सहिद परिवार सम्मान कार्यक्रम सम्पन्न
बर्दघाट १६ माघः भुताहा खोला शिर सहिद स्मृति अध्ययन केन्द्रको दोस्रो साधारणसभा तथा सहिद बिशेष कार्यक्रम भुताहा १० को शहिदपार्कमा बुधवार सम्पन्न भएको छ । साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहिदले देखाएको बाटोमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै राज्यले सहिदका सपना पुरा गर्न लागि परेको बताउनुभयो । उहाँले सहिदका सपना पुरा गर्न आर्थिक विकास र समृद्धिको बाटोमा आफु लागेको चर्चा गर्दै देशको विकास भए सहिदका सपना स्वतः पुरा हुने बताउनुभयो । बर्दघाट नगरले संचालन गरेका विभिन्न योजनाको जानकारी दिदै उहाँले नगरको विकास गर्न सकिए नगरका सहिद र सहिद परिवार प्रति सम्मान हुने बताउनुभयो । विकास र समृद्धि भए सहिद प्रति श्रद्धासुमन हुन्छ सो अवसरमा बस्यालले भन्नुभयो विकासका लागि एकजुट होऔं । त्यस्तै कार्यक्रममा बर्दघाट नगर कार्यपालिकाका प्रबक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमालले राजनैतिक क्रान्तिको पाटो सकिएको चर्चा गर्दै आर्थिक क्रान्ति र विकासले समृद्धि आउने बताउनुभयो । आर्थिक विकास समितिका संयोजक समेत रहेका हमालले नगरवासीको एकताबाट मात्र नगर विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा सहिद परिवारको तर्फबाट बोल्दै सहिद बिष्णु पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले राज्यले जस्तालाई पनि सहिद घोषणा गरेर सहिद प्रति अपमान गरेको बताउदै राज्य सहिद परिवारको शिक्षा स्वास्थ्य र रोजगार प्रति उदाशीन रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ पत्रकार तथा स्थानीयपत्रका प्रबन्ध निर्देशक रवि पाण्डेय जिल्ला सामुदायिक वन महासंघका अध्यक्ष कमल परिवार टुकप्रसाद बस्याल , लोमा वाग्ले लगायतले बोल्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पुर्णमान श्रेष्ठको अध्यक्षता सचिव कमल पराजुलीको संचालन उपाध्यक्ष झमन आलेको स्वागतका भएको थियो । त्यस्तै साधारणसभाको बन्द सत्रले अध्यक्ष पुर्णमान श्रेष्ठको प्रगति प्रतिबेदन र कोषाध्यक्षको तर्फबाट सन्ध्या पछाईले पेश गर्नुभएको प्रतिबेदन समेत पारित गरेको थियो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १ का मोतीलाल सुनार वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्य ९का चन्द्रकान्त चापागाईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।