सहकारीमा प्रबिधिको प्रयोग
डिक बहादुर पाण्डे
नेपालमा सहकारी अभियान चितवन‘कोबखान सहकारीसंस्थाआरम्भ भएको थियो । बि.स. २०१६ सालमा सहकारी संस्था ऐन, २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्रको स्थापना, २०३३ सालमा सरकारको ‘साझा कार्यक्रम हुँदै २०३५ सालमा ‘साझा संस्था प्रशासन तथा आर्थिक नियमजारी गरियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै साझा केन्द्रीय कार्यालयलाई २०४८ सालमा ‘राष्ट्रिय सहकारी विकास बोर्डमा परिणत गरियो । यसपछि २०४७ सालको संविधानलाई टेकेर सहकारी ऐन र सहकारी नियमावली बन्यो र देशैभर सहकारी संस्थाहरूको स्थापना हुने क्रम बढ्यो । ०६२÷६३ पछिको लोकतान्त्रिक व्यवस्थापछि झनै सहकारी क्षेत्र देशको ग्रामीण क्षेत्रसम्म फैलियो । नेपालमा सहकारीको संख्या करीब ३४ हजार पुगेको छ भने सहकारीका क्षेत्रमा हालसम्म साढे ६४ अर्ब लगानी र बचत सङ्कलन दुई खर्बभन्दा बढी रहेको छ । नेपाल सरकारले देशको तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा अबलम्बन गरिसकेको अवस्थामा यसका कार्य प्रणाली र पद्धतिलाई छिटो, छरितो र बिस्वसनिय बनाउन विभिन्न किसिमका प्रविधिको प्रयोग आजको डिजिटल सोसाइटीमा अतिआवश्यक भयको छ ।
अहिलेको अवस्थामा सहकारी संस्थालेनीति, बिधि र प्रविधिको उच्चतम प्रयोग गरि स्मार्ट सेबा समुदायमा बढाउदै लागेको देखिन्छ । बचत संकलन, भुक्तानी, ऋण कारोबार जस्ता दैनिक जीवनयापनमा सहकारी अगाडि आउनुमा प्रविधिको महत्वपूर्ण योगदान रहेको छ । अहिले सहकारीका हरेक वित्तीय कारोबार संगै विभिन्न भुक्तानीकार्यहरू मोबाइल फोन वा कम्प्युटरको प्रयोगमा पहुचमा रहेकोछ ।यसरी प्रविधिको प्रयोगसँगै सहकारी क्षेत्रले आफ्ना सदस्यहरूलाई उपलब्ध गराउने सेवाको गुणस्तरमा अभिवृद्धि भई संस्थाको दिगोपनालाई अझ सुदृढ बनाउन सक्नेछ, साथै वित्तीय पारदर्शिता तथा सुशासन कायम भई जनस्तरमै सहकारी संस्थाहरूप्रतिको विश्वास वृद्धि हुनेछ संगसंगै दिगो विकास लक्ष्य प्राप्तिको उधेश्य पुरा हुने देखिन्छ । प्रविधिको प्रयोगले सहकारीको विश्वसनीयता बढाउनुका साथै कारोबारलाई पनि व्यवस्थित बनाउन सहयोग पु¥याएको छ । अब पेपरलेस सहकारी कार्यालयको अबधारणाको विकास हुदैछन् । सहकारीले प्रविधिको भरपुर प्रयोग गरी लेखा पद्धति, अभिलेखीकरण तथा दैनिक कारोबारलाई व्यवस्थित ढंगले लेखांकनगर्न संस्थालाई पूर्ण कम्प्युटराइज्ड गर्न थालिएको छ । पछिल्लो समय यस्ता संस्थाहरूमा वेबसाइट निर्माण गर्ने, स्मार्टएप्स लगायत प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने क्रम चलेको छ । यति मात्रै नभई वित्तिय कारोबारलाई विश्वसनीय तथा व्यवस्थित गर्न विभिन्न किसिमका सहकारी सफ्टवेयरसमेत जडान गर्न थालिएको छ । यस्ता सफ्टवेयरमार्फत् देशैभर छरिएर रहेका सहकारी संस्थाहरूमार्फत् सहकारीकर्मी वा सदस्यहरूलाई बैंकिङ सेवा पु¥याउने र सहकारी संस्थाहरूको क्षमता वृद्धि गर्ने कार्यमा महत्वपूर्ण सहयोग पुगेकोछ । हाल ग्रामीण स्तरमा स्थापना गरिएका सहकारी संस्थाले पनि बचत तथा ऋण कारोबार गर्न सफ्टवेयर प्रविधि अंगाल्न थालेका छन् ।
