जो खानासँगै पस्किन्छन् कला

0

आश्विन ११, २०७७/

काठमाडौँ — कक्षा १० को अन्तिम दिन । विद्यालयमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । सुमन विश्वकर्माले गीत गाउनुका साथै नृत्य पनि प्रस्तुत गरे । थुप्रै विधामा पुरस्कार हात पारे । तत्कालीन सांसद घनश्याम खतिवडा कार्यक्रमका प्रमुख अतिथि थिए ।

सुमनको प्रतिभा देखेर उनले कार्यक्रम सकिएपछि सोधे, ‘आरोहण गुरुकुलको नाटक कार्यशालामा जान्छौ त ?’ सुमनले स्वीकृति जनाए । एसएलसी सिध्याएपछि आफ्नो छोरा रंगकर्मी प्रवीण खतिवडालाई भेट्नू भन्दै उनले फोन नम्बर दिए ।

‘मलाई त अरू के चाहियो ? नाच्न, गाउन अनि अभिनय गर्न पाइन्छ भनेर फुरुंग परेँ,’ सुमन सम्झन्छन्, ‘कहिले एसएलसी दिउँला अनि काठमाडौँ जान पाउँला भनेर सपना बुन्दै बस्न थालेँ ।’

बुबा खाडी मुलुकमा काम गरेर फर्किएका थिए । उनी छोरोलाई पनि विदेश नै पठाउन चाहन्थे । तर सुमनमा कलाकारिताको नशा बसिसकेको थियो ।

एसएलसी दिएपछि आमाबुबालाई ‘कन्भिन्स’ गरेर उनले मोरङबाट काठमाडौँको यात्रा तय गरे । २०६६ मा काठमाडौँ आएपछि उनको फराकिलो संसार सुरु भयो । पुरानो बानेश्वरस्थित आरोहण गुरुकुलमा नेपालका विभिन्न ठाउँबाट आएका साथीहरूसँगै कार्यशालामा सहभागी भए ।अभिनय कक्षामा सहभागी हुँदा पनि उनको ध्यान चित्र कोर्नमै जान्थ्यो । एक दिन अग्रज रंगकर्मी सुनील पोखरेलले प्रशिक्षण दिँदै थिए । त्यही बेला सुमनले उनको स्केच तयार पारेछन् । कक्षा सकिएपछि उनलाई देखाए ।

‘सरले स्याबासी पनि दिनुभयो र क्लासभन्दा अन्त ध्यान दिएको भनेर गाली पनि गर्नुभयो,’ सुमनले हाँस्दै सुनाए ।

उनी एकमहिने कार्यशालामा छनोट भए । त्यसपछि विराटनगरकै गुरुकुलमा पठाइयो । एसएलसीको रिजल्ट आइसकेको थियो । अब कुन विषय पढ्ने, मेसो पाउन सकिरहेका थिएनन् । त्यति बेला होटल म्यानेजमेन्ट पढ्ने लहर नै चलेको थियो । साथीहरूले हौस्याए । लहलहैमा यही विषय रोजेका उनी अहिले होटल लाइनमै आइपुगेका छन् ।

कुलमान घिसिङ

सुमन गुरुकुलकै होस्टलमा बसेर पढ्न थाले तर पढाइमा ध्यान लगाउन सकेनन् । ‘त्यति बेला नाटकमा त्यति भविष्य छैन कि जस्तो लाग्यो । अहिलेजस्तो सहज पनि थिएन स्कोपका हिसाबले,’ उनले भने, ‘अन्त्यमा पढाइ नै रोजेँ ।’ एक वर्षपछि उनले रंगकर्म छोडे ।

प्लसटु सिध्याएपछि सुमनले दुई वर्ष यत्तिकै बिताए । त्यसपछि स्नातक पढ्न काठमाडौं छिरे । इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टमा ब्याचलर इन होटल म्यानेजमेन्ट विषय लिएर पढ्न थाले । ‘होटल म्यानेजमेन्टमा पनि क्रिएटिभ डिपार्टमेन्ट कुन हो, त्यसैमा छिर्छु भनेर सोच बनाएँ, किनकि कला भन्ने चिज मबाट छुट्न सक्दैन, कसरी खानाहरूसँग प्ले गर्न सकिएला भनेर सोच्थेँ,’ उनी भन्छन् ।

अनुराधा कोइराला

स्नातक सिद्धिएपछि सुमनले इन्टर्नसिपका लागि दुबई जाने मौका पाए । नयाँ कुरा सिक्न पाइने ठूलो उत्साह थियो । तर हाउसकिपिङमा गएका उनलाई किचनमा छिर्नै दिइएन । ‘म त किचेनमा काम गर्न पाइन्छ भनेर गएको तर ट्वाइलेट र बेड सफा गर्ने काम गर्नुपर्‍यो । हुन त हाम्रै विषयमा परे पनि मेरो रुचि किचेन डिपार्टमेन्टमा थियो,’ उनले सुनाए, ‘म त्यहाँ रमाउन सकिनँ र पैसा तिरेर फर्कें । किनकि इन्टर्नसिप पूरा भएको थिएन ।’ उनी दुबईमा ८० दिनको बसाइपछि काठमाडौँ फर्किए ।

फलफूलमा कला

दुबईबाट फर्किएपछि सुमनले होटल र्‍याडिसनमा ६ महिना ट्रेनीका रूपमा काम गर्ने अवसर पाए । त्यहाँ विभिन्न सेफहरूसँग घुलमिल हुँदा उनलाई उनीहरूजस्तै बन्ने इच्छा जाग्यो । क्रिसमसको समय थियो, सुमनले खरबुजामा सान्टाक्लजको अनुहार, जिसस क्राइस्ट र केही फूलहरूको आकृति बनाए ।

