अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला सम्पन्न
बर्दिवास साउन २० – अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण र बैठक सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बर्दिबासमा सो भेला सम्पन्न भएको हो । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचमा एकता भइ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) को एकता भेला र बैठक संगठनको केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक पारस राहादी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त भेलामा प्रमूख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीेय संयोजक मिलन राईले आजको विद्यार्थी आन्दोलनको नेतृत्व अखिल (क्रान्तिकारी)ले गरिरहेको बताउनुभयो । साथै संयोजक राईले मधेश प्रदेशको शिक्षा क्षेत्रका समस्याहरुको मुद्दालाई उठान गर्दै दृढतापूर्वक संघर्ष गर्न निर्देशन समेत दिनुभयो ।
त्यस्तै भेलाका बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेश प्रदेश संयोजक रमेशले क्रान्तिकारी बिद्यार्थीहरुको अभिभावत्व पार्टीले गर्ने बताउनुभयो । हरेक कलेज, हरेक गाउँटोल अखिल –क्रान्तिकारी)मय बनाउनको लागि आजैबाट अभियान थाल्नुपर्ने बताउनुभयो ।
मधेश प्रदेश संयोजक पारस राहादी मगरले मधेश प्रदेश अन्यको तुलनामा साक्षरता दर असाध्यै कम भएको भन्दै स्कुल बाहिर रहेका हरेक बालबालिकालाई स्कुलको पहुँचमा पु¥याउन संगठनले निरन्तर अभियान चलाउने बताउनुभयो । संयोजक राहादी मगरले मधेश प्रदेशमा शिक्षा क्षेत्रमा जटिल समस्याहरु रहेको भन्दै त्यसलाई अन्त्य गर्न विभिन्न संघर्षका कार्यक्रमहरु एवं अभियानहरु सञ्चालन गर्ने बताउनुभयो । साथै उनले यस क्षेत्रको समाज अन्यत्रको तुलनामा बढी संवेदनशील भएकोले सामाजिक तथा राजनीतिक जागरण अपरिहार्य रहेकोले अखिल (क्रान्तिकारी)ले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सो भेलाले पारस राहादी मगरको संयोजकत्वमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ । साथै प्रदेश अन्तरगतका जिल्लाहरुको भेला सम्पन्न गर्नको लागि जिल्ला संयोजकहरुको समेत जिम्मेवारी तोकेको छ ।
भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश सहसंयोजकद्वय नयन र महेश, पार्टीका महोत्तरी सहसंयोजक उपेन्द्र यादव, अखिल (क्रान्तिकारी) प्रदेश ईञ्चार्ज रन्जित शाहलगायतको आतिथ्यता रहेको थियो ।