साना पशुपालक कृषकलाई लक्षित गरेर चाँप कटर वितरण
नवलपरासी २४ पुष – साना पशुपालक कृषकहरुलाई ब्यवसायिक बनाउन बर्दघाट नगरपालिकाले छाँटी काट्ने मेसिन (चाँप कटर) वितरण गरेको छ । शनिवार नगर मुख्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी नगरले चाँप कटर वितरण गरेको हो । कार्यक्रममा बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले साना पशुपालक कृषकलाई ब्यवसायिक बन्न सहज होस भनेर मेसिन प्रदान गरिएको बताउनुभयो । उनले ७५ प्रतिशत अनुदानमा मेसिन दिएको जानकारी दिनुभयो ।
पशुपंछी विकास शाखा प्रमुख भरत लम्सालका अनुसार ९१ जना साना किसानले चाँप कटर माग गर्दै निवेदन दर्ता गराएकोमा प्राथमिकताका आधारमा ६० जनालाई मेसिन दिएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, वडा नम्बर ४ का वडाध्यक्ष एंव आर्थिक विकास समितिका संयोजक रविन्द्र बिक्रम हमाललगायतले कृषकहरुको हितमा नगरले काम गरेको बताउनुभयो । शारिरिक रुपमा फरक क्षमता भएका कृषक लिलाबल्भव चापागाईले नगरले साना पशुपालक कृषकको माग लाई ध्यान दिएर प्रबिधि दिएकोले आफूलाई खुसी लागेको बताउनुभयो । यस अघि ठूला ब्यवसायायिक कृषकहरुलाई मात्र कार्यक्रममा सहभागी गराउने गरिएकोमा यसपटक साना कृषकहरुलाई समेत समाबेश गराएको भन्दै कृषकहरुले खुसी ब्यक्त गरेका थिए ।
बर्दघाट नगरपालिका दुध उत्पादनमा आत्मर्निभर नजिक छ भने मासुजन्य पद्धार्थमा पनि नगरले आत्मनिर्भरता बृद्धि गर्दै गएको छ । नगरमा दैनिक ७ हजार लिटर बढी दुध उत्पादन हुन्छ । आजको बर्दघाट पोष्ट दैनिकमा खबर छ ।