अभियानसंगै संर्घषलाई सफल बनाउन आरसीपी नेपाल नवलपरासीमा कार्यविभाजन
नवलपरासी – मोहन बैद्य किरण क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिति नवलपरासीले पार्टी तथा जनवर्गीय मोर्चा संगठनको नयाँ कार्यविभाजन गरेको जनाएको छ । पार्टी जिल्ला समितिको शुक्रवार सम्पन्न चौथो पुर्ण बैठकले केन्द्रीय योजना अनुसार तय गरिएको जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउन पार्टी तथा जनवर्गीय मोर्चा संगठनको नयाँ कार्यविभाजन गरेको हो ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार चैत्र ४ गते देखि बैशाख १८ गते सम्म पार्टीका स्थायी समिति सदस्यहरुको नेतृत्वमा देशैभर जनसम्बन्ध विस्तार अभियान संचालन गरिदैछ ।
जिल्लास्तरमा अभियानसंगै संर्घष लैजाने पार्टी नीति अनुसार चैत्र ४ देखि चैत्र २५ सम्म पहिलो चरण र चैत्र २६ देखि बैशाख १८ सम्म दोस्रो चरणको जम्मा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियानको कार्यक्रम सहित तालिका बनाइएको पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो डेढ महिना प्रचारात्मक र लगतै डेढ महिनाको संगठन विस्तार अभियान र सेक्रेटरी पाण्डेय सहित श्रमीक र सरोज रहेको तीन सदस्सीय जिल्ला कार्यालय टीम पनि गठन गरेको छ ।
त्यस्तै बैठकले जनवर्गीय मोर्चा संगठनको सदस्यता विस्तारका साथै जिम्मेवारी पनि ठोस गरेको पार्टीले जनाएको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालको जिल्ला संयोजकमा चुडामणी भण्डारी, अखिल नेपाल जनजाति महासंघ जिल्ला संयोजकमा दुर्गा नारायण चौधरी , क्रान्तिकारी किसान महासंघ नेपालको संयोजकमा रामचन्द्र पोखरेल , क्रान्तिकारी युवा संघ नेपालको संयोजकमा रामप्रसाद अर्गेजा , युवा जनस्वयमसेवकमा साकालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
त्यस्तै महिला, बिद्यार्थी र उद्योग ब्यापार संगठनमा उही नेतृत्वलाई यथावत राखिएको छ । जातीय मोर्चाहरु थारु मोर्चाको संयोजकमा मेखनारायण चौधरी, तमु मोर्चामा यम बहादुर गुरुङ, मगर मोर्चाको संयोजकमा गोबिन्द साठीघरे, नेवा मोर्चामा चन्द्रमान मानन्धरलाई संयोजकको जिम्मा दिइएको छ भने एकीकृत दलित मुक्ति मोर्चामा सोमबहादुर विश्वकर्मालाई संयोजक बनाइएको पाण्डेयको भनाई छ ।
त्यसैगरी मधेशी, सहिद परिवार, सुकुम्बासी र शिक्षक संगठन लगायतमा पनि जिम्मा ठोस गरिएको पार्टीले जनाएको छ ।
त्यस्तै बैठकले अखिल(क्रान्तिकारी) जिल्ला संयोजक रमेश पाण्डेय सम्मिलित ३ सदस्सीय स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको लागि वार्ता संवाद टोली समेत बनाएको छ ।
बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा अनुशासन विभाग प्रमुख कृष्ण राज पौडेल , केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले पार्टीको नीति कार्यक्रम बारे प्रशिक्षणात्मक मन्तब्य दिएको पार्टीले जनाएको छ ।