विकासका नाममा मासिदै वर-पिपल र चौतारा

0

२२ पुष ,गोरखा : भीमसेनथापा गाउँपालिका ४ का बाँणागाउँमा गतवर्ष मर्मतसम्भार गरेर सुन्दर बनाइएका चौताराको बर-पिपल स्थानीय सोम शाक्यले फाँडे र त्यहाँ घर बनाउन सुरु गरे । उनकै छिमेकी विमल शाक्यले पनि चौताराको बरको हाँगा फाँडे र त्यसभन्दा तल घर निर्माण गर्न सुरु गरे । प्राचीन सम्पदाको रुपमा रहेको चौतारा फाँडेकोप्रति असन्तुष्ट केही स्थानीयबासीले वडा कार्यालयमा उजुरी गरे ।वडा कार्यालयले स्थानीयबासीको भेला आयोजना गर्‍यो तर कुनै कारबाही गरेन । चौतारा गाउँको शोभा र प्राचीन सम्पदा भएकाले यसको संरक्षण गर्नुपर्ने स्थानीयबासीको भनाइ छ । ‘चौतारा भनेको गाउँको साँस्कृतिक धरोहर हो । तर अहिले धमाधम चौतारा फाँड्न थालिएको छ,’ स्थानीय राम लामिछानेले भने, ‘व्यक्तिको घर बनाउन सार्वजनिक सम्पदा मास्न पाइँदैन भनेर भेलामा सबैले बिरोध गरे तर वडाअध्यक्षले केही कारबाही गरेनन्, क्षमादान गरे ।’ आयोजित भेलामा शाक्यद्वयले गल्ती स्वीकार पनि नगरेको, माफी पनि नमागेकोप्रति उनले आपत्ति प्रकट गरे ।

तर बिमल शाक्यले भने घर बनाउनुपर्ने भएकाले केही हाँगाहरु काट्न बाध्य भएको बताए । ‘त्यहाँभन्दा अन्यत्र घर बनाउने उपयुक्त जग्गा नभएर त्यहाँ घर बनाउनु पर्‍यो । अनि पछि ठूलो क्षति हुनुभन्दा अहिले नै केही हाँगाहरु काटौँ भनेर काटिएको हो ।’ वडाअध्यक्षसँग अनुमति लिएर काटिएको उनले बताए ।

आफूले थोरैमात्र हाँगा काट्न भनेकामा शाक्यद्वयले फेदैदेखि काटेको वडाअध्यक्ष मदन शाक्यले बताए । ‘घरलाई असर गर्छ भनेर बुसकटिङ गर्न भनेको थिएँ, तर उहाँहरुले फेदैदेखि काट्नु भएछ,’ उनले भने, ‘त्यस विषयमा भेला गरेर उहाँहरुले गल्ती महशुस गरिसक्नु भएको छ ।’

२०५४ सालमा स्थानीय रामप्रसाद शाक्यले बरपिपलको चौतारो मासेर घर बनाएपछि साबिक धावा गाविमा चौतारा फाँड्न सुरु गरिएको स्थानीयको भनाइ छ । चौतारा मासेर प्रभात माविको भवन निर्माण गरिएको छ ।

त्यस्तै आमभञ्ज्याङमा दुईवटा चौतारो मासेर बस्ती बसाइएको छ । राम्चेमा सार्वजनिक चौर मिचेर तीनवटा घर बनेका छन् भने गैराथोकमा सार्वजनिक चौरको आँप फाँडेर एकदुईजनाले व्यक्तिगत रुपमा लिलाम गरेका छन् ।

अहिलेसम्म कम्तिमा पनि १५ वटासम्म चौतारा फाँडिएको अर्का स्थानीय भीमप्रसाद सिम्खडा बताउँछन् । ‘कतै रोड खन्ने नाउँमा, कतै स्कूल बनाउने नाउँमा, कतै विजुलीको लाइन विस्तार गर्ने नाउँमा, कतै घर बनाउने नाउँमा चौतारा मास्ने काम भइरहेको छ’, उनले भने, ‘कतै चौतारोको नाम निशाना छैन, कतै गाउँको शोभा दिने झ्याम्म परेको चौतारो फाँडेर खुँडे बनाइएको छ । विकास निर्माण गर्न चौतारा नै किन फाँड्नुपर्‍यो ?’ स्थानीय सरकारले सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने उनले बताए ।

अन्नपुर्ण पोष्ट

You might also like