कालीगण्डकीमा माघी उत्सव
पाल्पा : कोरोना सक्रमणको जोखिम पूर्णरुपमा नहटेपनि भक्तजनहरु कोरोनाको प्रवाह नगरी स्नान तथा पूजा पाठमा जुटेका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा तीन दिने माघे संक्रान्ति धार्मिक मेला लागेको छ ।
परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । रुरु क्षेत्रधाम रिडिमा यस वर्ष कोभिड १९ को कारण रमाइलो मेला नभए पनि धार्मिक मेला भने रोकिएन । रुरु क्षेत्र क्षेत्र धाम रिडिमा भक्तजनहरु बिहानैदेखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनमा लागि जुटेका छन्। कोही माक्स लगाएर स्नान तथा पूजापाठमा पुगेका छन् त कोही माक्सबिनै पूजाआजामा जुटेका छन् ।
माघे संक्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ । स्नान गर्दा वा भगवानको दर्शन गर्दा भीडभाड भएपनि भक्तजनले भने कोभिडको कुनै प्रभाव नगरी रुरु क्षेत्र कालीगण्डकीमा स्नान तथा दर्शन गर्न जुटेका हुन् ।
रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको छ । कालीगण्डकीमा मक्रर सक्रान्ती स्नानको लागि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देहि, कपिलबस्तुबाट भक्तजनहरु रुरु क्षेत्रधाम रिडिमा पुगेका छन् ।
बराह पुराणका अनुसार कालीगण्डकीको तिरमा तपस्या गरेर बसिरहेका महर्षि देवदत्त ऋषिको तपस्या भंग गर्नको लागी स्वर्ग बाट देवराज इन्द्रले अति राम्री अप्सरा प्रम्लोचना पठाई ऋषिको तपस्या भंग गराएको र पछी ऋषि र अप्सराको मिलनपछि एउटी मानवी कन्या जन्म भएको जनविश्वास रहेको छ ।
मानवी कन्याको जन्म भएपछि ऋषि र प्रम्लोचना मृत्यु भएको ती कन्या लाई रुरु मृगले दूध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो पुन उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको भनाइ रहेको छ ।
रुरु क्षेत्रमा भगवान हृषिकेशवको विशेष महत्व रहेको छ । भगवान हृषिकेश लाई साक्षत नारायणको रुपमा आफै उत्पत्ति हुनु भएको विश्वासमा हिन्दुधर्मालम्वीहरुले पुजाआजा गर्दै आएका छन । मणिमुकुन्द सेन प्रथमले रुरु क्षेत्रमा भगवान ऋषिकेशवको मन्दिर स्थापना गरेपछी यस क्षेत्रमा धार्मिक बढ्दै गएको भनाइ छ । कालीगण्डकीमा स्नान गर्दा निधारमा ठोकिएको र सोही दिन राती भगवान प्रकट भएर स्नान गर्दा ठोकिएको म विष्णु भगवान हो , मलाई कालीगण्डकी वासपासमै मन्दिर बनाएर राख र सेवा गर भन्ने आदेश आएपछि मणिमुकुन्द सेन प्रथमले ऋषिकेश मन्दिर निर्माण गरेका थिए ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायतका घरेलु सरसमान बिक्रीका लागि रुरु क्षेत्रमा आएका छन् ।
धार्मिक मेलामा गुल्मीको गुण, पाल्पाको सुन्तला, लगायतका सरसमानहरु बिक्रीका लागि राखिएका छन् । यसैगरी पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि काली नदीमा स्नानको लागि भक्तजन पुगेका छन्।
अन्नपुर्ण पोष्ट