शिक्षामा कृषि र उद्योग

0

गोविन्द पौडेलauthor-image

यो वर्ष करिब १२ प्रतिशत बजेट शिक्षाका लागि छुट्ट्याइएको छ। गत वर्षहरूमा १६÷१७ प्रतिशतसम्म बजेट शिक्षामा छुट्ट्याउने गरिन्थ्यो। सरकारले बजेट मुख्यतः विद्यालयको भौतिक संरचना, शिक्षक-कर्मचारीको तलब, विद्यार्थीका पाठ्पुस्तक र तालिमका लागि खर्च गर्ने गर्छ। देशमा करिब २९ हजार सामुदायिक विद्यालय छन्। त्यहाँ करिब डेढ लाख शिक्षकले पढाउने गर्छन्। हरेक वर्ष शिक्षामा यति ठूलो लगानी भइसकेपछि त्यसबाट आएको जनशक्तिले देशलाई आजसम्म विकासको एउटा खुट्किलोसम्म त लग्नुपर्ने। यसको उल्टो देश गरिब नै छ। गरिबीको दण्ड कहिलेसम्म भोग्नुपर्ने हो अनिश्चित छ।

हामी हरेक चीजका लागि अरू देशसँग मागिरहेकै छौं। शिक्षाको लगानीबाट निस्केको जनशक्तिले देशलाई स्वनिर्भर बनाउन खास मद्दत गरेन। शिक्षामा गरिएको लगानी बालुवामा पानी हालेसरह भयो।

विद्यार्थीलाई शिक्षाले कृषि क्षेत्रमा केही गर्न सक्ने ज्ञान, सीप, हौसला र बाटो देखाइदिन सकेको भए देश कृषिमा आत्मनिर्भर हुन्थ्यो। लाखौं तन्नेरी कृषिमा स्वरोजगार बन्थे। ती विद्यार्थीलाई साना तथा मझौला खालका उद्योगबारे ज्ञान दिन सकेको भए कृषिमा भएको उत्पादन ती उद्योगले कच्चापदार्थका रूपमा खरिद गर्थे। देशमा हजारौं उद्योगहरूको विकास भएको हुन्थ्यो। लाखौंलाख युवाले खाडी मुलुकमा काम गर्न जानु पर्दैनथ्यो।

पढाइमा अब्बल ठानिएका विद्यार्थीलाई विज्ञान तथा प्रविधिकेन्द्रित शिक्षामा जोड दिएको भए कृषि, उद्योग र कार्यालयलाई चाहिने प्रविधि, मेसिन तथा उपकरण भारत र चीनबाट आयात गर्नुपर्ने थिएन। स्वदेशका वैज्ञानिकले त्यस्ता मेसिन यहीं बनाउन सुरु गर्थे। तर, आजसम्मको रटानमुखी शिक्षा लिएर विद्यालय र विश्वविद्यालयबाट निस्कँदै गरेका तन्नेरीसँग ग्रेडबाहेक आपूmसँग केही भएन। देशलाई केही पनि दिन नसक्ने भए। शिक्षाको हालत यस्तो हुँदै गर्दा देश मगन्ते नभए के हन्छ ?

कृषि र उद्योगमा जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङले जुनसुकै अवस्थामा पनि खाद्यान्नबाट हामी सुरक्षित हुनुपर्छ भन्दै किसानलाई हौसला दिन कृषि फार्महरूमा पटकपटक भ्रमण गर्छन्। जस्तोसुकै महामारी वा संकट आए पनि कम्तीमा भोकमरीबाट नागरिकलाई बचाउन खाद्यान्नमा आत्मनिर्भर देशले मात्र सक्छ।

आजसम्मको हाम्रो शिक्षाले कृषिलाई सम्मानित पेसाका रूपमा सिकाउनै सकेन। पढेका मान्छेले कृषि पेसा गर्न सुहाउँदैन भन्ने छ। स्कुलमा कृषि र उद्योगको विषय अनिवार्य रूपमा राख्नैपर्छ। विषय राखेर मात्र हैन; अन्नबाली उब्जाउने तरिकाबारे खेतबारीमा लगेर सिकाउनुपर्छ। पशुपालन गरेको ठाउँमा लगेर पशुपालनबारेको जीवन्त शिक्षा दिइनुपर्छ।

भर्खर विश्वविद्यालय सकेर निस्कको युवा सर्टिफिकेट झोलामा राखेर ५० ठाउँमा जागिरका लागि आवेदन दिन्छ। २५ वर्षसम्म पाएको शिक्षाले व्यक्तिलाई आपैंmसँग चिनाइदिन सकेन। उद्यमशीलताको तमाम उपायबारे केही सिकाइ भएन। मास्टर्स सकिसकेपछि अंग्रेजी, जापानिज, कोरियन भाषा सिक्न फेरि कन्सल्टेन्सी धाउनुपर्ने अवस्था छ भने यो शिक्षालाई नबदलीकन देश बनाउँछु भन्ने अवैचारिक भाषण मात्र हो।

आजको दिनमा पढ्नको अर्थ जागिर प्राप्त गर्नु हो भन्ने बुझाइ छ। नहोस् पनि कसरी ? कक्षाकोठामा व्यक्तिले आफैं गर्न सक्ने सम्भावनाबारे केही पढाइ हुन्न। राम्रो ग्रेड ल्याएपछि राम्रो जागिर पाइन्छ भन्ने पढाइन्छ। ‘तिमी सपना बोक, सपना छ भने आपैंm हजारौंलाई जागिर दिन सक्छौ’ भन्दै बिल गेट्स, मार्क जुकरवर्ग र विनोद चौधरीका जीवन कथा सुनाइन्न। शिक्षण संस्थाले राम्रो ग्रेड ल्याइदिन आफ्नो अपार सफलता ठान्छन्। कक्षाकोठाबाहिर अर्थपूर्ण शिक्षा दिन साहस गर्दैनन्।

