अटेरी अभियानको लक्ष्य ‘बुटिक पोखरा’

0

४८ पृष्ठको विकास लक्ष्यमा ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ को अवधारणा

 

पोखरा — ग्रीक दार्शनिक अरस्तुले भनेका थिए, ‘मानिस स्वभावैले राजनीतिक प्राणी हो ।’ साहित्यकार कुमार नगरकोटी अचेल यो परिभाषा फेरिएको तर्क गर्छन् । भन्छन्, ‘मानिस अब राजनीतिक दलको प्राणी हो ।’

स्थानीय तहलाई दलीय नबनाउन लेखक गनेस पौडेलको परिकल्पनामा सुरुआत भएको ‘अटेरी अभियान’ को पक्षमा नगरकोटी देखिए । शनिबार अटेरी अभियानको ‘पोखरा लक्ष्य २०७९ कार्ययोजना पत्र’ सार्वजनिकीकरण कार्यक्रममा
देखिएका उनले पोखरा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पौडेलको पक्षमा समर्थन जनाए । ‘कुनै राजनीतिक दलको सभा, सम्मेलन, बैठकमा अहिलेसम्म सहभागी भएको छैन, साहित्यिक कार्यक्रममा यदाकदा भाग लिन्छु,’ उनले भने, ‘जीवनमा पहिलोपल्ट यस्तो कार्यक्रममा आएको छु ।’

अटेरी अभियानले ४८ पृष्ठको ५ वर्षे कार्ययोजना निःशुल्क बाँडेन । बरु ३० रुपैयाँमा किनेर सहयोग गरिदिन भन्यो । कलाकार खगेन्द्र लामिछानेले ३ सय प्रति किने । अन्य सहभागीले पनि कार्ययोजनापत्र खरिद गरे । ‘पैताला’ लेखक पौडेलले कार्ययोजनापत्र अध्ययनको जिम्मा सहभागीलाई नै दिए । उनका अनुसार अटेरी अभियान भनेको ‘नो भोट’ अर्थात् ‘राइट टु रिजेक्ट’ लाई प्रत्याभूत गर्ने रचनात्मक प्रयोग पनि हो । ‘जसरी निर्दलीय पञ्चायतकालमा दलहरूले भाग लिएर बहुदलीय प्रजातन्त्रको माग राख्थे, हामीले त्यही विधिबाट ‘नो भोट’ को अधिकारलाई सांकेतिक रूपमा प्रयोग गर्न अभियान चलाएका हौं,’ उनले भने, ‘अटेर’ को अर्थ हुन्छ मान्दिनँ भन्नु । ‘अहँ हुन्न’ भन्नु । ‘भो पुग्यो’ भन्नु । अनेकन उद्देश्यमध्ये ‘नो भोट’ को अधिकारलाई समेट्नु पनि हो ।’

युवा क्लब, आमा समूह, उपभोक्ता समिति, टोल विकास, सामुदायिक वन, सहकारी, विद्यालय व्यवस्थापन समिति, जताततै सरकारमा प्रतिनिधित्व गर्ने दलको आकारको आधारमा भागबन्डा गर्ने चलन छ । ‘राजनीतिले स्वतन्त्र छोड्नुपर्ने विद्यार्थीलाई छोडेन, शिक्षक र शिक्षालयलाई छोडेन । स्वास्थ्यलाई छोडेन । खेलकुदलाई छोडेन । पार्टीको सदस्यता बाँड्न सरकारी कर्मचारी, वकिल मात्रै होइन न्यायाधीश पनि छोडेन,’ उनले भने, ‘सरकारको छाया समाजको सबैभन्दा सानो इकाइसम्म पुगेको छ । दलका ५० लाख घोषित कार्यकर्ता छन् । तीनै कार्यकर्तालाई यस्ता विभिन्न समितिमा घुसाइन्छ । अति भो अटेर गरौं ।’

कुनै दलको विचार नबोकी पनि राजनीति गर्न सकिने उनी बताउँछन् । ‘जसरी तपाईं धार्मिक नभई आध्यात्मिक हुन सक्नुहुन्छ । त्यसैगरी राजनीतिक दर्शन यही हो मेरो नभनी तपाईं राजनीति गर्न सक्नुहुन्छ,’ उनले भने, ‘हामीले गर्न खोजेको त्यही हो ।’ जुनसुकै दलमा आस्था राखे पनि यसपल्ट अटेर गर्न उनले अपिल गरे । भने, ‘परिवर्तन चाहने हो भने विधिमाथि अटेर गर्नुपर्छ । पार्टीको विकल्प पार्टी होइन, अटेरी अभियान हो ।’

पोखरामा नगर प्रमुखसहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा गरिसकेका छन् । स्थानीय तहलाई स्वतन्त्र बनाउने उद्देश्य रहेको ‘अटेरी अभियान’ अहिले देशभरि फैलिएको छ । पौडेलका अनुसार अटेरी युवा अभियानमा जोडिएर हालसम्म १ सय ५० जनाले पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरिसकेका छन् । अधिकांश ४० वर्षमुनिका छन् । स्वतन्त्र नागरिकको सधैं बहुमत हुने भएकाले भविष्यमा राजनीतिक दलले पनि स्वतन्त्र उम्मेदवार खडा गर्ने वातावरण सिर्जना गर्ने अभियानको उद्देश्य रहेको उनले बताए । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा अटेरी उम्मेदवारी घोषणा गरेकी इशा खड्काले पोखरावासीले यसपल्ट जनप्रतिनिधि छान्दा अटेर गर्ने विश्वास व्यक्त गरिन् ।

अटेरी अभियानको चुनावी घोषणापत्र ‘पोखरा लक्ष्य २०७९ कार्ययोजना पत्र’ मा ‘बुटिक पोखरा’ को परिकल्पना गरिएको छ । भाग्य निर्माणमा पर्यटन, अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासनलाई जोड दिएर ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ को अवधारणा अभियानले ल्याएको छ । पोखरालाई ठूला पूर्वाधारले नभई साना, पर्यावरणमैत्री र सिर्जनात्मक पूर्वाधारले सजाएर बुटिक सहरका रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । भूतलीय, क्षितिजीय, सन्ध्याकालीन, सांस्कृतिक, मानवीय सौन्दर्यमार्फत पोखरालाई बुटिक सहर बनाइने परिकल्पना गरिएको छ ।    kantipurnews

You might also like