‘भाइरसले भोक नलाग्ने बनाउने भए पो…’
कार्तिक ३, /काठमाडौँ —
घटस्थापनाको दिन । खुलामञ्चस्थित बसपार्क । कोरोना भाइरसको रजगज नभएको भए यहाँ खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो, दसैं मनाउन थातथलो पुग्नेहरूको लावालस्कर हुन्थ्यो । यतिबेला गाडी र मान्छे सरोबरी छन् । दसैंको मुखमा यात्रु नपाएर गाडी चिलबिल भएको यसअघि सायदै देखिएको थियो ।
राजधानीको खुलामञ्चमा वितरित खाना खान बसेका ६५ वर्षीय काइँला तामाङ पत्नी वसन्तीले पिठ्युँमा च्यापेको १३ महिनाको छोरोलाई खुवाउँदै। साथमा ३ वर्षीया छोरी । रिक्सा चलाएर परिवार धानिरहेका काइँलाको परिवार लकडाउनपछि सडकमा आइपुगेको हो । तस्बिर : अनिश रग्मी/कान्तिपुर
यहाँ भोका गाडीको मात्र होइन, भोका मान्छेको पनि भिड छ । सहचालकहरू चिच्चाई–चिच्चाई यात्रु बोलाउने सामर्थ्य राख्छन् तर भोकले रन्थनिएकाहरू निःशुल्क खाना बाँड्नेलाई निरुपाय कुरिरहन्छन् ।
बिहानको ९ बज्यो, घामले सबैलाई रनक्क तताएको छ । वीर अस्पतालपट्टिको गेटबाट बसपार्क छिरेपछि दायाँतिरको पेटीमा दाल–भातको व्यग्र प्रतीक्षामा एक हुल मान्छे छन् । कपडा मैलो छ, निधारमा पसिनाका थोपा छन् । धेरैको हातमा नाम्लो छ, कोही हतारिँदै त्यही हुलमा मिस्सिन आइपुग्छन् । भौतिक दूरीको गुन्जायस छैन । प्रायः सबैको कानमा मास्क उनिएको छ तर मुख राम्रोसँग ढाकिएको छैन । धेरैले मास्कलाई चिउँडो मुन्तिर सारेका छन् । कसैलाई हतारो भएझैं लाग्दैन, मौन छन् प्रायः । त्यही हुलको छेवैमा एउटी महिला पिठ्युँमा बच्चा बोकेर उभिरहेकी छन्, साथमा सानी नानी छिन्, जो घरी यता, घरी उता गरिरहन्छिन् । पिठ्युँको बच्चा नरोए पनि खुट्टा लागेकी छोरीलाई सम्हाल्न हम्मे परिरहेको छ । उनी एकै ठाउँमा राख्न खोज्छिन् तर छोरी माने पो ! आमा–छोरी दुवैका आँखा गेटतिर छन्, कसैलाई कुरिरहेझैं ।
९ बजेर २० मिनेट गयो । निःशुल्क खाना वितरण गरिरहेको ‘हाम्रो सानो प्रयास’ को भ्यान खाना बोकेर गेटभित्र छिर्यो, सबै जर्याकजुरुक उठेर भुइँमा लहरै बसे । ती महिला अझ हतासै देखिइन्, स्वयंसेवकहरूले भने खाना बाँड्न थाले । उनी अझ लाइनमा बसेकी थिइनन्, उनी र उनकी छोरीका आँखा गेटतिरै थिए । अनुहारको छाला चाउरिइसकेको, कपाल–दारी तिलचामल भइसकेको, कद होचो र ज्यान सिखुटे भएको एउटा मान्छे पुरानो रिक्सा चलाउँदै गेटबाट भित्र छिरेपछि दुवैको मुहारमा मुस्कान नाच्यो । नानी दोड्दै रिक्सातिर गइन्, आमाचाहिँले भुइँमा बस्ने ठाउँ खोजिन्, स्वयंसेवक उनी भएतिर गए । रिक्साबाट ओर्लिएको मान्छेको हात समात्दै, लाडिँदै नानी पनि आमा नजिक आइन् । छेवैमा आएपछि नानीतिर फर्केर ती वृद्धले भने, ‘धेरै नसता, आज बोनी भो । बरफ खान पाउँछेस् ।’
