६ गिलास : मान्छेको इतिहास
लमजुङको बाहुनडाँडामा चहकिलो जून लागिरहेछ । दिनभरि घामले सेकिएका हिमाल–पहाड जूनको शीतल तापेर सायद सुत्ने तयारीमा छन् । मर्स्याङ्दी यहाँसम्म बग्दो नै छ । केही तल टनेलमार्फत टर्वाइनले झ्याँको झारपेछि सहर–गाउँ झिलिमिली हुन्छन् ।
जुनेली रातमा मादलको मधुर स्वर नजिकै गुन्जिरहेछ । साथी भीम घलेले भन्यो, ‘रमाइलो गर्न जाम दोस्त ।’ पानैको चौकाले भइयो भेट बेलै र मौकाले भन्ने गीतजस्तो भो । पल्तिर पिलरवाला नयाँ घरको घरपैँचो रे ∕ पिलरवाला घरको धेरै पुरानो इतिहास छैन, यो नयाँ प्रजाति हो । खर वा ढुंगाले छाएको पिँढीवाला घर हराउँदै छ, घुमाउने घर त इतिहास नै हुन लागिसके ।त्यो जूनमा मिसिएको छ गाँजाको धूवाँ, कोदोको रक्सी र लेकको भेडा । माथि भीरपुस्तुन गाउँमा पहिलोपटक पुग्न पहाड कोतर्दै गरेको भ्याकु अर्थात् डोजरले लाइट बालेरै भए पनि टिक–टिक–टिक गर्दै ढुंगा फोर्दै छ । पहिला ढिकी–जाता कराउँथे अनि आए मिल, आजकल भ्याकुले सबैलाई उछिनेका छन् । भ्याकु यसरी उकालिँदै छ, मानौँ ऊ जून छुन जाँदै छ । चुचुरोमै पुगे पनि छेउको मनास्लु पुग्ने हो वा अन्नपूर्ण, त्योभन्दा माथि उसको क्षमता छैन ।
मर्स्याङ्दी नदीको कथा खोज्न हिँडेका म र नवीन बराल । म कलमले कथा लेख्छु वा कम्प्युटरमा, नवीनचाहिँ क्यामराको लेन्सले । आजकल कलम र लेन्स मिसाएर कम्प्युटरमा हेर्न मिल्ने कथा बनाएपछि मल्टिमेडिया बन्छ । पढ्न, हेर्न, सुन्न सबै पाइने । समाचारमा जमाना यसैको छ । यो समाचारको पिलरवाला घर हो, भर्खरभर्खर आएको, पत्रिका खर र ढुंगाले छाएको घरभन्दा हुन्छ । केही समयपछि पत्रिका घुमाउने घर बन्नेवाला छन् भन्दै छन् ।
७० हजार वर्षअघिदेखि पृथ्वीमा फिँजारिन सुरु भएको मान्छे अर्थात् होमो सेपियन्सको विस्तारित रूप हामी हौँ, अर्को ७० हजार वर्षपछि यो ठाउँ कस्तो होला ? वरिपरिका सेता हिमाल रहिरहलान् ? जून यस्तै होला ? जाबो ७० वर्ष बाँच्ने मानिसले एकबारको जुनीमा अर्बौँ वर्ष पुरानो पृथ्वीलाई कति नै भोग्न पाउँछ र ! गत ५०० वर्षमा विज्ञानको चमत्कारले भ्याकु उकालो लागिरहेछ । हामी बिहान गुडेर साँझ बाहुनडाँडा पुग्ने भएका छौँ । जहाजमा उडेको भए यति नै समयमा बेलायत पुगिन्थ्यो । तर, मानिसको यो चामत्कारिक यात्रा कता जाला ? के थाहा यो चमत्कारले मानव इतिहासको अन्त्य गरेर कुनै बिलकुल फरक कुराको सुरुआत पो गर्छ कि ! हामी पिलरवाला घरमा छिर्छौं । गीत चलिरहेछ :
मेरो हजुर विदेशमा हराउँदा
झल्को आउँछ मिनिबस कराउँदा ।
तारासँगै जून, बिर्स्यो कि मायाले मैले लाको गुन
गिलासमा कोदोको रक्सी आइपुग्छ । घलेको स्वागत रक्सीले, बाहुनको चाहिँ दूधले ! किन बाहुनले रक्सी पारेनन् वा पिउन सकेनन् वा लुकीलुकी पिए ? किन रक्सीले एउटै ठाउँमा बसेका मानिसलाई विभाजन गरिदियो ? कसैले पिउन हुने कसैले नहुने ! पिउने र नपिउनेको जातै फरक !
