सरावल गाउँपालिकाकाे बहुद्देशीय सभागृह निर्माण कार्य अन्तिम चरणमा
उमेश बि.क / नवलपरासी ,
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे निर्माणाधिन बहुउद्देशीय सभागृहको भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
झण्डै रू. डेढ करोडको लागतमा सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा निर्माण भइरहेको सभागृहको काम अन्तिम चरणमा पुगेको हो ।
२०७६ सालदेखि निर्माण कार्य शुरु भएको एक तले सभागृहको भौतिक पूर्वाधार निर्माणको काम अहिलेसम्म करीव ९० प्रतिशत सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको हाे । ‘भवन निर्माणको काम करीव अन्तिम चरणमा पुगेको छ’, वहाँले भन्नुभयो ‘अब भवनको ढाेका लगाउने र पेन्ट लगाउने काम मात्रै बाँकी रहेको छ ।’
प्रदेश सरकारको रू. ६० लाख र ९० लाख गाउँपालिका गरी कुल डेढ कराेडकाे लागतमा निर्माण कार्य भइरहेको छ।
निर्माण भइरहेको उक्त सभागृह एक तलाको छ भने त्यसमा करिब पाँच सय भन्दा बढीको संख्यामा मानिस अट्ने क्षमता रहेको छ ।
सभागृह निर्माण भएपछि पालिका अन्तर्गतका कार्यक्रमहरु यहि गर्न सकिने र यसले यहाँको विकाससँगै आर्थिक संमृद्धि गर्न टेवा पुग्ने अध्यक्ष चाैधरीको भनाइ छ ।