डराउनु पर्ने बेलामा लापरवाही : के कोरोनालाई यसैगरी पराजित गर्न सकिन्छ ?
२३ कात्तिक, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा पछिल्लो समय सरकारले हात झिकेको हो कि भन्ने अनुभूति सर्वसाधारणले गरिरहेका छन् । अस्पतालमा ‘कोभिड–१९’का संक्रमित बिरामीहरुका लागि तयार पारिएको आइसोलेसन बेड खाली नहुनु, होम आइसोलेसनमा रहेका बिरामीहरुको उपचारकै अभावमा मृत्यु हुनु, लक्षणसहितका गम्भीर बिरामीलाई मात्र उपचारका लागि अस्पताल आउन सरकारले आग्रह गर्नु र पिसिआर परीक्षणको रफ्तार बढाउन नसक्नुजस्ता कारणले कोरोना महामारीलाई अब ‘भगवान् भरोसा’ नै छाडिएको त होइन भन्ने प्रश्न उठ्न थालेको हो ।जनस्वास्थ्यविद् डा.शरद वन्तका अनुसार कोभिड–१९ को समग्र प्रकोपका दुईवटा पाटा छन् । एउटा पाटो संक्रमण विस्तारलाई रोक्ने हो भने अझ जटिल अर्कोे पाटो भनेको संक्रमितहरुको व्यवस्थापन गर्ने कुरा हो । त्यसबाहेक राज्यले पीडितहरुलाई अन्य सपोर्टहरु जस्तो, रोजगारी, भोकमरीलाई मध्यनजर गरेर पनि काम गर्नुपर्ने उनले बताए ।
पीडितहरुलाई रोजगारी, दुई छाक टार्ने समस्याजस्ता कुरालाई एकैछिन छाड्ने हो भने पनि संक्रमण विस्तार रोक्ने तथा संक्रमितको व्यवस्थापन गर्ने यी दुई अत्यन्तै महत्वपूर्ण पाटोलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ । ‘केहीसमय अघिसम्म संक्रमितको संख्या थोरै रहेका कारण संक्रमणको विस्तारलाई रोक्ने प्रयास यथेस्ट हुनसक्थ्यो,’ उनले भने, ‘व्यवस्थापन गर्न जटिल नभएको त्यो बेला पूर्वतयारीका साथ काम गर्न सकेको भए, संक्रमणको विस्तारलाई रोक्न प्रभावकारी पहलकदमी भएको भए यो संक्रमण रोक्न सायद हामीसँग अवसरहरु थिए ।’
तर अब हामीबाट त्यो अवसर फुत्किसकेका कारण चुनौती पनि अझ शक्तिशाली भएको उनले बताए । ‘संक्रमणको विस्तारलाई रोक्ने त्यो चुनौती अझै छ, त्यो सँगसँगै अर्को चरणको जटिल काम अर्थात्, संक्रमितको व्यवस्थापन गर्नुपर्ने दायित्व हामीमा छ,’ उनले भने ।
डा. वन्तका अनुसार संक्रमितको व्यवस्थापन भनेको सामाजिक र प्राविधिक काम हो । त्यसका लागि प्राविधिक क्षमता र संरचना चाहिने उनले बताए । मानव स्रोत र आर्थिक स्रोत पनि आवश्यक पर्ने जिकिर गर्दै उनले भने, ‘यसमा अस्पताल व्यवस्थापन पनि पर्छ । यो सहज काम होइन ।’
हामीसँग ठुलो संख्यामा सक्रिय संक्रमितहरु भइसकेका र त्यसमाथि पनि उपचार नै गर्नुपर्ने, लक्षण नै देखिएका संक्रमितहरुको संख्या पनि ठुलो भएका कारण निकै ठुलो चुनौतीपूर्ण चरणमा रहेको उनले प्रस्ट पारे ।
‘केही नगरी यो सिंगो समस्या समाधान हुँदैन । केही गरिएन भने संक्रमण विस्तार हुँदैजान्छ र संक्रमितहरुको अवस्था अझ पीडादायी हुँदै जान्छ,’ उनले भने ।
