बुटवल बजारसँग जोडिँदै तिनाउपारीका बस्ती

0

बुटवल–दुइवर्ष अघि मोतीपुर क्षेत्रबाट बुटवलको सडक सम्पर्क सहज थिएन। पूर्वपश्चिम राजमार्गको तिनाउ पुल भएर घुमेर मोतीपुर र सेमलार लगायतका स्थानीय बुटवल आउनुपर्दथ्यो।

एउटै पालिका र आँखैले देखिने ठाउँमा पुग्नपनि घुमेर जानुपर्ने बाध्यता तिनाउपारीका स्थानीयलाई थियो। देवीनगर र मगरघाटमा पक्कीपुल बनेपछि मोतीपुरबासीको बुटवल आवत–जावत निकै सहज बनेको छ। बुटवलको योगिकुटीबाट मगरघाटको पुल हुँदै तिनाउपारी रानीगञ्जको शिवनगर पुगिन्छ।

यहाँ पुल नबन्दा शिवनगर अगल बस्ती जस्तो देखिन्थ्यो। सुकुम्बासी बस्ती रहेको त्यहाँ यस अघि सुनसान जस्तै थियो।
तर अहिले चहलपहल बढेर बुटवलकै एउटा बजारको रुपमा विकसित हुँदै गएको बुटवल १७ का वडाध्यक्ष सन्तबहादुर रानाले बताए।

‘केही फाट्ट फु्ट्ट किराना पसलहरु मात्र थिए। अहिले सुनचाँदी पसलदेखि हार्डवेयर पसलसम्म खुलेका छन’–उनले भने–‘पाँचपाँचतले अग्ला घरहरु बनिरहेका छन्।’ मोतिपुरबासीलाई मात्र होइन शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिकासम्मलाई बुटवलसँग दुरी घटेको महसुस भएको छ।

लामो समयसम्म देवीनगरको तिनाउमाथि झोलुंगे पुल थियो। झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोर दोहोर गर्न भने मोतिपुरबासीलाई बेलबास, जीतगढी भएर घुमेर बुटवल आउनुपर्दथ्यो।

२०७३ साउनमा झोलुंगे पुल तिनाउको बाढीले बगाएपछि भने तिनाउपारीको बुद्धनगर, नहरपुर, मोतीपुर लगायतका स्थानीयलाई पैदलयात्रा पनि असहज बन्यो। अघिल्लो वर्ष पक्कीपुलको निर्माण सम्पन्न भएपछि भने स्थानीयलाई ओहोरदोहोर गर्न निकै सहज भएको छ।

देवीनगर र मगरघाटमा रहेको तिनाउ पुल तथा नयाँगाउँको दानव नदीमा पक्कीपुलको बुधबार अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ।

देवीनगर र बुद्धनगर जोड्ने पुलको २०७२ असार ३० गते निर्माण सुरु भएर २०७६ माघ ५ गते सम्पन्न भएको हो। १ सय १० मिटर लम्बाइर ११ मिटर चौडाइको यो पुलको लागत १० करोड ४५ लाख रहेको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी कृष्ण कुँवरले जानकारी दिए ।

योगिकुटी र शिवनगर जोड्ने मगरघाटको पुल २०७३ सालमा सम्झौता भएर २०७६ माघमा सम्पन्न भएको हो । १ सय ८० मिटर लम्बाइ ११ मिटरकै चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको छ।

नयाँगाउँमा दानव नदीमा बनेको पुल २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको हो । ९८ दसमलव २५ मिटर लम्बाइ र ७दसमलब २ मिटर चौडाइको पुल ६ करोड २३ लाख रुपैयामा तयार भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।
पौडेलले बुटवलको सडक विस्तारको सिलन्यास गर्ने
अर्थमन्त्री विष्णु पौडेलले बुधबारै राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडक विस्तार कार्यको शिलन्यास गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।

२०७३ सालमा सडक विस्तारको लागि सम्झौता भएपनि सडक किनारका घरधनी तथा व्यवसायीको अवरोधका कारण रोकिएको थियो । घर भत्काउने कार्य विरुद्ध अदालतमा मुद्धा परेपछि सडक विस्तार अघि बढ्न पाएको थिएन। पछिल्लो पटक अदालतले सडक क्षेत्रमा परेका घर भत्काउन बाटो खोलिदिएपछि विस्तार कार्य अघि बढेको छ।

Lumbini times

You might also like