प्लास्टिकको प्लेट, त्यसमाथि दाल–भात र तरकारी आइसकेपछि उनीहरूले हात पखालेझैं गरे अनि पारिलो घामलाई साक्षी राख्दै भुइँमै टुक्रुक्क बसेर खाना खान थाले । ती वृद्ध काइँला तामाङ ६५ वर्षका रहेछन् । ती महिला (४५) चाहिँ उनकी पत्नी वसन्ती । चञ्चले नानी उनीहरूकी छोरी, उमेर ३ वर्ष । पिठ्युँमा १३ महिनाको छोरो । यो परिवार खुलामञ्चको खुला आकाशमुनि खान बाध्य भएको चार महिना नाघ्यो । यो त्यही परिवार हो, जसलाई लकडाउनअगाडि खाना र सुत्नको सुर्ता थिएन । रिक्सा चलाएरै काइँलाले परिवार धानिरहेका थिए । बचत हुँदैनथ्यो, त्यो अलग कुरा । लकडाउनपछि उनीहरू एकै पटक सडक आइपुगे । काइँलाकै शब्दमा– ‘सबथोक चौपट भो ।’
काइँलाको परिवारभन्दा थोरै पर्तिर ज्ञानबहादुर श्रेष्ठको परिवार थियो । नाम्लोलाई पिर्का बनाएर उनी पनि अढाइ वर्षकी छोरी र पत्नीसहित ग्वामग्वाम खाँदै थिए । ५१ वर्षीय ज्ञानबहादुरले भारी बोकेरै तीन जनाको परिवारको गर्जो टारिरहेका थिए तर लकडाउनपछि बिचल्ली भयो । उनका अनुसार सुरुमा उनी एक्लै खुलामञ्चमा खान आउँथे, छोरी र पत्नीलाई डेरामै व्यवस्था गर्थे तर धान्नै सकेनन् । त्यसपछि परिवारै सडकमा आएर खान थाले । भात मुछिरहँदा उनले भने, ‘यत्तिका वर्ष काठमाडौंमा बसियो, अरू काम नपाए पनि भारी बोक्न पाइन्थ्यो, यसपालि त त्यही पनि पाइएन ।’ उनलाई सोधें– ‘काठमाडौं छिरेको कति वर्ष भयो ?’ उनले देब्रे हातका पाँचै औंला तीन–तीन पटक भाँचे । अनि छोरीको खाना मुसिदिन थाले ।
रौतहट चन्द्रनिगाहपुरकी हसिनादेवी पनि खाना खाने त्यही लहरमा थिइन् । उनलाई आफ्नोभन्दा दुई वर्षकी छोरीको भोको पेटले पिरोल्छ । त्यसैले उनी सुरुमा छोरीलाई खुवाउँछिन् अनि मात्र आफू । शनिबार खुलामञ्चमा आफू र छोरीले खाना खाइरहँदा उनको मन भने धोबीघाटस्थित डेरामा थियो । त्यहाँ उनकी बहिनी र बहिनीका दुई सन्तान छन् । बहिनीकी तीन वर्षकी छोरीलाई ज्वरो आएपछि उनीहरू खाना खान खुलामञ्च आउन सकेनन् । ‘बच्चीलाई ज्वरो आको छ, डेरामा खाने सामान छैन, बेलुका जाँदा जसरी नि ओखती र खानेकुरा लैजानुपर्छ,’ ४० वर्षकी हसिनाले व्यथा पोखिन्, ‘अरू के गर्न सक्छु र, खाएपछि त्यहाँ बाहिर माग्न बस्छु । नत्र बच्ची मर्छे ।’
संक्रमित र मृतकको संख्या बढिरहे पनि सरकारले लकडाउन र निषेधाज्ञा हटाएको छ । एकाध व्यवसायबाहेक सबै चालु छन् । तर काइँला, ज्ञानबहादुर र हसिनादेवीजस्ता भुइँमान्छेको लकडाउनले बनाइएको घाउमा अझैं मल्हमपट्टी लागेको छैन । सडकको तातो रापलाई झेल्दै पर–परबाट खुलामञ्चमा निःशुल्क खाना खान आउनेहरू खासै नपातलिनुले पनि यही देखाउँछ । ‘हाम्रो सानो प्रयास’ का अभियन्ता पुकार बमले भने, ‘लकडाउन खुल्यो तर उहाँहरूले काम पाउनुभएको छैन, राज्यलाई मतलव छैन, त्यसैले यहीं खान आउनुहुन्छ ।’ उनका अनुसार खुलामञ्चमा आउनेहरूमध्ये अधिकांश ज्यामी, भरिया र रिक्साचालक हुन्छन् । उनीहरू लकडाउनअघि महिनामा २०–२५ हजार रुपैयाँ सहजै कमाउँथे र परिवार पाल्थे ।
