तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले दिए चापागाईंका लागि शुभकामना सन्देश
बुटवल । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार माेहन चापागाईंलाई शुभकामना दिदै बाँकी कामलाई पूरा गराउन र सुरु गरिएका कामलाई नयाँ उचाईंमा पुर्याउन आग्रह गरेका छन् ।
आज सामाजिक संजालमा आफ्नो अभिव्यक्ति सार्बजनिक गर्दै उनले घिमिरेले आफ्नो ५ बर्षे कार्यकालकाे समिक्षा गर्दै आफुले अगाडि सारेका कार्यक्रम पुरा गर्न चापागाईंलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।
घिमिरेले सामाजिक सन्जाल फेसबुकमा यस्तो लेखेका छन्
आदरणीय तिलोत्तमाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु !
हार्दिक नमस्कार तथा अभिवादन !!
२०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा तपाईंहरुको अमूल्य मतबाट म तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएको यहाँहरुलाई विदितैं छ । त्यसयता मेरो नेतृत्वको टीमले तिलोत्तमा नगरपालिकाको समग्र विकासमा नयाँ आयाम ल्याएको यहाँहरुले महशुस गर्नुभएकैं छ । नयाँ नगरपालिका भए पनि पाँच वर्षको अवधिमा सहरी विकासका तमाम पूर्वाधार, नीतिगत व्यवस्था, आवधिक र दीर्घकालीन योजना निर्माण, सामाजिक सशक्तिकरण, सचेतना अभिवृद्धिका सन्दर्भमा कयौं महत्वपूर्ण काम भएका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, भौतिक पूर्वाधार, उद्यमशीलता, सहरी सौन्दर्य, सामाजिक उत्थान, खेलकुद, पर्यटन, महिला सशक्तिकरण, बालबालिकाको सर्वोपरी हित, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा समाजमा पछि पारिएका वर्ग, समुदायको उत्थान लगायतका सबै क्षेत्रमा हामीले निकैं सुझबुझ तरिकाले दीर्घकालीन लक्ष्यका साथ काम अघि बढाएको यहाँहरुलाई जानकारी भएकैं विषय हो । यो अवधिमा हामीले चलाएका अभियान, गरेका असल अभ्यास, विकास निर्माणको कामको मूल्यांकनबाट तिलोत्तमा नगरपालिका लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भैसकेको छ ।
यो अवधिमा हामीले चलाएका अभियान, नीतिगत निर्णयको कार्यान्वयनमा नगरबासीले जुन हिसाबले साथ, सहयोग दिनुभयो त्यसले हामीलाई निकैं हौसला मिलेको छ । यहाँहरुको साथ, समर्थनले नैं तिलोत्तमा नगरपालिकाले राष्ट्रिय रुपमा फरक पहिचान बनाउन सफल भएको हो । यसमा यहाँका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघ संस्था, निकाय, विकास साझेदारी, क्लव, आमा समूह, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न पेशाकर्मी लगायत सबै नगरबासीको उत्तिकैं योगदान छ ।
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु !
नेकपा एमालेको नेतृत्वले तिलोत्तमा नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर तिलोत्तमालाई एउटा समृद्ध नगर र यहाँका नगरबासीलाई सुखी बनाउन यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन म सम्पूर्ण नगरबासीलाई आग्रह गर्दछु ।
यो अवधिमा मेरो नेतृत्वको टीमले गरेका असल अभ्यासलाई निरन्तरता दिँदै तिलोत्तमालाई उत्कृष्ट नगर बनाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य छ । समय सीमा, बजेट अभाव, कानुनी जटिलताका कारण हाम्रो टीमले गर्न बाँकी रहेका कतिपय काम नेकपा एमालेको नेतृत्वमा अब आउने नयाँ टीमले गर्दा तिलोत्तमाको विकासले नयाँ उचाईं प्राप्त गर्नेछ । बाँकी कामलाई पूरा गराउन र सुरु गरिएका कामलाई नयाँ उचाईंमा पुर्याउन नगर प्रमुख पदका उम्मेदवार क. मोहन चापागाईं नेतृत्वको टीमलाई सूर्यचिन्हमा अमूल्य मत दिएर विजयी गराउन म सम्पूर्ण नगरबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु । butwalonline