अब देश विकासका लागि कृषिमा क्रान्ति ल्याउनुपर्छ भन्ने कुरा विवादरहित छ। तर शिक्षालाई कृषि, उद्योग र प्रविधिसँग नजोडेसम्म देशको विकास असम्भव छ। स्कुलमा कृषिको पढाइ भएर मात्र हुन्न। त्यो पढाइ फिल्ड, प्रयोग र व्यवहारकेन्द्रित हुनुपर्छ। माछापालनबारे दुई पेज लेख्न सक्ने बनाएर मात्र केही अर्थ छैन। एक हप्ता मत्स्यपालन केन्द्रमा लगेर विद्यार्थीलाई सजीव ज्ञान दिनुपर्छ। च्याउखेतीबारे कक्षाकोठाको चार पर्खालभित्र प्रवचन दिएर परिणाम आउँदैन। खेती गरेकै ठाउँमा लगेर सिकाऔं। धानखेतीबारे पढाउँदा खेतमै लगेर धान रोप्न लगाउने हो।

स्थानीय तहले आफ्नो क्षेत्रमा केके खेतीबाली, फलफूलको सम्भावना छ वैज्ञानिक अध्ययन गराएर स्कुलमा लगेर पढाउन आवश्यक छ। सानैदेखि श्रमप्रति गौरव गर्न सक्ने नबनाएसम्म देश कसरी सफल बन्छ ? पसिना नबगाई त न व्यक्ति बन्छ न त देश नै।

वैज्ञानिक र प्राविधिकको उत्पादन

देशमा विज्ञान र प्रविधिको विकासमा योगदान दिने भनेकै त्यहाँबाट निस्केका नौजवानले हो। तीक्ष्ण मस्तिष्क भएका विद्यार्थीलाई अर्थपूर्ण विज्ञान र प्रविधिको शिक्षा दिन आवश्यक छ। कृषि क्षेत्रमा ठूलाठूला फार्ममा प्रविधि प्रयोग गरेरै उत्पादकत्व वृद्धि गर्ने हो। आजसम्मको कृषि निर्वाहमुखी मात्र छ। एउटा परिवार पाल्न पनि धौधौ हुने खालको छ।

देशको धेरै ठाउँमा अझै पनि गोरुले जोतेर अन्नबाली लाइन्छ। थोरै खेतमा पनि सिँचाइ पुग्न सकेको छैन। किसानमा उन्नत जातको बीउवीजनप्रतिको ज्ञान कम छ। यसबाट उठ्न पनि देशभित्रै यन्त्र र उपकरण निर्माण आवश्यक छ। कृषिबारेको अनुसन्धानका लागि विदेशी विज्ञको मुख ताक्न नपर्ने गरी जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ। उद्योगका लागि चाहिने प्रविधि यहीं आविष्कार हुन सम्भव छ। यसका लागि निश्चित विद्यार्थीलाई विज्ञान र प्रविधिको चेत उठाउने खालको शिक्षा दिनुपर्ने हुन्छ।

फरकफरक स्वभाव, क्षमता र रुचि बोकेका ३०÷४० विद्या।र्थीलाई एउटै कक्षामा हालेर ८÷१० वटा विषय अनिवार्यरूपमा घोक्न बाध्य पार्ने परिपाटीले देश माथि लाग्दैन। विद्यार्थी गरिखाने हँुदैनन्। विज्ञानका परिभाषा घोकाएर विद्यार्थीको दिमाग बेकारको बनाइदिएर देशमा विज्ञानको विकास हँुदैन। विज्ञानलाई दैनिक जीवनका गतिविधि र प्रोजेक्टसँग जोड्न आवश्यक छ।

एउटा निश्चित लम्बाइ-चौडाइ भएको खेतमा कतिवटासम्म बिरुवा लगाउन सकिने रहेछ भनेर निकाल्न सक्नुमा गणित पढाइको अर्थ रहला। ‘गणितका अभ्यासका एकदुइटा हिसाब सिकाउने, विद्यार्थीलाई त्यही तरिकाले गर्न लगाउने। सबै हिसाब मिल्यो भन्दा विद्यार्थी भन्छन्, मिल्यो सर।’ आजसम्मको गणित पढाइ यही हो। विद्यार्थीले गरेको हिसाबको उत्तर किताबको पछाडिको पानामा दिइएको ‘एन्सर कि’ सँग त मिल्यो तर जिन्दगीसँग मिलेन। गणित शिक्षा जीवनसँग जोडिएको छैन। एकपटक फर्केर हेरौं, हामी १५÷२० वर्षअघि अंकगणित, वीजगणित र ज्यामितीका सयौं खालका हिसाबमा पोख्त भयौं। ती फर्मुला र हिसाब जिन्दगीमा आजसम्म काम लागेनन् र अन्तिमसम्म पनि काम लाग्ने छैनन्। काम नलाग्ने चीज पढाएर शिक्षालाई बोझिलो बनाउनुभन्दा थोरै तर अर्थपूर्ण शिक्षा देशले मागेको छ।

Annapurna post

You might also like