बर्दघाट खानेपानीद्वारा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न
बर्दघाट ३ मंसिर : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा सरसफाई सम्बन्धी सामाग्री वितरण एवं स्वस्थ खानेपानी बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम उपहारनगरमा शुक्रवार सम्पन्न भएको छ । खानेपानी सुरक्षा योजना समितिले बर्दघाट नगरपालिका वडा नम्बर ४ भित्रका २१ वटै टोलमा अभियानात्मक रुपले सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । सोही अन्तरगत १० औं टोलको रुपमा उपहारनगर टोलमा कार्यक्रम गरेको हो । कार्यक्रम खानेपानी सुरक्षा योजना टोलीका संयोजक एवं संस्थाका उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता, बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
कार्यक्रममा सानेपानी सुरक्षा योजनाका संयोजक दिपक लम्सालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा सुरक्षा योजना समिति सदस्य बाबुराम घिमिरे र कृष्णहरी पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका ब्यबस्थापक विष्णु कुमार भुसालले संस्थाको विगत देखी बर्तमान सम्मको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उपहारनगर टोलविकास संस्थाका अध्यक्ष श्रृजना आचार्य, सुर्यगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक बहादुर रावल, स्थानीय विष्णुमाया कार्की लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । संस्थाले ट्रली १ थान बेल्चा २ थान,कुचो १० थान, कोदालो २ थान सचेतना होडिङबोर्ड एक थान सहित सरसफाईका सामाग्रीहरु उपहारनगर टोलविकास संस्थालाई प्रदान गरेको थियो । कार्यक्रम खानेपानी सुरक्षा योजना समिति सदस्य रवि पाण्डेको स्वागत मन्तब्य र संस्थाका सचिव धन बहादुर गुरुङको संचालन रहेको थियो ।