कोरोनाविरुद्धको खोप तुरुन्तै लैजान नेपाललाई चीनको ताकेता (पत्रसहित)

0

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चिनियाँ खोप आपूर्तिका विषयमा प्रश्न उठाउँदै परराष्ट्र मन्त्रालयले पत्र पठाएपछि चीनले तत्काल खोप लैजान ताकेतासहितको पत्र पठाएको छ ।

खबरहबलाई प्राप्त पत्रअनुसार नेपालले माग गरेको आपूर्ति कम्पनीको कागजात पछि उपलब्ध गराइने तर खोप अहिले नै लैजानु पर्ने भन्दै ताकेता गरेको खुलेको हो ।‘आवश्यक कागजात पछि उपलब्ध गराइन्छ, खोप तत्काल खोप लैजानुस्, अहिले खोप संकलन गर्न नसके पछि निकै समय कुर्नुपर्छ’ भन्ने व्यहोरासहित चिनियाँ दूतावसाले नेपाललाई पठाएको पत्र खबरहबलाई प्राप्त भएको छ ।

पत्रमा भनिएको छ, ‘चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड–१९ खोपहरूको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रिया सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन गर्ने र पुर्‍याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानुनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।’

परराष्ट्र मन्त्रालले दुवै कम्पनीले मापदण्डको पालना नगरेको दूतावासलाई पत्रमार्फत जानकारी गराएको थियो । उनीहरूले नेपालको कानूनअनुसार दर्ता प्रक्रियाका लागि आवश्यक कागजात पनि उपलब्ध गराएका छैनन् । यसबारे परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको थियो । नेपालमा चिनियाँ खोप आपूर्तिका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ले अनुमतिका लागि आवेदन दिएका थिए ।

तीमध्ये खोप आयातका लागि कुन कम्पनी आधिकारिक हो भन्ने द्विविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘पी एन्ड जी होल्डिङ्स’ ले सिङ्गापुरको कम्पनी ‘ब्लु स्टोन ग्लोबल टेक्नोलोजी प्राइभेट लिमिटेड’ मार्फत खोप आपूर्ति गर्ने भन्दै मूल्यसूचीसहित औषधि व्यवस्था विभागमा अनुमति माग गरेको छ । तर, ‘पी एन्ड जी’ले पनि खोप आपूर्तिका लागि आवश्यक पर्ने कागजातहरू भने उपलब्ध गराएको छैन ।

यस विषयमा चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई चेतावनीपूर्ण जवाफ पठाए पनि परराष्ट्रले सोधेको अनुमतिका लागि आवश्यक कागजात उपलब्ध गराउने र कम्पनीको आधिकारिकता बारेमा भने कुनै जवाफ दिइएको छैन ।

चीनले नेपाललाई पठाएको पत्र

अहिले नलगे पछि नपाउने चेतावनी

चीनले नेपाललाई पठाएको पत्रमा नेपालले अहिले नै खोप नलगे पछि उपलब्ध हुन नसक्ने समेत उल्लेख छ । दूतावासले भनेको छ, ‘सिनोफार्म खोपको माग उच्च भएका कारण आपूर्ति निकै कठिन बन्दै गएको छ ।

चिनियाँ पक्षले नेपालका लागि भने विशेष व्यवस्था गरेको छ । नेपाली पक्षले तत्काल सिनोफार्मले विकास गरेको खोप संकलन गर्न नसकेको अवस्थामा यो खोप अन्य व्यापारिक परियोजनका लागि वितरण गरिनेछ । त्यसपछि नेपालले चिनियाँ खोप पाउन निकै समय कुर्नुपर्ने छ।’

यता परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले यो विषयमा आफूलाई कुनै पनि जानकारी नभएको भन्दै प्रवक्तासँग बुझ्न आग्रह गरे । प्रवक्ता सेवा लम्सालले पत्रका बारेमा जानकारी नभएको भन्दै केही समयपछि टेलिफोन गर्न आग्रह गरे पनि पछि उनी सम्पर्कमा आइनन् ।

माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको तीन लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो । गत शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीचको टेलिफोन वार्तामा पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता चीनले जनाएको परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको थियो ।

भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएपछि चीनले पनि नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

खोपको माग गर्दै नेपालले चीनलाई लेखेको पत्र

औषधि व्यवस्था विभागको अनुमति छैन

कुनै खोप ल्याउनुअघि प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने प्रावधान छ । तर, चिनियाँ खोप प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छैन ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार अहिलेसम्म भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ लाई मात्रै सशर्त आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

केसीले भने, ‘हामीले अहिलेसम्म भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डलाई सशर्त आपतकालीन प्रयोगका लागि अनुमति दिएका छौँ । त्यसबाहेक अहिलेसम्म अरू कुनैले पनि अनुमति पाएका छैनन् ।’
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता गणेश श्रीवास्तवले चिनियाँ खोप ल्याउने भनिए पनि यो विषयमा आफूलाई थाहा नभएको बताए ।

उनले भने, ‘कुनै पनि खोप स्वीकृति विना प्रयोग गर्ने कुरा हुँदैन, हामीले सबै बुझेर स्वीकृतिमा मात्र खोप प्रयोग गर्छौं ।’

चिनियाँ खोपप्रति आशंका

चीनले खोप उपलब्ध गराउने भने पनि विश्वका विभिन्न मुलुकहरूबाट चिनियाँ खोपप्रति आशंका उत्पन्न भइरहेको छ । चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोपको ब्राजिलमा गरिएको तेस्रो चरणको परीक्षणमा क्रममा ५०.४ प्रतिशतमात्रै प्रभावकारी देखिएपछि आशंका उत्पन्न भएको हो ।

अक्सफोर्डले विकास गरेको खोप ७० प्रतिशत तथा फाइजर र मोडर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको अवस्थामा चिनियाँ खोप ५० प्रतिशतमात्रै प्रभावकारी भएको भन्दै पश्चिमी मुलुकहरूले यस बारेमा प्रश्न उठाइरहेका छन् ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित कुनै खोप ल्याउनुअघि त्यसको सक्सेस तथ्यांक र गुणस्तरको अध्ययन गर्नुपर्ने बताउँछन् । दीक्षित भन्छन्, ‘चीनको होस् या जुनसुकै कम्पनीको, खोप ल्याउँदा निको हुने प्रतिशत या सबै बुझेर मात्र ल्याउनुपर्छ । खोपको हतार गर्नुभन्दा राम्रो हो होइन बुझेरमात्र ल्याउनु पर्छ । कसैले दबाब दियो भन्दैमा स्वीकृत विना वा नबुझी कुनै पनि खोप ल्याउनु हुँदैन ।’तथ्यांकहरू विश्लेषण नगरी हतारमा खोप ल्याउँदा त्यसले नकारात्मक असर गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

Khaber hub

You might also like