केही वर्षअघिसम्म ठूला बैंक र फाइनान्स कम्पनीहरूले मात्रै सफ्टवेयर प्रयोग गर्दथे । तर सहकारी संस्थाका कार्य प्रणाली परम्परागत प्रणालीबाटै सम्पादन हुन्थे । तर, सूचना प्रविधिको प्रयोगले वित्तिय संस्था लाभान्वित हुन थालेसँगै सहकारी संस्थामा पनि यसको आवश्यकता बढ्न थाल्यो । फलस्वरुप सहकारी लक्षित दर्जनौं सफ्टवेयरहरू हाल बजारमा उपलब्ध छन् । सहकारी ऐन नियम, लेखा सिद्धान्त र मापदण्डमा आधारित भई यस्ता सफ्टवेयरहरू निर्माण भइरहेका छन् । विशेषतः सहकारी विभागले तोकेका मापदण्डहरू, सरकारी करका व्यवस्थाहरू, अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकारी निकायहरूका मापदण्ड र व्यवस्थाहरूमा आधारित सफ्टवेयर बन्न थालेको छ । सहकारी संस्थाले यी सफ्टवेयरहरूमध्य सजिलै बुझ्न र प्रयोग गर्न सकिने र आफ्नो संस्थाको आवश्यकताअनुसारको सफ्टवेयर खरिद गर्ने गरेको पाइन्छ । अब सहकारीको लेखापरीक्षण र प्रशासनिक कार्यका लागि सफ्टवेयरको प्रयोग अत्यावश्यक भइसकेको छ । यसले कार्यालयमा थोरै कर्मचारीबाटै छिटो सेवा प्रदान गर्ने अवसर प्रदान गरेको छ । यस्ता सहकारी सफ्टवेयरहरूमा व्याजदर र व्याज गणना विधिहरू, हर्जना र चार्जका विषयहरू, करका प्रावधानहरू, कर्मचारीका काम बाँडफाँड र नियन्त्रणका कुराहरू, आर्थिक बर्ष र मिति आदिका सेटिङ र प्रयोग विधिहरू हुन्छन् । मुख्यतः हिसाबकिताबमा हुन सक्ने गल्ती कम गर्न वा गल्ती हुन नदिन यस्तो सफ्टवेयरले निकै सहयोग पु¥याएका छन् । यसर्थ वर्तमान प्रविधिको समयअनुकुल सहकारीलाई रुपान्तरण गर्न गुणस्तरीय सफ्टवेयरको प्रयोग अनिवार्य जस्तै भएको छ ।
सहकारीले गुणस्तरीय सफ्टवेयर चयनमा निकै ध्यान दिनुपर्छ । हाल बजारमा सहकारी संस्थाको व्यवस्थापनका लागि दर्जनौं एकाउन्टिङ र एडमिनिस्ट्रेशन सफ्टवेयरहरू उपलब्ध छन् । कुनै सफ्टवेयरहरू सहकारीहरूका लागि साच्चिकै सहयोगी र भरपर्दो साबित भएका छन् भने कतिपय सहकारीको बोझ र नचाहीने झन्झट पनि भएका छन् । सही र भरपर्दो सफ्टवेयरले मात्रै संस्थाका हिसाब पूर्ण रुपमा सही राख्दछन् ।यसर्थ सहकारीको व्यवस्थापन टिमले न्युनतम सुविधा उपलब्ध भएको र सहकारी सेवामा राम्रोसँग परीक्षण गरिएकोसफ्टवेयर मात्रै खरिद गर्नुपर्छ । यसका लागि सहकारीले सफ्टवेयरको सेवा, सुरक्षा, प्राविधिक मजबुती आदिलाई आधार बनाउनुपर्छ । यसमा एकीकृत गरिएको डाटावेस सिस्टम, सफ्टवेयरले प्रयोग गर्ने सिस्टम फाइलहरू, मेमोरी र स्टोरेजलगायत रिसोर्सहरू र प्रयोग गर्ने तरिकाको राम्रो अध्ययन गर्नुपर्छ ।मुख्यतः सफ्टवेयरले हाम्रा कठिन र धेरै समय लाग्ने कार्यहरूलाइ सजिलो र छरितो बनाउनु पर्छ । सकेसम्म कम मानविय श्रमको प्रयोग गरेर हुनेसम्मको काम कम्प्युटरबाटै गर्न सक्ने खालको सफ्टेयर हुनुपर्छ । छुट्टै खाता राख्नुपर्ने, वेग्लै रसिद काट्नु पर्ने, बेग्लै भौचर उठाउनु पर्ने, क्यालकुलेटरबाट व्याज हर्जाना हिसाब गर्दै पोष्टिङ गर्नुपर्ने खालका सफ्टवेयरहरूले अब सहकारी संस्थालाई सहयोग गर्न सक्दैनन् । त्यस्तै धेरै प्रयोग हुने आवश्यक कुराहरू तुरुन्तै भेट्न सकिने सफ्टवेयर चयनमा ध्यान दिनुपर्छ । हाल बजारमा उपलब्ध सफ्टवेयरहरूका विभिन्न स्थानमा आवश्यक लिंकहरू भएको, मेनुहरूमा शर्टकटहरू भएको वा चित्रसहितका बटनहरू भएको, ट्याब अर्डर सफ्टवेयरहरू उपलब्ध छन्, जसलाई प्रयोगकर्ताले सहजपूर्वक चलाउन सक्छन्।
