चितवन घटना : नेकपाका प्रचार विभाग प्रमुख र उपप्रमुखबीच जुहारी !
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको विवादले दुई गुटको विवाद छताछुल्ल भएको छ। नेकपाका शीर्ष नेताहरुबीच विवाद चरम उत्कर्षमा पुगेको समयमा शनिबार चितवनमा भएको घटनाले दुई गुटको विवादलाई थप मलजल गरेको छ।चितवनमा भएको घटनालाई लक्षित गर्दै नेकपा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले वक्तव्य दिएको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाएका छन्।
शनिबार चितवनमा प्रधानमन्त्री केपी ओली निकट कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गरेका थिए। नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा उनकै पार्टी काकार्यकर्ताले विरोध गरेका थिए। राप्ती नगरपालिकाको नगरकमिटी बैककमा बोल्ने क्रममा पाण्डेविरुद्ध नाराबाजी भएको हो। होहल्ला भएपछि बैठक रोकिएको थियो। पटकपटक आग्रह गर्दा पनि शान्त नभएपछि पाण्डे बैठक स्थलबाट बाहिरिएका थिए। सोही प्रकरणलाई लिएर नेकपा प्रचार विभाग प्रमुख श्रेष्ठले चितवनमा भएको घटनाको निन्दा गरेका थिए। उनले यस प्रकारको व्यवहारले कम्युनिस्ट आन्दोलनलाई मात्र नभएर कसैको हित नगर्ने बताएका थिए। ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ’, प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका छन् ‘यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’
थापाले गुटगत वक्तव्यबाजी गरेको भन्दै श्रेष्ठको भनाइप्रति आइतबार बिहान आपत्ति जनाएका हुन्। थापाले बिहान ट्वीट गर्दै चितवनमा पार्टी एकता जिन्दावाद भन्दै नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै टिप्पणी गरेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि बुटवलमा ढुंगा प्रहार हुँदा निदाउनु भएको थियो भन्दै श्रेष्ठलाई प्रश्न गरेका छन्। उनले श्रेष्ठको ट्वीटलाई समेत राखेर गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी आएको भन्दै आपत्ति जनाए।
‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! ’ थापाले ट्वीट गर्दै भनेका छन्, ‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !’पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउना साथ होहल्ला सुरु भएको थियो। मदन भण्डारी फाउण्डेशन राप्ती नगर कमिटी खेलकुद विभाग संयोजक केदार आचार्यले प्रधानमन्त्रीविरुद्ध बोल्न थालेपछि विरोध गरेको बताए।
अन्नपुर्ण पोष्ट