*****
काइँलाको कथा दर्दनाक छ । आमाबुबाका चार छोरामध्ये उनी कान्छा हुन् । उनलाई जन्माएपछि आमा अर्कैसँग गइन्, उनलाई हुर्काउने कोही भएन, ‘क’ अक्षर पढ्न पाएनन् । ‘थाहा भएदेखि म अर्काको घरमा गोठालो बसें, साहुले मलाई जग्गा दिन्छु, बिहे गरिदिन्छु भन्थ्यो तर १६ वर्ष बसेपछि त्यो घरै छोडिदिएँ,’ उनले सुनाए, ‘म गोठालो बसेपछि मेरा छोरा–नाति पनि गोठालै बस्नुपर्दोरहेछ । मन मानेन, बाउकै घर फर्किएँ ।’ काभ्रे, खुर्पाचोकमा मरितरी काम गरे खान पुग्ने जग्गा थियो तर उनलाई गाउँमा बसिरहन मन लागेन । २३ वर्षको उमेरमा काठमाडौं छिरे । सीप थिएन, पढाइ थिएन । ‘रिक्सा चलाउँथें, होटलमा खान्थें, रिक्सामै सुत्थें,’ विगतमा फर्किए उनी, ‘३५ वर्ष भइन्जेल यत्तिकै रल्लेर बित्यो । कमाइ त हुन्थ्यो तर जोगाउने बुद्धि थिएन ।’
काइँला र वसन्तीको भेट सडकमै भयो । दरबारमार्गमा उनी रात बिताउँथे, वसन्ती त्यहीँ प्लास्टिक टिप्थिन्, त्यहीँ सुत्थिन् । देखादेख भए पनि बोलचाल थिएन । ‘एक पटक यो खुब बिरामी परी, यसका कोही रहेनछन्, मैले लगेर ओखतीमूलो गरें,’ वसन्तीतिर फर्केर उनले भने, ‘उतिबेला त्यत्तिकै छाडिदिएको भए मरिसक्थी होली, अहिले दुई बच्चाकी आमा भएकी छ ।’ काइँलाले वसन्तीको माइतीतिर कसैको खोजखबर नभएको पनि बताए ।
काइँलाका अनुसार सडकमै बस्दा वसन्तीको दिमागी सन्तुलन बिग्रिसकेको थियो, बिहेपछि उनीहरूले डेरा लिए, सकुन्जेल उपचार गरे तर वसन्तीलाई निको भएन । ‘यसलाई उपचार गराउन गाउँको घर डेढ लाखमा बन्धकी राखेको छु, अहिले अलिक सन्चो भयो,’ काइँलाले लामो श्वास तान्दै भने, ‘खानै छैन, कसरी ऋण तिर्नु ? डेढ लाख त अर्को जुनीमा पनि कमाउन सक्दिनँ जस्तो लाग्छ ।’ वसन्तीलाई महिनैपिच्छे कहिले १ हजार, कहिले १५ सयको औषधि खुवाउनुपर्छ । गाँस कटाएर भए पनि औषधि किन्ने गरेको उनले बताए । वसन्तीसँग कुरा गर्न खोज्दा उनी अन्कनाइनन्, बोलिनन् ।
लकडाउन नभइन्जेल जसोतसो जीवन चलेकै थियो, झोसेंको कोठा भाडा तिर्न र खान पुगेकै थियो । स्रोत त्यही रिक्सा थियो, यो पनि ‘विदेशीले किनिदिएको’ रे । ‘पुरानो भइसक्यो, मेरो जायजेथा भनेकै यही रिक्सा हो, यही बेचे कसरी बाँच्नु, भोकै बस्दा पनि बेच्न सकिनँ,’ उनले पीडा पोखे, ‘लकडाउनको दुई महिनापछि रिक्सा लिएर ठमेल पुगें । ठमेलमा पुलिस र कुकुरबाहेक कोही हुँदैन थिए, कसलाई बोक्नु ? दिनभर सडकमा बस्दा पनि ट्रिप पाइँदैनथ्यो ।’ उनको परिवार त्यही बेलादेखि खुलामञ्चमा खान आउन थालेको हो । असार र साउन त उनीहरूले महांकाल मन्दिरमै पाल टाँगेर रात बिताए । ‘म नभएको बेला केटाहरू यस (वसन्ती) लाई समात्न आएछन्, तर्साएछन्, यो झन् आत्तिन र डराउन थाली । त्यसपछि बरु नखाने तर डेरामै सुत्ने भनेर फर्कियौं,’ काइँला भावुक भए । उनको दुई महिनाको कोठाभाडा खुलामञ्चमै भेटिएका कुनै मनकारीले तिरिदिएका थिए ।
डेराबाट चारै जना सबेरै सँगै निस्कन्छन् । काइँला वीर अस्पतालतिर यात्रु ढुकेर बस्छन्, वसन्ती दुई बच्चा साथमा लिएर महांकाल र रत्नपार्कतिर टहल्छिन् । साढे ९ बजे खाना खान यहीं भेट हुन्छ । ‘कहिलेकाहीं छोरोलाई दूध र पाउरोटी किन्ने पैसासमेत हुन्न,’ काइँलाले भने । छोरीलाई स्कुल पठाउन नसकेको दुखेसो छ उनको ।
