दुबईकी राजकुमारी लतीफा : स्वतन्त्रता खोज्दा जसलाई बाबुले नै बेपत्ता पारे

0

दुबईकी राजकुमारी लतीफा अल मकतूनले सन् २०१८ मा देशबाटै भाग्ने कोशिश गरिन्। तर उनी पक्राउ परिन्। पक्राउ परेपछि उनले साथीहरूलाई पठाएको भिडियो सन्देशमा पिताले आफूलाई बन्धक बनाएको आरोप लगाएकी थिइन्। साथै, आफ्नो ज्यान नै खतरामा परेको लतीफाको सो सन्देशमा उल्लेख थियो।

यो फुटेज बीबीसीले प्राप्त गरेको थियो, जसमा लतीफाले आफू डुंगाबाट भाग्ने क्रममा दुबईका कमाण्डोहरूबाट समातिएको र तत्कालै हिरासत केन्द्रमा लगिएको बताएकी थिइन्।


हिरासतभित्रै गोप्य रूपमा रेकर्ड गरी लतीफाले सार्वजनिक गरेको भिडियो ।

अहिलेहाल उनको गोप्य सन्देश आउन बन्द भइसकेको छ। उनका साथीहरूले संयुक्त राष्ट्र संघलाई यो मामिलामा अग्रसर हुन आग्रह गरिरहेका छन्।

दुबई र संयुक्त अरब इमिरेट्सको शाही परिवारले लतीफा आफ्नै परिवारको हेरचाहमा रहेको दाबी गरिरहेको छ। तर, उनी सामान्य र स्वाभाविक रूपमा रहेकी भनी पत्याउन सकिने आधारहरू छैनन्।

संयुक्त राष्ट्र संघकी पूर्व मानवअधिकार दूत मैरी रोबिन्सनले सन्‌ २०१८ मा लतीफालाई भेटेकी थिइन्। राजकुमारीलाई परिवारले नराम्ररी धोका दिएको रोबिन्सनले बताइरहेकी छिन्।

लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वका धनाढ्य शासकहरूमध्ये एक हुन्। उनी दुबईका शासक एवम् युएईका उप–राष्ट्रपति हुन्।

समातेपछि लतीफालाई दुबई लगिएको थियो। त्यसपछि उनले आफ्नो स्थितिबारे जानकारी दिन गोप्य रूपमा महिनौं लगाएर एक भिडियो बनाइन्।

लतीफालाई डुंगाबाट बाहिर निकाल्नुअघि सुरक्षाबलले हातपात गरेको थियो। उनले एक जवानलाई लात्ती प्रहार गरी लडाइदिएकी थिइन्।

लतीफालाई नियन्त्रणमा लिन सुरक्षाबलले ट्रेङ्क्वालाइज्ड (मेसिनबाट बिजुलीको झट्का दिने मेसिन) प्रयोग गरी बेहोस बनाई निजी विमानबाट दुबई ल्याएको थियो।

स्वास्थ्य र कानूनी सहायता नै नदिई उनलाई एउटा घरमा एक्लै राखिएको थियो। सो घरको झ्यालढोका सबै बन्द थियो। प्रहरीलाई पहरा गर्न खटाइएको थियो।

लोकतान्त्रिक भारतको भूमिका

पछिल्लोपटक भने उनी आफ्ना व्यायाम प्रशिक्षक जोहाएननका साथ भाग्दै गर्दा पक्राउ परेकी थिइन्।

सन् २०१८ फेब्रुअरी २४ मा लतीफा र जोहाएनन एक डुंगा र जेट स्की लिएर अन्तरराष्ट्रिय जल सीमा क्षेत्रमा पुगेका थिए, जहाँ एक फ्रान्सेली व्यापारी हर्व जोबर्टले अमेरिकी झण्डा लगाइएको पानीजहाजमा उनीहरूलाई पर्खिरहेका थिए।

