ओरालो लाग्दै कोरोना सङ्क्रमण, दश दिनदेखि पाँच प्रतिशतभन्दा तल

0

 

काठमाडौं, फागुन १६ गते । नेपालमा कोरोना सङ्क्रमणदर निकै तल झरेको छ । आइतबार २४ घण्टा नौ हजार ७१० जनाको परीक्षण गर्दा सङ्क्रमणदर १.१४ प्रतिशत मात्र कोरोना पुष्टि भएको छ ।

यो सङ्ख्या पुस महिना यताकै सबैभन्दा कम हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा फागुनको ५ गतेदेखि नेपालमा कोरोना सङ्क्रमणदर पाँच प्रतिशतभन्दा तल झर्न थालेको देखिन्छ ।
माघ ८ गते कोरोना सङ्क्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । जुन नेपालमा ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार गत हप्ता ३९ हजार ५३ आरटी पीसीआर परीक्षणमा दुई हजार छ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।

यो हप्ता गरिएको ३६ हजार ७०३ आरटी पीसीआर परीक्षणमा एक हजार चार सय ४१ जनामा कोरोना पुष्टि भएको छ । यो हप्ताको सङ्क्रमणदर ३.९ प्रतिशत रहेको छ । जुन पछिल्लो हप्ताको तुलनमा तीन प्रतिशतले कम हो ।

त्यसैगरी, २२ हजार ५८५ एन्टिजेन परीक्षणमा एक हजार दुईसय ४६ सङ्क्रमण पुष्टि भएको छ । २० हजार आठ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७४५ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणदर ३.५ प्रतिशत रहेको छ । पछिल्लो हप्ताको तुलनमा दुई प्रतिशतले कम हो । यो हप्ताको औसत सङ्क्रमणदर ३.८ प्रतिशत रहेको छ । गत हप्ताको तुलनमा दुई प्रतिशतले कम हो ।

कोरोना सङ्क्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र सङ्क्रमणको अवस्थालाई सामान्य मान्ने विज्ञहरुको भनाइ छ । शनिबार पनि पाँच हजार १५२ जनाको परीक्षण हुँदा कोरोना सङ्क्रमण दर तीन प्रतिशत मात्र थियो ।

यसअघि शुक्रबार आठ हजार ६२८ जनाको परीक्षण हुँदा कोरोना सङ्क्रमणदर ३.१९ प्रतिशत थियो ।

फागुन १२ गते सङ्क्रमणदर ४ दशमलव ११, ११ गते ३.५९, १० गते ५.५, ९ गते ४.७७, ८ गते २.६७, ७ गते ४.९३, ६ गते ४.८१ र ५ गते ५.८२ प्रतिशत थियो । फागुनको सुरुवातदेखि नै सङ्क्रमणदर १० प्रतिशतभन्दा तल झरेको मन्त्रालयको तथ्याङ्कले देखाउछ ।

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा मन्त्रालयले आग्रह गरेको छ ।

सङ्क्रमणदर पूर्ण रुपमा शून्य भइसकेको छैन । त्यसैले भीडभाड, सभा, सम्मेलन हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ । अहिलेसम्म अल्फा, गामा, बिटा, डेल्टा, ओमिक्रोनलगायत भेरियन्ट देखिसकेका छन् ।

नेपालमा अहिलेसम्म ५४ लाख १६ हजार ३९१ ज्नाको आरटी पीसीआर परीक्षण गर्दा नौ लाख ७६ हजार ८६५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, १० लाख ५९ हजार ८७१ को एन्टिजेन परीक्षण गर्दा एक लाख ३९ हजार ३२६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमण हुने दर ९७.९ प्रतिशत रहेको छ । ११ हजार ९३५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले तथ्याङ्कमा उल्लेख गरेको छ । नेपालमा सङ्क्रमितको मृत्युुदर १.२ प्रतिशत रहेको छ । नेपालमा आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार सरकारले अहिलेसम्म नेपालमा तीन करोड ६९ लाख ८४ हजार ६११ मत्रा खोप लगाइएको छ ।

जसमध्ये एक करोड ८४ लाख ५४ हजार ७१७ जनाले एक मात्रा र एक करोड ७४ लाख १९ हजार ३४४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, ११ लाख १० हजार ५५० जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।gorkhapatra

You might also like