ओलीलाई हटाउन कांग्रेस अघि सरे जसपाले सघाउँछ : उपेन्द्र यादव

0

रूपन्देही — जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाएसम्म प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने भन्दै  उनले यसका लागि संसद्को दोस्रो ठूलो दल कांग्रेस अघि बढे जसपाले समर्थन गर्ने जनाए ।

‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा यादवले भने, ‘त्यसका लागि कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं ।’ उनले ओली नेतृत्वको सरकारमा जसपा कुनै पनि अवस्थामा सहभागी नहुने बताए । ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ । हामी ओली सरकारमा जाँदैनौं,’ उनले भने ।

मुद्दा खारेजी र बन्दी रिहाइबारे सरकारसँग छलफल भएको तर सत्ता साझेदारी हुन नसक्ने यादवले स्पष्ट पारे । जसपाभित्र दुई धार देखिएको चर्चा भइरहेका बेला उनले कुनै पनि बहानामा ओलीसँग सहकार्य हुन नसक्ने दाबी गरे । यादवले मधेस र थरुहट आन्दोलनका दौरान गिरफ्तार गरिएकालाई रिहाइको माग राखिएको बताए ।

प्रधानमन्त्रीले संविधान धारा २८४ विपरीत अध्यादेशमार्फत सवैधानिक परिषद्‌मा नियुक्ति गरेर स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएको उनले आरोप लगाए ।

प्रधानमन्त्रीले संविधान र संसद्‌माथि प्रहार गरेपछि अहिले फेरि संसद्लाई असफल पार्ने प्रयत्न गरेको यादवको भनाइ छ । ‘राष्ट्रिय समस्याको हल गर्नुभएको छैन, राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ,’ उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली भएन, दरिद्र नेपाल र दु:खी नेपाली भयो ।’

Kantipur

You might also like