सफ्टवेयरमा हेरेर म्यानुअल हिसाब सच्याउन मिल्ने सम्मको भरपर्दो हुनु पर्ने मान्यता छ । कम्प्युटरले गल्ति नगरे पनि सफ्टवेयरमा फर्मुलाहरू राम्रोसँग तयार नपारिएका सफ्टवेयरले सही नतिजा नदिन सक्छन्, यसर्थ हरेक कोणबाट परीक्षण गरिएको सफ्टवेयर चयन गर्नुपर्छ भनिएको हो । त्यस्तै सफ्टवेयर खरिदअघि सफ्टवेयरको सुरक्षाको अवस्था, व्याकअपको कस्तो व्यवस्था छ आदि कुराहरूमा पनि विचार पुर्याउनु पर्छ । अहिले अनधिकृत व्यक्तिहरूले चलाउन, विगार्न नसक्ने खालको र भाइरस वा सिस्टमको खरावीले नउड्ने खालको पनि सफ्टवेयरहरू पनि बजारमा छन्, जसमार्फत् अवैधानिक रुपमा पैसा ट्रान्सफर गर्ने र डाटा नष्ट गर्ने सम्भावना हुन्छ । यसर्थ कमसल सफ्टवेयरको खरिदबाट बच्नुपर्छ । त्यस्तै संस्थाले शाखाहरू विस्तार गर्दा अन्तर–शाखा कारोबारको सुविधा थप्न मिल्ने, संस्थाले पसल वा अन्य व्यापारिक प्रयोजन ल्याउदा विलिङ सिस्टम थप्न मिल्ने, बिल भुक्तानी सेवा दिंदा सोको हिसाब राख्न मिल्ने लगायतका सुविधा पनि सफ्टवेयरमा हुनुपर्छ । सानो स्केलको सहकारीमा साधारण सफ्टवेयर नै पर्याप्त हुने भए पनि संस्थाका कार्य र क्षेत्र बढ्ने स्थितिमा थप अपग्रेडेड वा नयाँ सफ्टवेयरको आवश्यकता पर्न सक्छ । यसर्थ सफ्टवेयर छान्दा अहिलेको आवश्यकतालाई मात्रै नहेरी संस्थाका भावी कार्यक्रमको अध्ययन गरेर छान्नु उचित हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको सहकारी सफ्टवेयरको महत्वपूर्ण प्रयोग रिपोर्टहरू बनाउनु पनि हो ।
संस्थामादैनिक कार्य सञ्चालनमा आवश्यक पर्ने सूचनाहरूदेखि संस्थाका सम्भावित खतराहरू टार्ने, जोखिम न्युनीकरण गर्ने लगायतका सूचनाहरू राम्रा सफ्टवेयरका रिपोर्टबाट नै प्राप्त हुने गर्दछन् । त्यसैले सफ्टवेयरबाट मितिका आधारमा, क्षेत्रगत आधारमा, सदस्यगत र समुहगत आधारमा लगायत व्यक्तिगत तथा सामुहिक रिपोर्टहरूको प्रचुरता भएका सफ्टवेयरहरू छान्नु पर्छ । साथै नेपाली सफ्टवेयर कम्पनीले यहाँकै सहकारीहरूको आवश्यकता हेरेर सफ्टवेयर बनाउन थालेका छन् । सफ्टवेयर छान्दा यसअघि अन्य सहकारीमा कस्तो नतिजा दिएको छ भनेर अध्ययन पनि गर्नुपर्छ भने सफ्टवेयर कम्पनीसँग विभिन्न चरणमा छलफल समेत गर्नुपर्छ ।
संसार डिजिटल प्रविधिमा छ । तसर्थ हाम्रा परम्परागत सहकारीको व्यवस्थापन गर्न स्थायी, आवधिक सरकार, स्थायी राज्य संयन्त्र हुनुपर्छ । उदार अर्थनीति, आत्मैदेखि सहकार्य गर्ने इमानदार दक्ष सहकारीकर्मी अनि डिजिटल प्रविधिमा नागरिक पहुँच पु¥याउन सकेमा सहकारी माध्ययमबाटै देशको समृद्धि नजिक छ ।
लेखक : पाण्डे जनकल्याण बचत तथा ऋण सहकारी सस्था लि बर्दघाट ९, नवलपरासीका अध्यक्ष हनुहुन्छ ।