दार्चुलाका किशोरीलाई विद्यालयमै आत्मरक्षा तालिम (फोटो फिचर)

0

दार्चुला, चैत ३१ गते । हिंसा र बलात्कारका घटना बढ्न थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको तालिमका प्रशिक्षक कल्पना पालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिलो चरणमा दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका छ वटा विद्यालयमा किशोरीलाई प्रतिरक्षा तालिम दिइदैछ । सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) सँगको सहाकार्यमा गुड नेवर्सको प्राविधिक सहयोग तथा प्रहार संस्थाको समन्वयमा किशोरी तथा बालिकाहरुलाई विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको हो । दार्चुला घर भएका विद्यार्थी नेता पालले धनगढीमा आत्मरक्षा तालिम लिएर अहिले जिल्लास्तरमा विद्यार्थी, किशोरीहरुलाई प्रशिक्षण गरिरहनुभएको छ ।

एउटा विद्यालयमा दुई दिनसम्म दिइने तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरेमा प्रतिकार कसरी गर्ने भनेर सिकाइदैछ । गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने १३ वटा विधि र १६ वटा बच्ने उपाय गरी तालिममा २९ वटा विधिका बारेमा सिकाउने गरिएको प्रशिक्षक पालले बताउनुभयो । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपाय आफूहरूले तालिममा सिकाइरहेको अर्का प्रशिक्षक मनिका ओडले बताउनुभयो ।

तालिममा किशोरी तथा बालिकाहरुको उत्साहजनक सहभागिता छ । हालसम्म तीन वटा विद्यालयका दुई सय बढी किशोरी विद्यार्थी दुई दिने आत्मरक्षा तालिममा सहभागि भएका छन् । राष्ट्रिय मावि दत्तु, सरस्वती मावि सेलिचामा र मालिकार्जुन मावि मडमा तालिम सम्पन्न भएको छ । एक हप्ताभित्र शंकरपुर मावि पस्ती, कृष्ण मावि डाडाकोट र सरस्वती मावि उकुमा तालिम दिइने प्रशिक्षक ओडले बताउनुभयो । तालिमबाट हिंसाको प्रयास भए प्रतिकारको पूर्वतयारी अपनाउँदा धेरै सहज हुने विश्वास विद्यार्थीमा बढेको छ ।

कसैले हिंसा वा बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने तरिकाको बारेमा तालिमबाट जानकारी पाइएको मालिकार्जुन माबि मडका छात्रा मञ्जु धामीले बताउनुभयो । आत्मरक्षा तालिमबाट शिप विकासका साथै आत्मबल समेत बढेको उहाँको भनाई छ । आत्मरक्षा तालिम सबै किशोरीका लागि आवश्यक रहेको अर्का विद्यार्थी लक्ष्मी धामीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा दुई वटा किशोरी बलात्कारजन्य घटनाबाट पिडित भएका छन् । घरभित्र र बाहिर बालिका बलात्कारका घटना बढ्न थालेपछि प्रतिकारका लागि आत्मरक्षा तालिम आवश्यक रहेको राष्ट्रिय माबि दत्तुका किशोरी देवकी चैसिरले बताउनुभयो । दुई दिनमा धेरै व्यवहारिक कुरा सिक्न नपाएको बताउदै उहाँले कम्तिमा पनि एक हप्ताका लागि प्रतेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

Gorkhapatra
You might also like