पर्यटकको रोजाइमा वीरेझर्ना परेपछि स्थानीय हर्षित

0

 

बाजुरा, वैशाख ३ गते । बाजुराको सदरमुकाम मार्तडी नजिकमा रहेको वीरे खोला झर्नाको अवलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रसँगै वीरेझर्ना समेत सुनसान बनेको थियो ।

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै यहाँ आउनेको भीड लाग्न थालेपछि स्थानीयबासी समेत हर्षित बन्न थालेका छन् । बडिमालिका नगरपालिका– ६ र ८ को बीचमा करिव दुई सय मिटर लामो रहेको यो झर्नाले पछिल्लो समय यहाँका आन्तरिक पर्यटकहरुको मन नै लोभ्याउदै आएपछि अहिले त्यो झर्ना उनीहरुको रोजाइको रुपमा रहेको हो ।

आन्तरिक पर्यटक भित्र्याउने गरी जिम्मा पाएको बडिमालिका नगरपालिका वडा नं ६ र ८ ले यो झर्ना बाजुराकै सबै भन्दा लामो र उतकृष्ट झर्ना रहेको बडिमालिका नगरपालिका– ६ का वडाअध्यक्ष कला बडुवालले बताउनुभयो । मानव सुचाङ्कका आधारमा बाजुरा ७४ आंै स्थानमा रहेपनि पर्यटकीय क्षेत्रका आधारमा भन्ने हो भने यो जिल्ला सुदूरपश्चिमकै पहिलो जिल्लाका रुपमा पर्दछ ।

यहाँका बडिमालिका, बुढीनन्दा, कालाजार्गा, खप्तडछेडेदह, वडालेख लगायतका धेरै ठाउँहरु पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछन् । जिल्लामा आउने आगन्तुक तथा पर्यटकहरुलाई मनमोहक पार्दै आएको यो झर्नाले लामो समय सम्म संरक्षण,सम्बद्र्धन तथा संरक्षणको प्रखाइमा  रहँदै आएको थियो ।

यती बेला बडिमालिका नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी यसको वरिपरी घेरवार तथा पुल निर्माण गरेपछि आन्तरिक पर्यटक भित्रिन थालेको वडाअध्यक्ष बडुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम मार्तडीकै सेरोफेरामा रहेको यो झर्ना जिल्लामा आउने रहेक पाहुनाहरुको मन समेत लोभ्याउने गरेको छ ।,,

प्राकृतिक अनुपमकै कारण प्रयटकहरुको मनमोहक जित्न सफल भएको यो झर्ना यती बेला यहाँका स्थानीयको जीविकोपार्जनको एक माध्याम बनेको छ । समयमै यसको संरक्षण र प्रवद्र्धन गर्न सकियो भने यसलाई हेर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकबाट लाखौको कमाइ गर्न सकिने वडा अध्यक्ष बडुवालले बताउनुभयो ।    gorkhapatra

You might also like