लेखक टोम स्टान्डेजले मानिसको इतिहास ६ वटा गिलासमा हुन्छ भनेका छन् । आफ्नो किताब ‘अ हिस्ट्री अफ वर्ल्ड इन सिक्स ग्लासेज’ मा उनले बियर, वाइन, ह्विस्की (रम, ब्रान्डीसहित), चिया, कफी र कोकाकोलाबारे लेखेका छन्, जुन अहिले बाहुनडाँडास्थित मेरो झोलामा छ । यसपटक हिमाल र नदीसँगै गिलास पनि पछ्याउँदै छु । हजारौं वर्षअघि बियर बन्यो, अहिले कोकाकोलाको साम्राज्य छ । बियर अर्थात् जाँड पहिलो रक्सी थियो । यो बनाइएको थिएन, वास्तवमा आविष्कार भएको थियो । बियरदेखि कोकसम्मको इतिहास पढ्नु आफ्नै इतिहास बुझ्नु हो ।
मानिसले झन्डै १२ हजार वर्षअघि अन्न उब्जाउन सुरु गर्यो । वर्षैभरि पुर्याउन भण्डारण गर्नुपर्ने भयो । खाल्डोमा पानी नछिर्ने गरी अन्न भण्डारण गरे पनि कतै रसायो वा चुहियो । जब अन्नमा पानी पस्यो तब पहिलो रक्सी अर्थात् बियरको आविष्कार भयो । टोम स्टान्डेज लेख्छन्, ‘चुहिएको पानी जसै अन्नमा पर्यो त्यो उम्रियो । उम्रिएको अन्न गुलियो भयो ।’ त्योबेला मानिसलाई के थाहा– कसरी गुलियो भयो ! तर, अहिले विज्ञानले पत्ता लगायो, वास्तवमा भिजेको अन्नले डाइस्टास नामक इन्जाइम उत्पादन गर्दोरहेछ । यो इन्जाइमले अन्नभित्र रहेको स्टार्चलाई माल्टोस सुगर अर्थात् माल्टमा परिणत गरिदिँदोरहेछ । सबैखाले अन्नले डाइस्टाज इन्जाइम उत्पादन गर्छन् । तर, जौ सबैभन्दा अव्बल छ ।
त्योभन्दा पनि आश्चर्यजनकचाहिँ झोलिलो अन्नलाई केही दिन त्यसै छाडिदिँदा त्यसमा परिवर्तन आयो । त्यो फिँज निस्केको झोल पिउँदा मस्तमगन पो भए हाम्रा पुर्खा । वास्वतमा त्यसरी छाडिदिँदा हावामा भएको ढुसीले झोलमा रहेको चिनीलाई रक्सीमा परिणत गरिदिन्छ । यही झोल अर्थात् बियर पिएर मेसोपोटामिया वा अहिलेको इराकको सेरोफेरोमा मानिस मस्तमगन हुन सुरु गर्यो । जाँडको युग वा मातको युगको सुरुआत गर्ने भूभागमा अहिले रक्सी प्रतिबन्धित छ । त्यसको लामो इतिहास छ । रक्सीमा धर्म मिसियो वा धर्ममा रक्सी ! कुनै भगवान्लाई रक्सी नभई नहुने भो अनि कसैलाई छोए पनि पाप लाग्ने ! गीत चलेकै छ । दोहोरोबाट एकोहोरो भाकामा सर्यो :
हितको माया नौडाँडापारि
रित्तो भयो पुस्तुनको चौतारी
चाँदी रयाले, घरमा दिल छैन तिम्रो मायाले
कृषियुगको सुरुमा जाँड जंगली मानिसलाई सभ्य बनाउन प्रयोग गरिन्थ्यो । मेसोपोटामियामा जाँड पिउनु मान्छे बन्नु हुन्थ्यो । विश्वकै पहिलो साहित्यिक कृति मानिने ‘इपिक अफ गिलगामेस’ मा बियरका बारेमा उल्लेख छ । जंगली मानिस इन्कुडुलाई सभ्य मानिस बनाउन कृषियुगमा प्रवेश गरिसकेकी युवतीले गोठालाहरूको गाउँमा लान्छिन् । गाउँलेहरूले उसका अगाडि खाना राखे, बियर राखे तर इन्कुडुले रोटी खान वा बियर पिउन जानेको थिएन । युवतीले इन्कुडुलाई भनिन् :