८ दिन यात्रा गरेपछि उनीहरूलाई भारतको जलक्षेत्र नजिक कमाण्डो दस्ताले घेरा हालेका थिए। सो डुंगाभित्र अश्रुग्यासको गोला अन्धाधुन्द फालिएको थियो।

लतीफा पानीजहाजको शौचालयमा गई लुकिन् र त्यहाँबाट निस्केर बाहिर आइन्। उनलाई बन्दुकको नोकले अचेट्दै कमान्डो टोलीले पक्राउ गरेको थियो।


राजकुमारी लतीफाले दुबईबाट भाग्न प्रयोग गरेको रूट, तर उनी गोवा नजिकै भारतको जल क्षेत्रमा पक्राउ परेकी थिइन्‌।

त्यहाँबाट दुबई ल्याइएकी लतीफाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन।

दुबईमा दुई सातासम्म हिरासतमा राखेपछि जोहाएनन र जहाजका चालक दललाई रिहा गरियो।

अन्तरराष्ट्रिय जल क्षेत्रबाट भएको लतीफाको गिरफ्तारीबारे भारतले अहिलेसम्म आफ्नो संलग्नता भए÷नभएकोबारे कुनै टिप्पणी गरेको छैन। तर, धेरै मानिसहरूले भारतसँगको समन्वयमै लतीफालाई पक्राउ गरिएको विश्वास गर्छन्। किनकी, सो घटना सीमा क्षेत्रमा भएको थियो।

भाग्ने कोशिश गर्नु अघिको भिडियो

सन् २०१८ मा भाग्ने कोशिश गर्नुअघि लतीफाले एक भिडियो रेकर्ड गरेकी थिइन्, जुन भिडियो उनी पक्राउ परेपछि युट्युब च्यानलमा अपलोड गरिएको थियो।

उनले सो भिडियोमा भनेकी थिइन्, ‘तपाईंहरूले यो भिडियो हेर्दैगर्दा कि त म मरिसकेकी हुनेछु, या त निकै खराब स्थितिमा पुग्नेछु।’

सो भिडियो सार्वजनिक भएपछि युएईमाथि दबाब पर्‍यो। त्यहाँको शासकले लतीफालाई रोबिन्सनसँग भेट्न अनुमति दिन बाध्य भयो।

अदालतबाट आशा

अघिल्लो वर्ष युएईको उच्च अदालतले तथ्यमा आधारित एक आदेश जारी गरेको थियो।

सो आदेशमा शेख मोहम्मदले सन् २००२ र २०१८ मा लतीफालाई जबरजस्ती ल्याउन आदेश दिएका थिए। त्यस्तै, सन् २००० मा बेलायतमा लतीफाकी बहिनी शमसालाई अपहरण गरेका थिए।

मोहम्मदले युवा महिलाहरूलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित गराउन लगातार कट्टर शासन चलाउन खोजिरहेको अदालतले बताइसकेको छ।

लतीफाको वर्तमान स्थितिबारे जान्न खोज्दा दुबई र यूएईको सरकारले कुनै जवाफ दिने गरेको छैन।

को हुन् दुबईका शासक ? 

शेख मोहम्मदले दुबईलाई निकै सम्पन्न बनाएका छन्, सुन्दर शहरहरू ठड्याएका छन्। तर त्यहाँ मानवअधिकार र असहमतिका लागि कुनै ठाउँ छाडेका छैनन्।

न्यायिक प्रणाली महिलाविरुद्ध केन्द्रित छ र यो निकै भेदभावपूर्ण रही आएको छ।

मोहम्मदसँग विशाल घोडाचढी उद्यम छ। बेलायती महारानीसँग समेत उनको विशेष आत्मीय सम्बन्ध भएको मानिन्छ।

तर, राजकुमारी लतीफा र उनकी सौतेनीमा आमालाई लिएर उनी सदैव आलोचनामा पर्ने गर्छन्। उनीकी पत्नी हया बिन्त अल हुसैन सन् २०१९ मा दुई बच्चालाई लिएर दुबईबाट भागी लण्डन आएकी थिइन्। ​

Thaha khaber

You might also like