महान् जनयुद्धको स्प्रीट समातेको’रक्तक्रान्ति’गजल संग्रह
रक्तक्रान्ति अवलोकन गर्दा
रक्तक्रान्ति अवलोकन गर्दा
–दिल साहनी
अरबी फारसी उर्दु र हिन्दी हुदै नेपाली साहित्यमा प्रबेश गरेको गजलको इतिहास पनि मोतीराम भट्ट जति कै पुरानो छ । बीचमा गजलले बिश्राम लिए पनि गत केही बर्ष यता यसले नेपाली साहित्यमा निकै धेरै ठाउँ ओगट्न सफल भएको छ । गजल गाउने बिधा सित जोडिएको हुनाले यसको क्षेत्र अझ विस्तार हुनु स्वाभाविक हो । मलाई लाग्दछ गजल कविता पनि हो गीत पनि हो । एउटै शब्दमा भन्दा गजल काब्य हो ।
नेपाली साहित्यमा लोकगीतका दोहोरी गीत र झ्याउरे गीत जस्तै गजल पनि पहिलो माया–प्रीति कै गीत थियो । प्रेमकै बिषयबस्तु गजलकै बिषयबस्तु बन्थ्यो तर गजल केवल प्रेमगीत गाउने काब्य होइन । उर्दु र हिन्दीमा पनि क्रान्तिकारी भावना र विचारलाई गजलमा स्थान दिएको पाईन्छ । नेपाली साहित्यमा गजलले माया–प्रीतिकै गीतका रुपमा प्रबेश पाए पनि यतिबेला क्रान्तिकारी धार समातेको पनि देखिन्छ । अझ महान् जनयुद्धका कथा ब्यथा तथा गाथा गाएको चाल पाईन्छ ।
गजलकार रवि ‘विकल्प’ले मलाई अवलोकनार्थ दिएका गजल संग्रह ‘रक्तक्रान्ति’सर्सती हेर्ने मौका पाएँ । गजलले क्रान्तिकारी धार बोकेको पाएँ । महान् जनयुद्धको स्प्रीट समातेको पाएँ । विचार पक्षले युवा गजलकार रवि ‘विकल्प’ले लेखेका गजल निकै प्रशंसनीय छ । कलापक्ष पनि प्रशंसनीय नै छ यद्धपि लयबद्धतामा केही कमजोरी देखिन्छ । तैपनि गजल लेखनीमा हात बसिसकेको स्थिति रहेकोले आउदों दिनमा वैचारिक पक्षले मात्र होइन कलात्मक पक्षले पनि उत्कृष्ट गजल सृजित हुने प्रचुर सम्भावना देखिन्छ । शुरुका गजल यति सफ छन् भने पछि लेखिने गजल अझ सफल हुने कुरामा कुनै सन्देह छैन । ‘हुने विरुवाको चिल्लो पात’ भनेको यही हो । गजलकार रवि ‘विकल्प’को उत्तरोत्तर प्रगतिको लागि शुभकामना ।
बि.स.२०६५/०२/१७
(यो आलेख क्रान्तिकारी कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले बि.स. २०६५मा रवि विकल्प साहित्यिक नाममा सिर्जना गरेको रक्तक्रान्ति प्रगतिशिल गजल संग्रहको भुमिकाबाट साभार गरिएको हो । संग्रहको बि.स.२०६५ साल असार २९ गते बिमोचन गरिएको थियो । –सं)