खाना खाऊ इन्कुडु वास्तवमा मानिसहरू यसरी बस्छन्
बियर पिऊ इन्कुडु वास्तवमा यो जमिनको चलन हो ।
इन्कुडुले भुँडीभरि खायो, सात जग बियर पियो, फुल्यो अनि गायो खुसीको गीत । पानी शरीरमा खन्यायो, तेलले मालिस गर्यो र आफूलाई मानिस बनायो ।
तपाईं मानिस भइसक्नुभएको छ, कृपया इन्कुडुजस्तो फेरि मानिस बन्ने धेरै प्रयास नगर्नुहोला । एकपछि अर्को गिलास आइरहेछ । कोही त्यहीँ पल्टेर निदाइरहेछन्, कोही थप रक्सीको ऊर्जाले गीत फुराइरहेछन् र नाचिरहेछन् । परापूर्वकालदेखि नै जाँड नियमले पिइन्थ्यो । जति पायो उति दन्काउने होइन । कामदारलाई हिसाब गरेर राशनमा बियर दिइन्थ्यो । मेसोपोटामियाको राशनमा रोटी, बियर, खजुर, प्याज र कहिलेकाहीं मासु र माछा अनि केही तरकारी दिइन्थ्यो । खजुरमा भिटामिन ए, बियरमा भिटामिन बी, प्याजमा भिटामिन सी हुनेरहेछ । अहिले आधुनिक समाजमा एक जनाका लागि ३५०० सयदेखि ४००० क्यालोरी खानु भन्ने कुरालाई दाँजेर हेर्दा मेसोपोटामियाको राशन एकदम सन्तुलित भोजन थियो भन्ने बुझ्न सकिन्छ भन्छन् स्टान्डेज । हाम्रा पुर्खा बाठा थिए क्यार ! जँड्याहा नै भन्ठान्नु भो कि क्या हो ! बाहुनको छोरो देखाएर पिउन्न, लुकाएर पिएको भन्नै भएन, कसो !
साढे चार अर्ब वर्षअघि बनेको भनिएको पृथ्वीमा झन्डै पन्ध्र करोड वर्गकिलोमिटर त जमिन नै छ । पूरै नेपाल टेके पनि बल्ल करिब डेढ लाख वर्गकिलोमिटर पूरा हुन्छ । एक बारको जुनीमा कति नै भूभाग टेक्न सकिएला र ! कसले कति गिलास झ्वाम पारे भन्ने हिसाब म किन गरिराखूँ ! जसले पिलाएको छ, उसैले हिसाब जानोस् । तर, जति पायो उति पिउनु आदिमकालमा पनि राम्रो मानिँदैनथ्यो । बियरपछि मेसोपोटामिया र ग्रीसमा वाइनको दबदबा थियो । पछि रोमनहरूले वाइनको ठूलो व्यापार गरे । ग्रीक कवि युवोलुसको नाटकको कुनै एक भागमा भनिएको छ– असल मानिसका लागि म जम्मा तीन जग वाइन बनाउँछु । पहिलो जग स्वास्थ्यका लागि, दोस्रो प्रेम–आनन्दका लागि र तेस्रो निद्राका लागि । त्यसपछि असल मानिसहरू घर जान्छन् । चौथो मेरा लागि होइन, यो नराम्रो व्यवहारका लागि हो । पाँचौं चिच्याउनका लागि, छैटौं अपमान र रूखोपनाका लागि, सातौं झगडाका लागि, आठौं तोडफोडका लागि, नवौं डिप्रेसनका लागि र दसौं जगचाहिँ पागलपना र अचेतनाका लागि हो । तपाईं कति जगवाला पर्नुभो, आफैँ हिसाब गर्नुस् !
