सीमित स्रोत, ठूलो आत्मबल– कोरोना संक्रमितको उपचारमा एउटा टिम

0

भदौ १०,

दाङ – क्वारेन्टिन भरिभराउ थिए । संक्रमितहरु थपिँदै जाँदा आइसाेलेशनमा ठाउँ पाउन गाह्रो भयो । क्वारेन्टिनलाई नै आइसाेलेशन बनाएर उपचार थालियो।

देउखुरीका चार ओटा स्थानीय तहले एउटा संयुक्त आइसाेलेशन बनाउने निर्णय गरे। सोही अनुसार राप्ती गाउँपालिकको मौरीघाटमा राप्ती प्राविधिक शिक्षालयमा आइसाेलेशन बन्यो।

नेपाली सेनाको जनशक्तिको श्रमबाट निर्मित आइसाेलेशन सेन्टरमा स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे। सुरुमा स्वास्थ्यकर्मी तयार पार्न मुस्किल पर्‍यो । हरेक पालिकाले चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने जिम्मा थियो।

तर, कोरोना संक्रमणको डरले गर्दा स्वास्थ्यकर्मी तयार हुन समेत समय लाग्यो। जेठ २८ बाट बिरामी भर्ना गरेर आइसाेलेशन सञ्चालनमा आयो। नेपाली सेनाको सुरक्षामा आइसाेलेशनमा उपचार सुरु भयो।

आइसाेलेशनको कमाण्ड सम्हाले डाक्टर पुष्प भुसालले। उनको कमाण्डमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले उपचार थाल्यो। आइसाेलेशनमा अहिलेसम्म भर्ना भएका एक सय १९ जना मध्य एक सय ६ जना उपचारपछि घर फर्किएको डाक्टर पुष्प भुसालले बताए।

‘सुरुका दिनमा त यहाँ आइशोलेसन हुँदा समुदायका कतिपय मान्छेहरुले नकारात्मक सोच्नुभयो। यहाँ संक्रमित राखेर उपचार गर्दा समुदायमा कोरोना फैलन्छ कि भन्ने नकारात्मक सोच धेरै थियो। पछि हामीले पनि काउन्सिल गरेर समस्या समाधान भयो’, उनले भने, ‘सुरु सुरुका दिनमा त स्वास्थ्यकर्मीलाई समेत परामर्श गर्नुपर्‍यो । हामीले कोरोनाको उपचार जोखिम मोलेरै सुरु गर्‍यौँ।’

चार जना चिकित्सक र ३० जना स्वास्थ्यकर्मीले सिफ्ट अनुसार सेवा दिएर संक्रमितको उपचार गरेका हुन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेर संक्रमितको उपचार गर्ने गरेका छन्। अहिले आइसाेलेशनमा १३ जना संक्रमितको उपचार चलिहरको छ । उपचारमा आउने अधिकांश संक्रमित लक्षण बिनाका छन्।

८/९ बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएका थिए। ती लक्षण देखिएका बिरामी पनि निको भएका छन्। आइसाेलेशनमा आएका मध्य एक जनालाई बुटवल थप उपचारको लागि पठाइएको छ।

डराएर कति दिन बस्ने ?

कोरानो संक्रमणको जोखिम स्वास्थ्यकर्मीलाई बढी छ। धेरै स्वास्थ्यकर्मी अहिले पनि संक्रमित भएका छन्। कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचारमा जुटेका हुन्।

‘डर कस्लाई लाग्दैन र? तर, हामी जोखिम मोलेर सेवामा खटिएका छौं’ उनले भने–‘एक न एक दिन सबै यसबाट(कोरोना)बाट गुज्रनुपर्छ नै । त्यही भएर आत्मबल कमजोर नपरौँ । हिम्मत जुटाउनुपर्छ ।’

खर्च बढ्यो

आइसाेलेशन सेन्टरको खर्च धान्न गाह्रो भएको छ। चार ओटा पालिकाले १५/१५ लाख रुपैयाँ जम्मा गर्नेगरी आइसाेलेशन सेन्टर स्थापना गरिएको थियो । दश लाख हरेक पालिकाले जम्मा गरिसकेका छन् । अझै पाँच/पाँच लाखको दरले रकम जम्मा गर्न बाँकी रहेको छ।‘

भविष्यमा पनि आइशोलेसनको आवश्यकता पर्छ। अहिले सम्मको खर्च पालिकाले बुझाउने रकमबाट धान्न सकिन्छ’ डाक्टर पुष्प भुसालले भने ‘अबको दिनमा खर्च व्यवस्थापनको लागि संघीय, प्रदेश र स्थानीय सरकारले ध्यान दिन जरुरी छ।’

आइसाेलेशनमा बसेका संक्रमितलाई दुई पटक खाजा र दुईपटक खाना खुवाउने गरिन्छ। सेड्युल तयार पारेर संक्रमितलाई खाना र शुद्ध पानी खुवाउने गरिएको छ।

Desh sansar

You might also like