धनगढीको ‘सड्बाबा ताल’ व्यक्तिको कब्जामा, के गर्दैछ उपमहानगर ?

0
 कैलालीको धनगढी उपमहानगरपालिकाभित्र दर्जनौं प्राकृतिक तालहरु छन्। ती मध्ये केहीमा मात्रै अहिले पानी देख्न सकिन्छ। अधिकांश तालहरुमा व्यक्तिले कब्जा जमाएका छन्।

यसको पछिल्लो उदाहरण हो, सड्बाबा ताल। जुन उपमहानगरपालिकाको वडा नम्बर ७ देवरियामा गाउँमा छ। तर, अहिले त्यो प्राकृतिक ताल, तालको प्रकृतिमा देख्न सकिन्न। सरकारी तथा प्राकृतिक सम्पत्तिमा गिद्देदृष्टि लगाउनेको सिकार सड्बाबा ताल बनेको छ।

उक्त तालको निसान नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण भइरहेका छन्। तर, देवरियाका स्थानीय जंगबहादुर रानाले तालभित्रै उक्त पक्की संरचना कसले निर्माण गर्दै छ भन्ने कुरा जानकारी नभएको बताए। ‘यहाँ ताल नै थियो पहिला। अहिले तालमै पिल्लर गाडिएको छ। वरपरको जग्गा पनि कसले किन्यो, कसले बेच्यो त्यो पनि थाहा छैन हामीलाई’ उनले भने।

देवरिया गाउँमै दशकौंदेखि बसोबास गर्नेहरुका अनुसार सड्बाबा तालको क्षेत्रफल विगतमा ठूलो थियो। तर अहिले अतिक्रमणको चपेटामा परेपछि उक्त तालको क्षेत्रफल मात्रै खुम्चिएको छैन की निसान नै मेटिनेगरी पक्की भौतिक संरचना निर्माण गर्न ५६ वटा पिल्लरसमेत गाडिएको छ। सो ताल वरपरको जग्गामा समेत केही पक्की तथा कच्ची संरचना निर्माण गरिएका छन्। उक्त जग्गा अतिक्रमण गर्ने र आफू अनुकुल विक्रि गरेको पनि भेटिएको छ। सो क्षेत्रमै बसोबास गर्ने स्थानीयले जग्गा खरिद बिक्रि हुने गरेको जनाएका छन्।

धनगढीमा पछिल्लो समय डुबानको समस्या बिकराल बन्दै गएको छ। डुबानको समस्या बढ्नुको एक मुख्य कारण नाला, नदी तथा तालहरु अतिक्रमण हुनु हो। तर सर्वाजनिक ताललाई केही व्यक्तिले कब्जा गरेर पक्की भौतिक संरचना निर्माण गर्दा पनि उपमहानगरपालिका मौन छ। दुई/तीन जनाको समूहले उक्त ताल तथा वरपरको जग्गासमेत अतिक्रमण गरी खुलेआम खरिद बिक्रि गरिरहेका छन्।

खोला नालासँगै ताल तथा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने नीति अपनाएको उपमहानगरले यसमापनि विशेष ध्यान दिन आवश्यक छ। वडा नम्बर ७ का वडाध्यक्ष मोती रानाले उक्त ताल अतिक्रमण विषयमा आफूलाई जानकारी भएको बताए। ‘हामीले अतिक्रमण गरेका खोला नाला, ताल तथा सार्वजनिक जग्गा फिर्ता गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारी सम्पत्ति कुनै व्यक्तिले कब्जा गरेर प्रयोग गर्न पाउँदैन।’

धनगढीको देवरिया गाउँमा रहेको सड्बाबा ताल मात्रै हौइन अन्य अधिकांश तालहरु केही व्यक्तिको कब्जामा छन्। त्यसकारण उपमहानगरले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको सरोकारवाला बताउँछन्।   dinesh khabar

You might also like