प्रधानमन्त्रीको गृहजिल्लामा भाँडभैलो, काँग्रेस–एमाले तितरबितर 

0

  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लाको राजनीति यतिबेला सुदूरपश्चिममा सबैभन्दा विवादित भएको छ। जिल्लाका मुख्य दुई राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेमा थप विवाद भएको नेताहरुले बताउन थालेका छन्। स्थानीय चुनावको मुखमै नेपाली काँग्रेस डडेल्धुरामा स्पष्ट विभाजन आएकोले जिल्लामा काँग्रेसलाई साख जोगाउनै मुस्किल हुने आशंका गर्न थालिएको छ।

तर नेपाली काँग्रेसप्रति जनताको आकर्षण बढेकोले सहजै जित हाँसिल गर्ने नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले बताए। ‘नेपाली काँग्रेस विशाल पार्टी हो। हामी यो पटकको चुनावमा जिल्लाका ७ वटै पालिका र ५२ वडामध्ये अधिकांशमा जित हाँसिल गर्छौ।

नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लले भाँडभैलो गरेको आरोप संस्थापन पक्षले लगाएको छ। पार्टीले मंगलबार मात्रै प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

दुई समूहमा विभक्त भएको डडेल्धुरा काँग्रेसको कर्णबहादुर मल्ल समूहले करुवा चुनाव चिह्न लिएर सात वटै पालिका र सबै वडामा नेकपा एमालेसँग तालमेल गरेर उम्मेदवार उठाएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गरेको अपमान र दिएको पीडाको कारण करुवा चुनाव चिन्ह लिएर विपी काँग्रेसबाट चुनाव लड्नु परेको मल्लले बताएका छन्।

‘नेपाली काँग्रेसलाई जोगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हो,’ उनले भने, ‘तर सभापति देउवाले सच्चा कार्यकर्तालाई गरेको अपमान र दिएको पीडाको कारण हामीले करुवा चुनाव चिह्न लिएर नेकपा एमालेसँग तालमेल गर्ने अवस्था आएको हो।’

लामो समयदेखि डडेल्धुरा काँग्रेसमा चलिरहेको विवाद र संघर्ष चुनावको मुखमा थप छताछुल्ल भएपछि जिल्लाका काँग्रेसीजन भने निरास भएका छन्। कर्णबहादुर मल्ल समूहले नेकपा एमालेसँग तालमेल गरेर अमरगढी नगरपालिकासहित ३ पालिकामा प्रमुख र अन्यमा उपप्रमुख र वडा तहसम्मै  उम्मेदवारी दिएर चुनावमा होमिएकोले नेपाली काँग्रेसलाई असर गर्न सक्ने बताउँछन् पत्रकार डिआर पन्तको अनुमान छ। ‘काँग्रेसको एक समूहले नेकपा एमालेसँग तालमेल गरेको अवस्था छ। यो तालमेलले नेपाली काँग्रेसलाई चुनाव जित्न असहज हुन सक्छ’ उनले भने।

उता  नेपाली काँग्रेस (विपी)सँग तालमेल गरेको भन्दै नेकपा एमालेभित्रसमेत मतभेद सिर्जना भएको छ। जिल्ला सदरमुकाममै रहेको पालिकासमेत काँग्रेस (विपी)को भागमा लगाएपछि अमरगढीका नगरप्रमुख विपिन ओझाको समूह असन्तुष्ट बनेको छ। उनले एमालेले नेपाली काँग्रेस (विपी)सँग नेता कार्यकर्तासँग सल्लाह नै नगरी तालमेल गरेको बताएका छन्।

‘सबै पार्टीमा सामन्तवादी प्रवृत्ति देखियो, पार्टीका कार्यकर्तासँग सल्लाह नै नगरी नेकपा एमालेको नेतृत्वले तालमेल गरेको छ,’ उनले भने, ‘यसरी पार्टीमा जे मन लाग्यो त्यो निर्णय लाद्ने काम भएकोले कार्यकर्ता निरास भएका छन्।’  dineshkhabar

You might also like