कतार, दुवई र कुवेतबाट ६०९ जना नेपाली स्वदेश आइपुगे
काठमाडौं, ११ असार । कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ६०९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् ।
कतारबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५८ जना र यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना स्वदेश आइपुगेका हुन् ।
त्यस्तै कुवेतबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १४९ जना र कुवेतबाटै आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत काटमाडाैं आइपुगेका छन् ।
नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत तीन जना गर्भवती, सात जना सुत्केरी, दुई नाबालक र १४६ जना पुरुष स्वदेश फर्केका हुन् ।
कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको विमान नेपालको समय अनुसार ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे ।
news24 nepal