मध्यरातमा छर्लंगै आकाशमा टल्किएको जूनलाई कतिबेला बादलले छोप्यो कुन्नि ! बिहान उठ्दा त झमझम पानी पो परिरहेको छ । डाँडाकाँडामा सेताम्मे हिउँ । यस्तो मौसमलाई जाँडका पारखीले ‘मौसमले च्यालेन्ज गर्यो’ भन्ने गरेका छन् । तपाईं त्यसो भन्नुस् भनेर म कसरी भनूँ ?
घरको पिँढीमा मर्स्याङ्दी मर्किंदै बगेको पहाड अनि कुहिरोले छोपिएका हिमालतिर आँखा लगाएर हातमा उही किताब लिएर बसेको मात्र के थिएँ, बाहुनडाँडैमा घर भएका नवीनकी सानीमा दूध चिया लिएर आइपुगिन् । यो चियाले कुनै बेला साम्राज्य खडा गराएको थियो । रक्सीभन्दा यो कुनै पनि तरिकाले कमजोर थिएन । चिनियाँ भनाइ नै छ– चियाबिना एक दिन बस्नुभन्दा बरु खानाबिना तीन दिन बस्नु ठिक । पृथ्वी हल्लाउने चियाको चुस्की मारेर पाना पल्टाउँछु । १७ औं शताब्दीमा आफ्नो राज्यमा घाम अस्ताउँदैन भन्ने बेलायत चिया व्यापारको केन्द्र बन्यो अनि विश्वको पहिलो महाशक्ति । वाष्प इन्जिनले ल्याएको क्रान्तिलाई उसले भरपूर प्रयोग गर्यो र बढेबढे फ्याक्ट्री खोल्यो । यसलाई जोडेको थियो– चियाले । चिया विश्वबजारमा पुगेको थिएन । युरोपेलीका लागि त यो नयाँ पेयपदार्थ थियो । इस्ट इन्डिया कम्पनीको ठूलो आयस्रोत चियाको व्यापारबाट भयो । त्यसपछि चिया यो पृथ्वीकै इतिहासमा पानीपछाडि सबैभन्दा बढी पिइने पेयपदार्थ बन्यो ।
चियामा चीन बेलायतभन्दा अगाडि थियो तर उसले विश्वव्यापी गराउनै सकेन । इसापूर्व २७०० तिर चीनमा पहिलो चिया सेन नुंगका पालामा बनाइएको बताइन्छ । पूर्वी हिमालयको भारत–चीन सीमानजिकै क्यामेलिया साइनेन्सिस नामक सधैँ हरियो हुने बिरुवा नै चिया हो । बेलायत वास्तवमा आधुनिक विश्वको चायवाला हो । नरेन्द्र मोदीचाहिँ नयाँ चायवाला । चिया स्वास्थ्यकर पेयपदार्थ नै मानिन्थ्यो, पछि विज्ञानले पत्ता लगायो– चियामा फेनोलिक्स अर्थात् टानिक एसिड हुन्छ, जसले टाइफाइड, झाडापखाला गराउने ब्याक्टेरियालाई समेत मार्न सक्छ ।
बिहान हामी उकालो लागेर भीरपुस्तुन पुग्छौं । बाटोमा भ्याकु अझै ढुंगा फोरिरहेकै छ । हायलकायल परेका भ्याकु चालकले भने, ‘एकदम कडा ढुंगा परेछ दिमाग खराब भो ।’ लाखौं वर्ष लागेर बनेको पहाड फोर्न कहाँ सजिलो हुन्छ र ! भीरपुस्तुनमा हामी घले आमाको घर पस्छौं । ‘जाँड छैन केरे बाबु, कफी खान्छौ ?’ घले आमाले सोधिन् । ज्या कफी पो ! भ्याकु पुगेको छैन तर कफी पुगिसकेछ । उही नेसकफीको गिलास आइपुग्यो । यो त ज्याद्रो कफी हो, जुन सन् १९५३ मा इडमन्ड हिलारी र तेन्जिङ नोर्गेसँग सगरमाथा पुग्यो अनि सन् १९६९ मा यो निल आर्मस्ट्रंगसँग चन्द्रमा पनि । इतिहास हेर्ने हो भने कफीले बडेबडे अध्येता, विचारक अनि वैज्ञानिकलाई जन्माएको थियो । यसलाई विचारकको पेय पनि भनिन्छ । तपाईं धेरै विचारक बन्ने प्रयास नगर्नुस् नि फेरि ! क्याफिन धेरै भयो भने रातभरि निद्रा लाग्दैन ।
१६ औं शताब्दीअघिसम्म मानिस ‘पृथ्वी गोलो छ’ भन्नेसम्म पनि विश्वस्त थिएन । अहिले पो गुगल अर्थ आयो । रकेट चन्द्रमामा पुगे । त्यो कति नै अघिको कुरो हो र 1 पश्चिमाहरूले पुराना कथाभन्दा माथि उठेर नयाँ कुरा सोच्न थाले । एकपछि अर्को आविष्कार गरे । संसार चहार्न हिँडे । हरेक पुराना कुरालाई चुनौती दिने चलन सुरु गरे अनि प्रमाण खोज्न लागे । युरोपमा यो चुनौती दिने युगको सुरुआत गर्न कफीको ठूलो भूमिका थियो भनिन्छ । कफीले दिमागलाई तिखो बनाउँछ र विचारमा स्पष्टता ल्याउँछ भन्ने मान्यता अहिले पनि छ ।
१७ औं शताब्दीसम्म पनि बिहानको खाजामा समेत बियर वा वाइन पिउने युरोपेलीहरूमा ठूलो परिवर्तन आयो । कफीले द्रुत गति लियो । रक्सीमा डुबेको पश्चिम युरोपेली देशहरूका लागि कफी बुटी नै बनेर आयो । झ्याप नभईकन बहस गर्न सकिने । दिमागलाइ ऊर्जा दिने । निद्रा भगाउने । कफीले रक्सीको प्रभावलाई घटाइदिन्छ भन्ने भ्रम पनि थियो तर त्यो सत्य थिएन । वास्तवमा यसले रगतबाट रक्सी हराउने दर झन् घटाइदिन्छ भनेर विज्ञानले भन्छ ।
रक्सी पिउन वर्जित अरबका मुसलमानलाई त कफी नलाग्ने वाइन बनेर आयो । आज कफीमा चर्चित मोका वास्तवमा यमनको मोका सहरबाट आएको हो । १६ औं शताब्दीको सुरुमै यो अरबमा सामाजिक पेय भएको थियो । विवाद बढ्दै गएपछि मुसलमान समुदायमा केही समय प्रतिबन्ध लगाइयो तर त्यसलाई जनताले उल्लंघन गरे । अरबका मुसलमान समुदायमा निकै ठूलो बहस सुरु भयो । कफी मादकपदार्थ हो वा होइन भन्नेमा विवाद चल्यो । तर, कफीले आफ्नो लय भने छाडेन । यो झन्–झन् लोकप्रिय हुँदै गयो । अरब १७ औं शताब्दीको अन्तिमसम्म कफीको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता थियो । तर, कफीमा अरबको एकाधिकार त्यसपछि तोडियो जब डचहरूले अहिलेको इन्डोनेसियाको जाभामा कफी खेती सुरु गरे र सीधै नेदरल्यान्ड्स पुर्याउन थाले । अहिले विश्वव्यापी भएको छ ।
