देशैभर एकैसाथ भष्ट्रचार बिरोधी अभियान उद्घाटन गर्दै आरसीपी नेपाल
भ्रष्टाचारीका विरुद्ध संघर्ष
बुटवल – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर एकैसाथ भष्ट्रचार बिरोधी अभियान उद्घाटन गर्दैछ । केन्द्रको अंगको रुपमा क्षेत्रीय ब्युरो, जिल्ला र स्थानीय तहको संरचना रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ब्युरो र जिल्ला जिल्लामा भष्ट्रचार बिरोधी अभियान एकैसाथ उद्घाटन गर्दैछ ।
सो क्रममा असार ५ गते देशैभर अभियान उद्घाटन गर्ने तयारी रहेको उक्त पार्टीले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालयले भ्रष्टाचार विरोधी अभियान सन्र्दभमा एक अपिल प्रकाशन गर्दै भ्रष्टाचारबिरुद्ध निर्मम ढंगबाट उत्रने जानकारी दिएको छ । उक्त अपिलमा भनिएको छ– ‘हाम्रो देश भ्रष्टाचारबाट आक्रान्त भएको छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन । मन्त्रालय, प्रशासनिक तथा स्थानीय निकायहरू, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ, घुसखोरी ब्याप्त छ । घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउँदैनन् । यसलाई नियन्त्रण गर्ने निकाय देशको सरकार हो । तर स्वयम् सरकार नै भ्रष्टाचारमा संलग्न रहँदै आएको छ ।’
अपिलमा थप भनिएको छ – ‘देशमा विकासको काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु पहिलो सर्त हो । तर स्वयम् सरकार, त्यसमा संलग्न पार्टी तथा हिजो सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला छैन ।’
यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोका अनुसार ब्युरो अन्तरगतका नवलपरासी, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, गुल्मीलगायतमा अभियान उद्घाटन गर्ने तयारी छ । ब्युरो ईन्चार्ज प्रेम सुबेदीको नवलपरासीको परासी, रुपन्देहीको बुटवल, कपिलबस्तुको तौलिहवा , अर्घाखाँचीको सन्धिखर्क र गुल्मीको सत्यवतीमा कार्यक्रम आयोजना गरिएको छ । पाल्पामा भने केही दिन पछि अभियान उद्घाटन गर्ने योजना रहेको सुबेदीको भनाई छ ।