काइँला गाउँ नगएकै चार वर्ष भयो । ‘सय पुग्न एक वर्ष बाँकी भएका बुबा छन्, पहिले चिनी–चियापत्ती बोकेर भेट्न जान्थें,’ दबेको स्वरमा उनले भने, ‘अहिले त चिनी किन्ने पैसा छैन । खाली हात कसरी जानु ? लाज लाग्छ ।’ दसैं आइसक्यो । खानै नपाएका बेला नयाँ लुगाफाटाको के कुरा ! दुई–चार पैसा कमाउन पाए दुई–चार पाउ मासु किनेर दसैं मनाउने ध्याउन्नमा छन्, त्यसैले रिक्सालाई हम्मेसा छाड्दैनन् । ‘भरियाले ५० रुपैयाँ पनि कमाउँदा रहेछन्, ट्याक्सी चलाउनेले पनि साहुको भाडै दिन सक्दैन रे, इन्जिनवालाले त कमाउन सकेका छैनन्, यस्तो थोत्रो रिक्सा कस्ले चढ्छ,’ रिक्सामाथि उक्लँदै गर्दा उनले भने, ‘यहाँ सित्तैमा खान नपाएको भए मरिसक्थ्यौं, दसैंमा पनि भोकै नराख्लान् नि !’
*****
ज्ञानबहादुर सबेरै नाम्लो बोकेर सहर निस्कन्छन्, भारी पाइएला कि भनेर ढुकिरहन्छन् तर शनिबार ६ बजेदेखि ९ बजेसम्म बोनीसमेत नभएको गुनासो गर्दै थिए । ‘होटल सबै बन्द छन्, हामीलाई कस्ले तरकारी बोकाउनु ?’ उनले भने, ‘अब दसैं पछाडिचाहिँ भारी पाइन्छ रे !’ तर उनलाई दसैं नै कसरी कटाउने भन्ने चिन्ता छ । उनकी पत्नी सुनिताले हामीतिर फर्केर भनिन्, ‘छोरीलाई एक जोर लुगा किनिदिन पाए खुसी हुन्थी, हाम्लाई त यसैले कटिहाल्छ ।’
लकडाउनअघि सुनिता पनि भारी बोक्थिन्, छोरीलाई स्कुल पठाउन थालेका थिए । डेराभाडा तिर्न ढिला हुँदैनथ्यो । तर लकडाउन भएपछि कोठामा खाना नपकाएकै तीन महिना भयो । ‘मालसामान केही छैन, मट्टीतेल पनि ९० रुप्पे लिटर भइसक्यो,’ निधार खुम्चाउँदै ज्ञानबहादुरले भने ।
*****
हसिनादेवी एकल महिला । उनका अनुसार काखकी नानी जन्मेको केही समयमै उनका श्रीमान् बिते । छोरीअगाडिका दुई सन्तान विदेशीले पढाइदिएका रहेछन् । अहिले धोबीघाटको डेरामा उनी र बहिनीको गरेर तीन बच्चा छन् । ‘अरू काम छैन, बालबच्चा साना छन्, मागेर कोठाभाडा पुर्याइरहेका छौं,’ हसिनादेवीले भनिन्, ‘यहाँ (खुलामञ्चमा) खान आउन थालेको तीन साता भयो, त्यसअगाडि थाहै थिएन । कति दिन भोकै बसियो !’
कोठामै कहिले खान पाइएला ? घरबेटीले निकाले सडकको कुन पेटीमा सुत्ने ? बालबच्चालाई कसरी पढाउने ? खुलामञ्चमा खाना बाँडेनन् भने के खाने ? यस्ता प्रश्नहरू बग्रेल्ती छन् तर जसको उत्तर हसिनादेवी, काइँला र ज्ञानबहादुरहरूसँग छैन । छ त केवल मर्का र वेदनाको भुमरी । दुनियाँ कोरानासँग थरथर कापिरहेको छ । उनीहरूलाई सोधें, ‘भाइरसको डर लाग्दैन ?’ अभावको रापले पिल्सिँदै आएका उनीहरूको जवाफमा भिन्नता थिएन, ‘भाइरसको डरले पेटमा भोक नलाग्ने भए पो… खानै नपाएपछि रोगको के डर !’
ढिलो–चाँडो भ्याक्सिन बन्छ, कोरोना भाइरस निस्तेज हुन्छ तर काइँलाहरूको नियति निर्मूल पार्ने ‘भ्याक्सिन’ न उनीहरू स्वयंले बनाउने छाँट छ, न उनीहरू बाँचेको राज्यले ।
..Kantipur