जताजता खोला–नदी, उतैउतै टर्वाइन् । मर्स्याङ्दीको शाखा नदी न्यादी शिरतिर पुग्दासम्म पनि टनेल बनिरहेका भेटिन्छन् । धूलो नभए पनि मानिसहरू मास्क लगाएर बसेका । केही चिनियाँ कामदार भर्खर बिदा मनाएर फर्केकाले कोरोना भाइरसको त्रास रहेछ । अजंगका पहाड हेर्दै गर्दा मनमनै भने, ‘अरे यार एक भाइरस् विश्व हल्लाइरहेछ तर मनुवाहरूको घमण्ड कत्रो छ ! १२ हजार वर्षपछि बल्ल हात कसरी धुने भनेर सिकिरहेको मनुवा पृथ्वीमाथि धावा बोल्छ र फुर्तीसाथ भन्छ— पृथ्वीमाथि विजय प्राप्त गर्नु छ !
मर्स्याङ्दीको पुरानो बलौटे माटोमा फैलिएको बेंसीसहरमा दुई हजार घरधुरी नाघिसके । केही मानिस एउटा होटलमा मस्त पिइरहेछन् । दिउँसै भोड्कादेखि ह्विस्कीसम्म । बियरपछि वाइन, त्यसपछि १२ शताब्दीतिर औषधि बनाउने प्रयासमा कडा रक्सी अर्थात् हार्ड ड्रिंक्स बनेको थियो । अहिलेको खोयाबिर्के बनाउने तकनिकी अर्थात् डिस्टिलेसन त्यहाँबाट सुरु भयो । युरोपेलीले ह्विस्की बेचर दाम कमाए अनि राज चलाए । अलि सस्तो रमचाहिँ अमेरिकाले बनायो र तहल्का मच्चायो । रमलाई त अमेरिका बनाउने पेय पदार्थ नै भनिन्छ ।
नदी किनारमा लगेर फोहोर थुपारेका छन् बेंसीसहरेले । त्यसैको छेउमा एक हूल बंगुरपालन । ती रेस्टुराँमा पुग्दा पोर्क बन्छन् । किनारमा फोहोरचुली अनि शिरमा हिलामचुली । मर्स्याङ्दीको कथा एउटै फोटामा कैद गरेपछि हामी दक्षिण हानिन्छौं । कतै सुकेको त कतै ताल परेको मर्स्याङ्दी । फोटो खिच्न पनि नपाइने रे ! कसैले पूरै नदी टनेलमा हालेर बिजुली निकाल्न पाउने, हामीले फोटो पनि खिच्न नपाइने ? पत्रकार साथी चन्द्रकान्तमार्फत सोर्सफोर्स लगाएर मध्य–मर्स्याङ्दी ड्यामको फोटो खिच्यौं । सेनाको लामो सोधपुछ र प्राधिकरणका हाकिमले भन्दिएपछि सो अवसर मिलेको थियो । ‘पहिला बुंगै पौडेको यही नदीमा आज फोटो खिच्न पनि सीडीओको तोक आदेश अनि सेनाको अनुमति चाहिने भो यार !’ चन्द्र जिस्किए । कोरोनाको त्रासले होलीको रङ खुइल्याइदिएकाले मानिसहरू खासै जमेका छैनन् । तर, बाटाबाटामा रक्सी, बियरले आफ्नो ड्युटीचाहिँ राम्रैसँग गरिरहेका छन् । त्यसै जाँडले संसार कहाँ हल्लाएको हो र !
