १० गते दिएको निवेदनमा श्यामकृष्ण केसी नाम गरेका ६१ वर्षीय व्यक्ति २०७८ माघ ९ गते बिहान ७ बजेदेखि हराएको उल्लेख गरेकी छिन् । हराएको समयमा श्यामकृष्णले खैरो सुइटर, कालो रङको टाउजर, निलो रङको चप्पल र उनीको टोपी लगाएको उल्लेख गरेकी छिन् । 
माघ १० गते मिसिङको निवेदन दिएपछि सुनिता लगायतका आफन्तहरुले सोही दिन र त्यसपछिका ४÷५ दिन लगातार बुवा श्यामकृष्ण केसीको खोजी गरे । उनीहरूले विभिन्न प्रहरी कार्यालय, विभिन्न अस्पताल, वृद्धआश्रम लगायतका स्थानमा पुगेर खोजी गरे । कुनै अस्पतालमा पो छन् कि भनेर उनीहरूले अधिकांश सरकारी र केही निजी अस्पतालहरूका कोठा कोठा चहारे । सुरु सुरुमा प्रत्येक दिन प्रहरी कार्यालयमा फोन गरेर सोधीखोजी गरिरहे । 
तर प्रहरी कार्यालयबाट जवाफ आउँथ्यो, ‘तपाइँको आफन्तको खोजी भइरहेको छ । फेला पर्नेबित्तिकै हामी तपाईंलाई जानकारी गराउँछौ ।’ बुवा हराएको सुरु सुरुका दिनहरु परिवारका आफन्तले अत्याधिक खोजी गरेको सुनिताले बताइन् । तर कहीँ कतै नभेटिएपछि सँधै खोजीकै लागि हिँड्ने कुरा भएन । त्यसपछि हामीले प्रहरीकै सहयोगलाई बढी प्राथमिकता दिएका थियौँ । यद्यपि हामीले हरेक प्रयत्नबाट खोजीलाई भने निरन्तरता दिइरहेका थियौँ ।’ 
श्यामकृष्णलाई केही वर्ष अगाडि ब्रेन ह्यामरेज भएको थियो । त्यससँगै उनको मानसिक अवस्था पनि कमजोर थियो । उनलाई आफू कहाँ गइरहेको छु, के गरिरहेको छु भन्ने कुराको त्यत्ति हेका हुँदैनथ्यो । मानसिक रोगी उनी पहिले पनि बेलाबेलामा यसैगरी हराउँथे । तर पछिल्लो १० वर्षदेखि उनी घरबाट बाहिर निस्किएका थिएनन् । 
तर गत माघ ९ गते एकाएक हराएपछि उनी घर फर्किएनन् । परिवारले खोजी गर्दा पनि उनलाई भेट्टाउन सकेन । तर सुनिताका एक आफन्त फागुन २३ गते बिहान पाटन अस्पतालको शव गृहमा पुग्दा श्यामकृष्ण त भेटिए, तर मृत अवस्थामा । ललितपुरको भैंसेपाटीबाट माघ १० गते उद्धार गरी ल्याइएका श्यामकृष्णको माघको ११ गते नै मृत्यु भएको रहेछ । जाडोमा कठ्याङ्ग्रिएका उनको अवस्था नाजुक भएपछि ललितपुर प्रहरीले उद्धार गरी पाटन अस्पतालमा ल्याएको रहेछ । माघ ११ गते श्यामकृष्णको मृत्यु भयो । तर परिवारका कुनै सदस्य पनि सम्पर्कमा नआएपछि उनको शवलाई बेवारिसेकै सूचीमा राखियो र दुई तीन दिनमै बेवारिसेको सूचीबाटै जलाउने तयारी भइरहेको थियो ।
श्यामकृष्णका छोरी सुनिताका अनुसार पाटन अस्पतालको शव गृहमा रहेका करिब २ दर्जन ‘बेवारिसे’ शवलाई केही दिनअघि मात्रै जलाइएको थियो । उनका बुवा श्यामकृष्ण केसीको पनि केही दिनमै शव जलाउने तयारी भइरहेको थियो । तर सुनिताका आफन्त फागुन २३ गते बिहान पाटन अस्पतालमा पुगेर फोटो देखाउँदै यी व्यक्ति कहिल्यै यता आउनुभएको देख्नुभएको थियो भनेर सोधेपछि बल्ल उनको मृत्यु भइसकेको र बेवारिस अवस्थामा शव राखिएको पाइयो । सुनिताले भनिन्, ‘हामीले फोटो देखाउँदै जाँदा सोमबार बिहान एक प्रहरीले ती व्यक्तिलाई आफूले उद्धार गरेर ल्याएको तर मृत्यु भइसकेको बताए ।
ती व्यक्तिलाई आफूले उद्धार गरेर उपचारका लागि ल्याएको तर उपचारका क्रममा मृत्यु भएको बताएका थिए । ती प्रहरीको भनाइलाई उद्धृत गर्दै सुनिताले भनिन्, ‘खासमा बुवा जाडोले कठ्याङ्ग्रिएर सिकिस्त हुनुभएको रहेछ । प्रहरीले नाजुक अवस्थामा भेटेपछि प्रहरीले उद्धार गरेको रहेछ । तर माघ ११ गते उपचारकै क्रममा उनको मृत्यु भएको रहेछ । सोमबार उनै प्रहरीलाई भेटेपछि मात्रै हामीले बुवाको मृत्यु भइसकेको थाहा पाएको हो ।’

प्रहरीको लापरबाही खेदजनक

श्यामकृष्णकी छोरी सुनिताले रातोपाटीसँग भनिन्, ‘यो त प्रहरीको अति लापरबाही नै हो । हामीले माघ १० गते नै सबै हुलियासहित फोटो नै राखेर प्रहरीमा खोजबिनका लागि निवेदन दिएका थियौँ । प्रहरीले माघ १० गते नै बुवालाई भेट्टाएको रहेछ । प्रहरी आफैले मुचुल्कासमेत बनाएर राखेको रहेछ । माघ ११ गते बुवाको मृत्यु भएपछि पनि प्रहरीले अलिकति मिहिनेत गरेको भए हामीले तत्कालै थाहा पाउने थियौँ । तर ललितपुर प्रहरीले आफ्नो संयन्त्रमार्फत् तत्कालै सूचना सर्कुलेट गर्नुपर्नेमा त्यसो गरेको रहेनछ । हामीले दिएको हुलिया, त्यही कपडामा प्रहरीले बुवालाई भेटेको थियो । तर यसबारेमा प्रहरीले आफ्नो संयन्त्रमा कुनै जानकारी नदिँदा हाम्रो बुवा बेवारिसे शवका रूपमा जल्दै हुनुहुन्थ्यो । तर हामीले आज भेटेका कारण बेवारिसेकै सूचीबाट जल्नबाट बच्नुभयो । हामी अब शव जिम्मा लिएर दाहसंस्कारको तयारी गर्दछौँ ।’

सुनिताले अगाडि थपिन्, ‘प्रहरीको सूचीमा धेरै मानिसहरू मिसिङमा छन् । कतिपयको मृत्यु भएर अस्पतालहरूको शव गृहमा शव होला, कतिपयको गुमनाम दाहसंस्कार पनि भइसकेको होला । तर प्रहरी संयन्त्रको यसबारेमा खोजबिन र चासो नराख्दा हराएकाहरूको गुमनाम मृत्यु र गुमनाम दाहसंस्कार भइरहेको होला । यो त प्रहरी संयन्त्रको चरम लापरबाही भएन र ।’ratopati

You might also like