‘त्यो नै मेरो जीवनको पहिलो फ्रुट कार्भिङ हो,’ उनले हौसिँदै सुनाए, ‘सबैले मेरो कलाको प्रशंसा गरेँ । धेरैले फलफूलमा फूलहरू बनाएका थिए तर मानिसको अनुहार बनाएका थिएनन् ।’

फलफूलमा कसरी आकृति दिन सकिएला भनी स्वाध्ययन गर्ने बानी र अभ्यासले त्यो सम्भव भएको उनी बताउँछन् । मोरङका २८ वर्षीय सुमनले ललितकलाको औपचारिक शिक्षा लिएका होइनन् । मामाले चित्रकलामा रुचि जगाइदिएको बताउँछन् । पहिले उनी विभिन्न पोस्टर, ब्यानर, फ्लेक्सहरूमा लेख्ने र चित्र बनाउने गर्थे ।

सुमन दुई वर्षयता झम्सीखेलस्थित भिभान्त होटलमा काम गर्दै छन् । एक महिनाको नाइट ड्युटीमा उनी रातभर किचेनमा अभ्यास गरिरहन्थे । बिस्तारै हात पनि बस्दै गयो । उनी सुरुमा किचेनमै उपलब्ध चक्कु प्रयोग गरेर आकृति बनाउँथे । फ्रुट कार्भिङ गरेर आकृति बनाउन अलि विशेषखाले चक्कु चाहिन्छ । सुमनको कला देखेर प्रभावित भएका वरिष्ठ सेफ खिम बरालले उनलाई आफूले प्रयोग गर्ने ‘फ्रुट कार्भिङ टुल्सहरू’ दिए ।

डा. गाेविन्द केसी

उनी आफूले काम गर्ने होटलमा तरकारी तथा फलफूल लिएर आउने मान्छेलाई पहिले नै छानेर फलफूल ल्याइदिन भन्छन् । फर्सी, स्विट लेमन, मेवा, खरबुजा, गाजर, मुला आदिमा आकृति कुँद्न सक्छन् । फूललगायत साना आकृति कुँद्न खासै समय नलाग्ने तर मान्छेको पोट्रेट बनाउन बनाउन ३ देखि ४ घण्टासम्म लाग्ने सुमनको अनुभव छ । उनका अनुसार आकृति कुँदिने फलफूल अण्डाकारको हुनुपर्छ । यो पाकेको र ताजा पनि हुन जरुरी छ । यसरी बनाइएका आकृति कम्तीमा एक साता टिक्छन् । खरबुजा नरम हुने भएकाले यसमा बनाउन अलि सजिलो हुन्छ । फर्सीमा आकृति दिन गाह्रो हुन्छ तर अरूमा भन्दा राम्रो बन्छ ।

बिदाको दिन शनिबार उनले १९औँ सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको मुखाकृति बनाएका छन् । भन्छन्, ‘जनताका लागि लडिरहेका व्यक्तिको समर्थनमा बनाएको हुँ ।’ उनले कुलमान घिसिङ, अनुराधा कोइरालाको मुखाकृति, गणेश देउता, सान्टाक्लजको चित्र र भिजिट नेपाल २०२० को लोगोसमेत फलफूलमा कुँदेका छन् । उनलाई सबैभन्दा मन परेको भने अनुराधा कोइरालाको मुखाकृति हो । फर्सीमा कुँदेर बनाइएको उक्त आकृतिमा अनुराधा बोल्नै लागेझेँ मुस्कुराइरहेकी देखिन्छिन् । सुमनको यी सीप विभिन्न बिहे पार्टी तथा विशेष समारोहहरूमा ‘डिस्प्ले’का रूपमा देखिन पाइन्छ ।

भिजिट नेपाल २०२०

‘फ्रुट कार्भिङ’ भनेको फलफूललाई सिँगार्ने कला हो जुन युरोपेली र अन्य एसियाली मुलुकमा प्रचलित छ । विदेशतिर क्युलिनिरी टेक्निकका रूपमा लिइने यो विषय पढाइ हुन्छ । यसरी पढेका सेफहरूको स्कोप पनि राम्रो छ । प्रोफेसनल सेफहरूले खानालाई थप आकर्षक देखाउन ‘फ्रुट कार्भिङ’को प्रयोग गर्छन् ।

हाउस अफ राजकर्णिकारले आयोजना गरेको ‘मास्टर सेफ च्यालेन्ज नेपाल २०१९’ का विजेतासमेत हुन्, सुमन । खाना बनाउनसमेत पोख्त उनी अहिले खानेकुरामामार्फत आफ्नो कला पस्किन पाएकोमा खुसी मान्छन् । ‘फ्रुट कार्भिङ’ गर्ने सेफ नेपालमा एकदमै कम छन् । यसलाई एकेडेमिक रूपमा लैजाँदा यसका जनशक्ति थपिने र स्कोप पनि बढ्ने उनको बुझाइ छ । सुमनलाई आफ्नो सीप अरू सेफहरूलाई पनि सिकाउन मन छ । अनि उनलाई विश्व–बजारमा नेपाली खाना चिनाउन मन छ । ‘विदेश जाँदा खानाको मेन्युमा चाइनिज, कन्टिनेन्टल, इन्डियन खाना हुन्छन् तर नेपाली खाना हुँदैन,’ सुमन भन्छन्, ‘ठूला सेफहरूको ग्रुपिजमका कारण विश्वमा नेपाली खाना नचिनिएको हो ।’

You might also like