हामी पनि के कम ! मलेखुमा उही मेसोपोटामियाको त नभनौं, युरोपको बियर पिउँदै गर्दा चालक भाइले भने— म त कोक खान्छु ! यो मेरो कथाको अन्तिम गिलास हो । कोकको साम्राज्य अर्थात् चिसो भनेकै कोकाकोला । औद्योगिक क्रान्ति बेलायतबाट सुरु भए पनि यो अमेरिका पुगेपछि वास्तवमा मौलाएको थियो । सन् १९०० तिर बेलायतलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको अमेरिकाको विश्वव्यापीकरणमा कोकाकोलाको निकै ठूलो हात थियो । जसरी बेलायतको साम्राज्य चियाको कपमा देख्न सकिन्छ, त्यसैगरी अमेरिकी साम्राज्य कोकाकोलाको गिलासमा ।
बेलायती वैज्ञानिक जोसेफ प्रिस्लेले १७७२ मा किताब लेखे– ‘पानीमा गर्भ बसाउँदा’ । पानीभित्र कार्बनडाइअक्साइड मिसाएर सोडा–पानी बनाउने तरिका । १९ औं शताब्दीको सुरुमा यल विश्वविद्यालयका प्राध्यापक बेन्जामिन सिलिम्यानको सहयोगमा पहिलोपटक सोडा–पानीको व्यापार अमेरिकामा सुरु भयो भनेर स्टान्डेज लेख्छन् । सोडा–पानीलाई वास्तवमा प्रजातन्त्रसँग दाँजेर अमेरिकीहरू भन्थे— धनीले स्याम्पेन पिउन सक्छ, गरिबले बियर तर दुवैले चाहिँ सोडा पानी पिउँछन् ।’
१८८४ मा अमेरिकी फर्मासिस्ट जोन पेम्बर्टनले दक्षिण अमेरिकामा पाइने कोका अर्थात् कोकिन बन्ने बिरुवा र पश्चिम अफ्रिकाको कोला नामक बिरुवाबाट निकालिएका पदार्थ मिसाएर कोकाकोलाको फर्मुला बनाएका थिए । पछि एसा क्यान्डलरले पेम्बर्टन मरेपछि १८८८ मा कोकाकोला आफ्नो जिम्मामा लिए, जम्मा २३ सय डलरमा । कोक भुसको आगोजसरी संसारमा फैलियो । मलेखुनजिकै त्रिशूली नदी किनारमा त्यो कोकको बोतल यसरी ठडिएको छ, मानौँ ऊ सगरमाथा टेकेर भर्खर झरेको हो र नदी किनारमा डुब्दो घामतिर फर्केर थकाइ मारिरहेछ । जसै अमेरिकाले पुँजीवादको किल्ला विस्तार गर्दै गयो, कोक त्यसको सहयात्रीको रूपमा अगाडि बढ्यो । अनेक प्रयास गर्दा पनि रुस छिर्न नसकेको कोकाकोलाको अझै चम्किला दिनचाहिँ बर्लिनको पर्खाल ढलेपछि आयो । पूर्वी जर्मनहरू पर्खाल फुटाएर जब पश्चिम पसे, उनीहरूलाई कोकाकोलाले स्वागत गरियो । विश्वका कतिपय देशमा अमेरिकाको विरोध गर्दा कोकका बोतलहरू सडकमा खन्याउने गरिन्छ । कोक अमेरिकी पुँजीवादको एउटा सिम्बोल बनेर उभिएको छ ।
‘थानकोट पुग्नू धूवाँ चाख्नू ! पहिला गु गनाए गाउँ आयो भनी बुझ्नू’ भन्थे, अहिले एक सर्को धूलो पिएपछि सहर पुगियो भन्ने बुझ्नुपर्छ । धूवाँ फोक्सो हल्लाइरहेछ तर भीमले छुट्टिने बेला गाएको गीतले चाहिँ मन–मुटु हल्लाइरहेछ :
हिउँद लाग्यो हिमालको शिरबाट
बर्खा लाग्यो खोलीको तीरबाट
हेर्दा राम्रो हिमालको हिउँजस्तो
यो मुटुको टुक्रा नै दिऊँजस्तो
Kantipur