गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी
प्राधिकरणका नायब महानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले सबै काम अन्तिम चरणमा पुगेको र असार या साउन महिनाबाट भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने बताए। ‘अहिलेको अवस्था हेर्दा कुनै बाधा अवरोध नभएमा ढिलोमा ६ महिना भित्र अन्तर्राष्ट्रिय उडान हुन्छ।’ उनले भने–‘त्यसको लागि हामी लागिरहेका छौ।’
विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले केही आन्तरिक काम भने बाँकी छ। ‘भौतिक प्रगती ९३ प्रतिसत भन्दा बढी भइसकेको छ, रन्वे लाइट लगाउने, भित्रको डेकोरेशन गर्ने लगायतका केही काम बाँकी छ’–प्राधिकरणका नायब महानिर्देशक क्षेत्रीले भने –‘विदेशीहरु न आएर गर्नुपर्छ, उनीहरु नआउँदा ढिलाइ भएको छ।’
उनले विमानस्थल सञ्चालनको लागि भारतसँग पनि छलफल गर्नुपर्ने बताए। सीमा नजिक भएकाले भारतसँग सहमति गर्नुपर्ने भएको क्षेत्रीले बताए।
‘हाम्रो डिपार्चर प्रसिजर लागि अलिकति भारतपट्टि छुने भएकाले वार्ता गर्नुपरेको हो’–उनले भने। विमानस्थलको नयाँ रनवेबाट अन्तर्राष्ट्रिय उडान अघि आन्तरिक उडान गर्ने तयारी पनि प्राधिकरणले गरेको छ।
‘रन वे तयार भइसकेको छ। अन्तर्राष्ट्रिय उडानको प्रक्रिया चल्दै गर्दा नयाँ रन वे बाट सुरुमा आन्तरिक उडान हुन सक्छ।’–प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने।
वैशाखबाट नयाँ रनवेबाट आन्तरिक उडान गर्ने तयारी प्राधिकरणले गरेको छ।
विमानस्थल सञ्चालनको जिम्मा पुनः विदेशी कम्पनीलाई दिने तयारी
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरेको छ। विदेशी कम्पनीलाई दिने तयारी स्वरुप पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जिटुजी प्रक्रियामा लैजाने आशयपत्र माग गर्ने प्रक्रिया सुरु गरेको छ। जसका लागि नागरिक उड्ड्यन प्राधिकरणलाई जिम्मा दिएको छ।
यसअघि जर्मनीको म्युनिख विमानस्थलसँग जिटुजी मोडलमा सञ्चालनको जिम्मा दिने गरी प्रक्रिया अगाडि बढेको भएपनि बीचमै रोकिएको थियो।
अहिले फेरि विदेशी कम्पनीलाई नै दिने तयारी गरिएको हो। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका नायब महाप्रबन्धक राजकुमार क्षेत्रीले सञ्चालनको मोडलमा सहमति भए निजी क्षेत्रलाई पनि दिन सकिने बताए।
‘पुनः टेण्डर गर्ने भन्ने कुरा भइरहेको छ। पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । कुन मोडलले गर्ने भन्ने तय भएको छैन।’–उनले भने–‘मोडलमा सहमति भयो भने निजी क्षेत्रलाई पनि दिन सकिन्छ। सहमति भएन भने हामी आफैले सञ्चालन गर्छौ। काम चाँहि रोकिँदैन।’ क्षेत्रीले प्राधिकरण आफैले सञ्चालन गर्नुपरेपनि त्यसको तयारी गरेको जानकारी दिए।
Lumbini times