अहिलेको अवस्थामा यो संक्रमण रोक्न आमनागरिक परिचालन गर्न जरुरी रहेको उनको भनाइ छ । आमनागरिकको भूमिकाविना सरकारको एकल पहलले यो नियन्त्रण सम्भव नरहेको पनि उनले बताए । ‘हिजो हामीले हाम्रो जनशक्ति सही ढंगले परिचालन गर्न नसकेकै हो,’ उनले भने, ‘अब हरेक नागरिक भनेको पेशागत समूह, व्यवसायी, मिडियाकर्मीलगायत सबैले महत्त्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ । संक्रमण रोक्ने विज्ञान र प्रविधि नभएको हुँदा हामीले गर्न सक्ने भनेको महिनौँदेखि भन्दै आएको डिस्टेन्सिङ कायम गर्ने, चलायमानतालाई सकेसम्म न्युन गर्ने, भिडभाड नगर्ने । यी कुरा भन्दै पनि आएका छौँ ।’
संक्रमितहरुको व्यवस्थापन गर्न पनि दुईवटा पाटो रहेको उनले सुनाए । ‘संक्रमितहरुको व्यवस्थापनमार्फत नै पनि संक्रमण विस्तारलाई रोक्न सकिन्छ । संक्रमण फैलने भनेको त संक्रमितहरुबाटै हो,’ उनले भने, ‘अर्को, संक्रमितहरुको आफ्नै स्वास्थ्यका लागि उसको आफ्नो सुरक्षाका लागि गर्ने व्यवस्थापनको प्राविधिक पाटो हो ।’
यो व्यवस्थापन चरणबद्ध ढंगले गर्नुपर्ने डा. वन्तको सुझाव छ । व्यवस्थित र सुरक्षित होम आइसोलेसनमा सबैले ध्यान दिनुपर्ने र जहाँ होम आइसोलेसनका सम्भावना छैनन्, त्यहाँ कम्युनिटी आइसोलेसन बनाउनुपर्ने उनले बताए । कम्युनिटी आइसोलेसनमा लक्षण नभएकाहरु अथवा न्युनतम लक्षण भएकाहरुलाई व्यवस्थापन गर्न सकिने उनले बताए ।
‘त्योभन्दा माथिल्लो तहमा अस्पतालका शैयाहरु वृद्धि गर्दै तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘यसक्रममा कोभिडकै बिरामीलाई मात्रै उपचार गर्ने अस्पतालको व्यवस्था गर्नुपर्छ । यसरी मिसमास गरेर हुँदैन, यो कुरा सुरुबाटै हामीले भन्दै आएका हौँ ।’
डा. वन्त सरकारी तवरबाट हुुनुपर्ने व्यवस्थापन पक्ष कमजोर भएको दावी गर्छन् । ‘साथै हाम्रो अभ्यास र नागरिकले समेत हाम्रो दायित्व के हो भनेर गम्भीरतापूर्वक नलिँदा आज नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो छ । कन्ट्याक्ट ट्रेसिङदेखि क्वारेन्टिनको व्यवस्थापन हुन सकेन,’ उनले भने, ‘अहिले त कन्ट्याक्ट ट्रेसिङ नै हुन छाड्यो ।’
आइसोलेसन सेन्टरहरु व्यवस्थापन गर्न सकेको भए, हाम्रा कामहरु प्रभावकारी ढंगले गर्न सकेको भए धेरै हदसम्म यसको संक्रमण रोक्न सकिन्थ्यो भन्ने उनको जिकिर छ । ‘चार–चार महिनासम्म लकडाउन नै ग-यौँ,’ उनले भने, ‘यति लामो लकडाउन कुनै देशले गरेनन् । तर लकडाउन लकडाउनमै सीमित भयो । जबकि त्यसबेला गर्नुपर्ने धेरै तयारीका काम गरिएनन् ।’
