एफएनसीसीआई चुनाव: ५७ प्रतिशत मत खस्याे

0

१३ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ५८ प्रतिशत मत खसेकाे छ । विहान ९ बजेदेखि शुरु भएको मतदानमा १ बजे सम्म ५९ प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार जिल्ला नगरतर्फ ५९ वटा मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १०५ हाे । यसैगरी एशाेसिएटमा ६१२ मत अर्थात ५५ प्रतिशत भन्दा धेरै खसिसकेकाे छ । एशाेसिएटमा ९०५ कुल मत रहेकाे छ । उता वस्तुगत संघमा १०१ मत रहेकाेमा ६१ मत खसिसकेकाे छ । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन् ।

ढकाल एशोसिएट सदस्य भएकाले कार्की व्याङ्केटबाट र प्रधान बस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय टेकुबाट मतदान गर्दैछन् । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह, बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ। महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका थिए । बन्दसत्र पनि भर्चुअल विधिबाटै गरिएको थियो ।गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएको थियो ।

अन्लाईन खबर

You might also like