कुचो लगाउने भन्दै विप्लव समूहकाले फकाएर लगे, ‘बन्दकर्ता’ भन्ठानेर पुलिसले बेस्सरी कुट्यो

0

फेसबुक ट्वीटरमा आज (मंगलबार) बिहान विप्लव समूहका बन्दकर्ताले कुटाई खाइरहेको तस्बिर भाइरल भइरहेको छ । यस पछाडिको वास्तविकत भने त्योभन्दा अलिक भिन्न छ ।

बीपी राजमार्गमा नक्कली प्रेसरकुकर बम राखेर बाटो अवरुद्ध गर्ने प्रयास हुँदै थियो । बनेपाका स्कुल, कलेजहरुबाट विद्यार्थीहरुलाई विप्लव समूहका कार्यकर्ताले सडकमा कुचो लगाउन जाउँ भन्दै बोलाए । चैतन्य क्याम्पस र काभ्रे क्याम्पसमा पढ्ने विद्यार्थीहरुका हातमा कुचो पनि तिनैले थमाए । विप्लवको नेकपा काभ्रेपलान्चोक जिल्ला सेक्रेटेरी दुर्गासिंह तामाङ बन्दको नेतृत्व गर्दै थिए ।

सडकमा टायर जल्न सुरु भइसकेको थियो । सवारी साधनहरुमाथि तोडफोड सुरु भयो । सार्वजनिक बसका सिसा फुटाए । त्यसै बीचमा पुलिस आएर हस्तक्षेप गर्न थाल्यो । काभ्रे प्रहरी प्रमुख चक्रराज जोशी उनीहरु बन्दकर्ता नै भएको बताउँछन् । ‘सडक सफा गर्न त अघिपछि पनि त सकिन्थ्यो, आजै झण्डा लिएर सडकमा आउनुपर्छ त ?’

काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरीलाई नांगेझार पार्दै स्थानीयले चुटे । प्रहरीले पनि तिनलाई चुट्यो । तर बन्दकर्ता भन्ठानेर ती विद्यार्थीलाई पनि मरणासन्न हुनेगरी कुटेको स्थानीय सन्चारकर्मीहरुले अनलाइनखबरलाई बताएका छन् ।

पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाका अनुसार अहिले पनि तीमध्ये विद्यार्थीहरु विप्लव समूहका कार्यकर्तासँग बनेपा प्रहरीमा नियन्त्रणमा राखिएका छन् । ‘नीलडाम बस्नेगरी धेरै चुट्यो पुलिसले, छात्राहरुलाई कुट्न पुरुष पुलिसहरु धेरै आए,’ तिमल्सिनाले भने । स्थानीय पत्रकारहरुका अनुसार उनीहरु विप्लव समूहका कार्यकर्ता होइनन् । उनीहरुलाई झुक्याएर बन्द अवरोधका कार्यक्रममा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । कुटाइ खानेमध्ये प्रमोद गिरी र पल राउत विप्लव समूहकै कार्यकर्ता हुन् । सडकमा देखिएका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि  राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए । त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले उनीहरुबाट छुटाएर राउतलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

एसएसपी जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।  onlinekhabar

You might also like