कृषकलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ बितरण गर्दै पाल्पाको तिनाउ गाउपालिका
खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने योजना : अध्यक्ष घर्ती मगर
पाल्पा (दोभान) १३ जेठ – तिनाउ गाउँपालिका पालिकाभित्रका कृषकहरुलाई लक्षित गरेर ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ बितरण शुरु गरेको छ । पालिकाको स्विकृत कार्यक्रम अनुसार कृषि विकास शाखा झुम्साले पालिकाभित्रका कृषकहरुलाई उन्नत धानको बीउ बितरण शुरु गरेको हो । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले धान उत्पादन गरी खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने योजना बमोजिम बीउ बितरण कार्यक्रम गरिएको बताउनुभयो ।
गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले धानको बीउ वितरण कार्यक्रमको समन्वय कृषि विकास शाखाले गर्दै आएको जानकारी दिनुभयो ।
कृषि विकास शाखा प्रमुख हेमन्त कुमार शर्माले समुह तथा सहकारीमा आबद्ध भएका कृषकहरुले समुह तथा सहकारीको निर्णय र प्रमाणपत्र सहितका वडाको सिफारिस र ब्यक्तिगत रुपमा यस कार्यक्रमका समाबेश हुन चाहने साना कृषकहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपि समाबेश गरेर आबेदन गर्न सक्ने बताउनुभयो ।
कृषकहरुले आफूले उत्पादन गर्न चाहेको धानको जात र परिमाण सहित निवेदन गर्न सक्ने शर्माको भनाई छ । अधिकाँश चुरे पहाडमा रहेको यस पालिकामा तिनाउ नदीको फराकिलो समथर क्षेत्र र कृषि मैदानहरुमा धान उत्पादन हुने गर्दछ ।