‘हामी मजदुर कसरी बाँच्‍ने ?’

0

२७ भदौ ,

मोरङ बुधनगरका ४० वर्षीय वीरेन्द्र मुखियाको दैनिकी सहजै चलेको थियो। बिहान ठेला तान्ने कामको कमाइले चार जनाको परिवार पाल्न समस्या थिएन। तर, चैत ११ देखि आजसम्म भने उनलाई निकै समस्या परिरहेको छ। झन् यही अवधिमा श्रीमती गुमाउनुको पीडाको त सीमा नै छैन। श्रीमतीको क्रिया गर्दा लागेको ऋणको बोझ ठेलाले नथाम्ने भएको छ।

विराटनगरमा निषेधाज्ञा खुकुलो भएसँगै ठेला लिएर बजार त निस्कन्छन्, उनी। तर, काम नपाउनुको पीडा अर्कै छ। आफूहरू विराटनगरका बसिम आलमको नेतृत्वमा खटिएका युवाको समूहले खुवाउने खानाको भरमा बाँचेको उनी सुनाउँछन्। ‘ श्रीमती बितिन्। आम्दानी छैन। ठेला निकालेर मात्रै के गर्नु सामान ओसारपसार गर्ने यात्रु छैनन्’, उनले भने, ‘यी भाइहरूले खुवाएको खानाले बाँचेका छौं।’

सहयोगी आलमले वीरेन्द्र जस्ता धेरै जना समस्या परेकाले सहयोग गरेको बताउँछन्। उनी भन्छन्, ‘धेरैले रोजगारी गुमाए, भोकै रात कटाउने पनि भेटिए। त्यसैले सहयोग गरेका हौं।’ काम गरेरै खाऊँ भने काम पाइँदैन, फेरि आफूहरू ठेला तान्नेबाहेक अरू काम नजानेकाले समस्यामा परेको वीरेन्द्रले सुनाए। ‘विराटनगरमा ठेला तान्ने धेरै छौं, सबैको समस्या उस्तै–उस्तै छ’, उनी भन्छन्, ‘प्लेन र गाडी नचल्दा ठेलामा सामान लैजाने यात्रु हुँदैनन्। यसले हामी समस्यामा परेका हौं।’

बजार वा पसल बिहानदेखि बेलुका ७ बजेसम्म खुल्दा अत्यावश्यक सामान किन्ने मात्रै बजार आउनाले यस्ता ठेला चलाउनेहरू काम पाएका छैनन्। अहिले उनीहरूको दिन सडक किनारमा ठेला राखेर कसैले बोलाउलाकी भनेर कुर्दै बित्ने गरेको छ।

दैनिक भोका चार सयले खान्छन् खाना

संघीय सरकारले गरेको सुरुआती लकडाउनसँगै विभिन्न संघसंस्था र स्थानीय तहको राहत वितरण अभियान बाक्लै चल्यो। लकडाउन सुरु हुँदा पहिलेको जोहो भएकैले पनि राहत लिए। जुन समय राहत सामग्री बाँडिहाल्ने समय थिएन। त्यसपछिका समयमा लकडाउन र निषेधाज्ञा लम्बिँदै जाँदा तह क्वारेनटाइन व्यवस्थापनमा लागेका संघसंस्था हराए। त्यसै समयमा रोजीरोटी गुमाएका मजदुरको जोहो पनि सकियो। तर, कतैबाट न त राहत आयो न त दैनिक खाना नै। रोगले भन्दा भोकले मरिने डर बोकेका मजदुर र सडकमा दैनिकी गुजार्नेहरू भोकै भएपछि खाना खुवाउने अभियान चलाएका समाजसेवी युवा बसिम आलमलको टोलीले नियमित सडकमा भेटिएकालाई खाना खुवाइरहेको छ। सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगेको अवस्थामा सडकपेटीमै बस्नेहरू र दैनिक मजदुरी गर्ने चार सयको हाराहरीमा खाना खाने गरेको आलमको भनाइ छ।

सुनसरी इटहरी नगरपालिका गाडीचालक सन्तोष चौधरी दैनिक खाना खान पुग्छन्। यातायात बन्द हुँदा भोकै बस्ने समस्याको समाधान युवाहरूले नगरेको भए भोकै मरिन्थ्यो होला भन्छन्, चौधरी। उनले भने, ‘सरकार र गाडी मालिकले गर्ने काम बसिम आलमले गरेको छन्, बिहान र बेलुुका हामी जस्ता मजदुरलाई खाना खुवाउने अभियानले नै हामी बाँचेका हौं।’ बसिमसँगै संक्रामक रोगको पर्वाह नगरी केही युवाहरू विराटनगरका सडकमा दिनहुँ असहायलाई खाना बाँड्दै हिँडिरहेका छन्। आलमका अनुसार उनीहरू आफैं रकम संकलन गरेर खाना र तरकारी जुटाउँथे। पकाउने ठाउँ ट्राफिक चोकको रोयल बिर्यानीलाई छाने। अहिले थुप्रै संस्थाहरूले सहयोग गरिरहेको बताए। तर, सहयोगमा सरकारी तथा एनजीओ, आईएनजीओको सहयोग नलिने नीतिसमेत युवाहरूले लिएको उनले बताए।

You might also like