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम, मास्क लगाउने, सरसफाइमा ध्यान दिनु नै प्रभावकारी उपाय रहेको बताउँछन् । ‘यो संक्रमण समूहमा पुग्नु हुँदैन थियो तर पुगिसक्यो,’ उनले भने, ‘सरकारले त अपिल गरेको ग-यै छ तर त्यो अपिललाई सामान्य ढंगले लिएकाले पनि आज संक्रमण उच्च बन्न पुग्यो ।’
कोरोना महामारी भित्रिएलगत्तै हाम्रो सातोपुत्लो गयो तर अहिले डराउने बेलामा चाहिँ धेरैले लापरवाही गरेका कारण पनि संक्रमण दर बढ्दै गएको उनको बुझाइ छ । संक्रमण समुदायमा गएका कारण अब समुदायले पनि आफ्नो दायित्वलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने सुझाव उनले दिए ।
‘जहाँ लक्षण देखिएको छ, जहाँ शंकास्पद बिरामी छन्, उनीहरुलाई लुकाउने होइन, टेस्ट गर्नुपर्छ,’ उनले भने, ‘सरकारले पनि पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङलाई फलोअप गर्ने भनेको छ, त्यो ढिलै भए पनि ठिकै काम हो ।’
उपचारका क्रममा जो होम आइसोलेसनमा छन्, तिनलाई सरकारका तर्फबाट अपडेटिङ्ग गर्न एउटा टोलमा दुई÷तीनवटा अक्सोमिटरहरु राख्ने, फलोअप गर्ने गरेमा होमआइसोलेसनमा हुने मृत्यु दर कम गर्न सकिने उनको भनाइ छ । अर्कोतिर सरकारले अस्पतालमा आइसोलेसन बेड खाली रहेको भन्दै आएको तर मानिसहरु अस्पतालमा बेड नै नपाइएको भन्ने गुनासो गरिरहेको अवस्थामा कहाँ समन्वय नभएको हो, त्यसको फलोअप गरेर व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
पूर्वमन्त्री अधिकारीले निजी क्षेत्रका अस्पतालमा उपचारका नाममा दिनको दुई लाख रुपैयाँसम्म रकम लिने गरेको जनगुनासो आइरहेकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए । ‘यस्तो अप्ठ्यारो अवस्थामा उपचारका नाममा घाँटी थिच्ने काम भएको छ, त्यसलाई मनिटरिङ्ग गर्नुप-यो,’ उनले भने, ‘उहाँहरुले लिनुपर्ने र लिन पाउने न्युनतम लिनुप¥यो तर उपचारका नाममा जति पनि लिन पाउने कुरा लुट हो ।’
सरकारी स्वास्थ्य संस्थाहरुमा हाइ–फ्लो अक्सिजनको व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए । ‘आइसियु बेडहरु बढाउनुपर्छ, स्वास्थ्यकर्मीहरुकोे सही व्यवस्थापन गर्नुप-यो उनीहरुको तलवभत्ता डबल गर्नुपर्ने हो भने त्यो गरेर भए पनि कन्सल्टेन्टहरुले नै बिरामी हेनुप¥यो । त्यो भयो भने मृत्युको दर घटाउन सकिन्छ,’ उनले भने ।
आलोेचना त जति पनि गर्न सकिन्छ तर जिरो लेबलबाट यहाँसम्म ल्याउन पनि धेरै मेहनत भएको उनले बताए । ‘पहिला हामीसँग परीक्षण नै हुँदैन थियो भने अहिले ५० भन्दा बढी स्थानमा परीक्षण गर्न सक्ने अवस्था छ,’ उनले भने, ‘त्यो कुरालाई पनि हेर्नुपर्छ जबकि नकारात्मक कुराको मात्रै हल्ला फैलाउने काम गर्नुहुँदैन ।’
राताेपाटी