डेढ वर्षपछि बल्ल सुरु भयो साक्षीहरूको बकपत्र
रुकुम पश्चिम — झन्डै डेढ वर्षअघि रुकुमको सोतीमा भएको घटनाका साक्षीहरूबाट बकपत्र गराउने काम सुरु भएको छ । रुकुम जिल्ला अदालतले बुधबारबाट वादी तथा प्रतिवादीका तर्फबाट बकपत्र गराउन लागेको हो । वादीका तर्फबाट ३९ र प्रतिवादीका तर्फबाट २३ जना साक्षीहरु मंगलबार नै जिल्ला अदालत हाजिर भइसकेका छन् ।
सोती घटनाका आरोपीलाई अभियोग दर्ताका लागि गत असार ७ गते जिल्ला प्रहरी कार्यालयबाट जिल्ला अदालततर्फ लगिँदै ।
अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले बुधबारबाट बकपत्र सुरु हुने र दुई–तीन दिनमा बकपत्र सक्ने लक्ष्य लिइएको बताए ।
‘दुवै पक्षका साक्षीहरुलाई अदालत हाजिर गराएर बकपत्र सुरु गरिएको छ, बकपत्र सकिएपछि अरु प्रक्रिया अघि बढ्लान्,’ बोहराले भने । घटना भएको लामो समयसम्म न्याय नपाइएको भन्दै पीडित परिवार भने आक्रोशित छन् । विभिन्न बहानामा मुद्दाको प्रक्रिया ढिला गरिएकोप्रति उनिहरु आक्रोशित छन् ।
२०७७ जेठ १० गते चौरजहारीमा ठूलो हत्याकाण्ड भएको थियो । ८ नम्बर वडाको सोती गाउँ हुँदै भेरी नदीसम्म पुगेको उक्त घटनामा एकैपटक ६ जना किशोर मारिएका थिए । जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ जना गरी ६ जनालाई भेरी नदीमा हालेर धकेलेर हत्या गरिएको थियो ।
उक्त घटनामा भेरी नगरपालिका–४, का २१ वर्षीय नवराज विक, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का टिकाराम नेपाली जाजरकोट भेरी नगरपालिका–४, का गणेश बुढा, लोकेन्द्र सुनार, सन्दिप विक र गोविन्द शाहीको हत्या भएको थियो । जिल्ला अदालतका श्रेष्तेदार बोहराका अनुसार उच्च र सर्वोच्च अदालतसम्म मुद्दा पुगेको र उतैको प्रक्रियाका कारण यताको प्रक्रिया अघि बढ्न समय लागेको बताए । उच्च अदालत सुर्खेतका न्यायाधीशहरूको राय बाझिएपछि प्रक्रिया थप लम्बिएको उनको भनाइ छ ।
रुकुम जिल्ला अदालतमा पीडकविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता भएको थियो । घटनामा संलग्न भनिएका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव र छुवाछुतसम्बन्धी अभियोग दर्ता भएको हो छ भने एक जनाविरुद्ध घटनाको मतियार भएको अभियोग दर्ता भएको थियो ।
सुरुमा चौरजहारी नगरपालिका–८, का अध्यक्ष डम्मरबहादुर मल्लसहित सोही वडाका ३३ जना विरुद्ध तीन कसुरमा अभियोग दर्ता भएको छ भने जाजरकोट भेरी नगरपालिकाका इन्द्रबहादुर मल्लविरुद्ध मतियारको कसुरमा अभियोग दर्ता भएको थियो । अदालतले सुनुवाइपछि पछि २०७७ असार १० गते थुनछेक आदेश गरेको थियो ।
२०७७ असार ७ गतेसोती घटनामा संलग्न भएको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । यी तीन वटै अदालतको आदेशबाट अरु थुनामुक्त भए भने वडाध्यक्ष मल्लसहित २३ जना पुर्पक्षका लागि कारागारमै छन् ।,,Kantipur