आरसीपी नेपाल नवलपरासीद्वारा शहिद परिवारको खेतमा सामुहिक जनश्रम (फोटो फिचर)

शहिद परिवारको धान रोपाईं

0

नवलपरासी १६ असार – मोहन बैद्य ‘किरण’नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले सामुहिक जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई सम्पन्न गरेको छ । सोमवार पार्टीले बर्दघाट–१० भुताहाचापी स्थित शहिद परिवार खोरबहादुर चौधरीको जिवनसाथी बिद्या चौधरीको पाँच कठ्ठा खेत रोपाई गरेको हो । जनयुद्धकालीन माओवादी कार्यकर्ता चौधरीको तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो ।


पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जिल्ला पार्टीको पाँचौ पुर्ण बैठकले भष्ट्राचार बिरोधी अभियानकै बीचमा शहिद परिवारको धान रोपाई गरेर सामुहिक श्रम गर्ने निर्णय गरे बमोजिम उत्पादनको काममा जोडिएको जानकारी गराए । ‘ कम्युनिष्टहरु श्रमबाट कटेको ब्यापक जनगुनासो छ, सामुहिक श्रममा विश्वास नगर्नेहरु कम्युनिष्ट भई टोपलेका छन् , यस्तो बेला सच्चा क्रान्तिकारीहरुले सामुहिक काममा पहलकदमी लिनुपर्छ’ – पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला सेक्रेटरी रवि पाण्डेयले भने – ‘दलाल पुजींवाद संग राजनैतिक तरिकाले लडदैं सामुहिक श्रमलाई विस्तार गर्नु आवश्यक छ । त्यसैको शुरुवात स्वरुप कार्यक्रम गरेका हौं ।’
युवा नेता पाण्डेयले सामुहिक श्रम र उत्पादनका दिर्घकालिन र अल्पकालिन योजनाहरु बनाउने क्रममा पार्टी रहेको औल्याए । ‘उत्पादनका कामहरुको दिर्घकालीन योजना बनाएका छौ,तत्काल शहिद परिवारको धान रोपाईं सम्पन्न गरेर हाम्रो पार्टी आफ्नो वर्गको पक्षमा छ भन्ने सन्देश दिएका छौं,– उनले भने ।

करिब २२ जना कार्यकर्ताहरुले शहिद परिवारको खेतमा पुगेर बिऊ काड्ने, कोदाली खन्ने र रोपाई गर्ने काम गरेका हुन् ।
खोरबहादुर चौधरीको जिवन साथी बिद्या चौधरीले खोर बहादुरको शहादत्त सम्झेर क्रान्तिकारी कम्युनिष्ट पाटीले आफूहरुलाई श्रमको काममा सहयोग गरेको प्रति निकै गौरव लागेको बताइन् । ‘आज पार्टीले हाम्रो बीचमा आएर हामी तपाईहरुको साथमा छौ भन्ने जुन आशा दिलाएको छ । त्यस प्रति मलाई निकै राम्रो लाग्यो ।’ – चौधरीले भनिन् – ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु पार्टीले ल्याओस् र हामी पनि सहभागी हुने अवसर मिलोस् ।’
नवलपरासीमा ३४ घर जनयु्द्धका शहिद र १ घर बेपत्ता परिवार रहेको शहिद तथा बेपत्ता योद्धा परिवारकी जिल्ला संयोजक उर्मिला थापाले जानकारी दिईन् ।


सो अवसरमा क्रान्तिकारी युवा संघका जिल्ला संयोजक राम प्रसाद अर्गेजा, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रमेश पाण्डेय, क्रान्तिकारी टे«ड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, क्रान्तिकारी दलित मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सोमबहादुर विश्वकर्मा ,थारु मोर्चाका संयोजक मेखनारायण चौधरी, जेष्ठ कम्युनिष्ट तथा अग्रज प्रेम रिमाललगायत बिभिन्न जनवर्गीय तथा मोर्चाका नेता कार्यकर्ता श्रम शिविरमा सहभागी भएका थिए ।
सामुहिक जनश्रम शिविर भन्नाले निश्चित समय र स्थानमा आयोजित त्यस्तो श्रम शिविरलाई जनाइन्छ, जहाँ विभिन्न समुदाय, संगठन वा पार्टीका कार्यकर्ताहरू वा स्थानीय जनता मिलेर समाजको साझा हितका लागि सामूहिक श्रम गर्दछन् । सामुहिक श्रमलाई वर्गसंर्घषको एक प्रकारको स्वरुपको रुपमा लिने गरिएको छ ।  

 

 

 

 

You might also like