गैंडाकोटमा अबरुद्ध राजमार्ग सञ्चालनमा, सहज हुन समय लाग्ने
कावासोती। पूर्वी नवलपरासीको गैंडाकोट २३ स्मृति नजिक गत बिहीबार रातिदेखि अबरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ । लगातार परेको वर्षाले खोल्सामा पानीको सतह बढ्दा बाढीले डाइभर्सन बगाएपछि सडक अबरुद्ध बनेको थियो । सोमबारदेखि पानी पर्न रोकिएपछि उक्त क्षेत्रबाट सवारी गुड्न थालेको ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।
तर, सवारीको लामो लाईन लागेकाले वारपार गराउन निकै गाह्रो भईरहेको उनले बताए । राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ गैंडाकोट र पश्चिमतर्फ झण्डै रजहरसम्म करिब २० किलोमिटर लाइन लागेको थियो । डाइभर्सनबाट एकतर्फी बाटो खुलेकाले जाममा फसेका सवारी वारपार भएर यात्रा सहज हुन भने आज असम्भव जस्तै रहेको छ । खनालका अनुसार अहिले दुवैतर्फ गरेर करीब एक हजार गाडी रोकिएका छन् ।
गत शनिबार नै डाइभर्सन निर्माण गरिएको भए पनी हिलो र दलदलका कारण गाडी वारपार हुन भने सकेका थिएनन् । डाइभर्सन मर्मत गर्दै ४/५ वटा गाडी धकेल्दै पार गराउने गरिएको थियो । सोमबारबाट पानी पर्न छाडेपछि हिलो केही कम भएर अहिले गाडी एकतर्फी रुपमा सहजै वारपार हुन थालेका छन् । तर पाँच दिनदेखी राजमार्ग अवरुद्ध हुँदा लागेको जाम छिचोल्न भने सहज छैन् ।
लेन मिचेर राखेका सवारीले अर्को समस्या निम्ताएको छ । डाइभर्सन मर्मत गरेर एकतर्फी खुलेपछी तछाड मछाड गरि लेन मिचेर हिड्न खोज्नेले गर्दा झनै जाम हुने गरेको छ । डाईभर्सन भएको स्थान कटेपनी अन्य स्थानमा लेन मिचेर राखिएका गाडीले गर्दा जाम कट्न घन्टौं लाग्ने गरेको छ । ट्राफिक सहित प्रहरीलाई यसको व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेको छ ।,,,Globalawaj