राहत वितरणमा बिभेंद गरिएको मर्चाखोलावासीको आरोप (भिडियो)
बिभेद नभएको वडा कार्यालय र टोल विकास संस्थाको दावी
रवि पाण्डेय
नवलपरासी २० चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मर्चाखोलाका बासिन्दाले आफूहरुलाई राहतस्वरुप वितरण गरिएको दैनिक उपभोग्य समान बितरणमा बिभेद गरिएको गुनासो गरेका छन् । उनीहरुले आफ्नो टोलमा १ सय ६८ घर परिवार रहेकोमा करिब ५० घर परिवार अतिबिपन्न तथा असहाय रहेको भन्दै त्यसमध्ये १५ घरपरिवारलाई मात्र राहत दिएर बाँकीलाई बिभेद गरिएको बताएका हुन । त्यस्तै राहत प्रदान गरिएका १५ घरपरिवार भन्दा पनि अझ विपन्न र असहाय रहेका घर परिवारमा समेत राहत नदिएर छनौटमै बिभेद गरिएको उनीहरुको भनाई थियो । टोल विकास संस्थाले आफू र आफूनिकट दलका मान्छेहरुलाई मात्र राहत दिन वडा कार्यालयमा सिफारिस गरेकाले त्यसबाट आफूहरु माथि बिभेद भएको उनीहरुको दावी छ ।
स्थानीय युवा दिलकुमार बिकले वडा कार्यालयले टोल विकास संस्थाको आडमा घर परिवार छनौट गरेकोले गाउँका राहत पाउनुपर्ने अधिकाँश अतिबिपन्न तथा दैनिक मजदुरी गर्ने परिवार हरुले नै राहत पाउन नसकेको भन्दै आक्रोश पोख्नुभयो ।
उहाँले कार्यालयले बाँकी रहेका अतिबिपन्न परिवारलाई राहत समाग्री प्रदान नगरे घरघरबाट एक मुठ्ठी चामल उठाएर वडा कार्यालयमा बुझाइने चेतावनी दिनुभयो । यहाँ धेरै गरिब तथा सुकुम्बासीहरु छौ , राहत वितरणमै भाईबन्दी भयो – विकले भन्नुभयो – पाउनुपर्नेहरुले नै पाएनौ । अब बिरोध स्वरुप घरघरबाट चामल उठाएर वडा कार्यालयमा पठाउछौ । उहाँले जसको घरमा एक मुठ्ठी चामल छैन सो परिवारलाई पैचो दिएर भएपनि वडा कार्यालयमा चामललगायतका सामान पठाइने जिकिर गर्नुभयो ।
त्यस्तै स्थानीय बिष्णु गैरेले मर्चाखोलाका बिपन्नका नाममा भोट जितेकाहरुले नै विपन्नहरुलाई बिभेद गरेको भन्दै राहत सामाग्री बितरणले गाउँ समाजमा झगडा पारेको बताउनुभयो । उहाँले राहत सामानले विपन्न विपन्नलाई लडाएर गाउँमा अशान्ति मच्चाएको टिप्पणी गर्नुभयो । उहाँले निम्नवर्ग भन्दा पनि आफ्ना ब्यक्ति छनौट गर्दा समस्या आएको आरोप लगाउनुभयो । गैरेले अधिकांश बैदेशिक रोजगारीबाट कमाई गरेका र कमाई भएकाहरुले राहत सामाग्री पाएको बताउनुभयो । https://youtu.be/aT-_hiEV4jo
यसबारे मर्चाखोला टोल विकास संस्थाका अध्यक्ष सोम पुनले टोलबाट २० जना छनौट गरेकोमा वडाले १५ जनामा झारेकोले समस्या आएको बताउनुभयो । उहाँले राहत समान नै कम आएकोले पहिलो चरणमा १५ जनालाई दिइएको जानकारी दिनुभयो । राहत नै दिनुपर्ने घरपरिवार ४५ घरपरिवार भन्दा माथि रहेको उहाँले बताउनुभयो । टोल विकास संस्थाबाट कुनै बिभेंद नभएको दावी गर्नुभयो । आफू नजिकलाई सरसापटी गरेर खान अनुरोध गर्दै निमुखाहरुलाई नै राहत दिएको बताउनुभयो । हामी सबै सुकुम्बासी हौ भन्दै आएकोले समस्या आएको उहाँको भनाई छ ।
उता बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमालले नगरपालिकाको निर्देशन अनुसार राहत वितरण गरेको बताउनुभयो । उहाँले राहत वितरण गर्नका लागि घरपरिवार छनौटको जिम्मा टोल विकास संस्थालाई दिएकोले वडा कार्यालयबाट कुनै पनि हालतमा विभेद हुनै नसक्ने जिकिर गर्नुभयो । उहाँले टोलबाट वडामा आएका झण्डै ५ सय घरपरिवारबाट आधा आधी छनौट गर्नुपर्दा समस्या भएको उल्लेख गर्दै कुनै नियतबंश कमजोरी नभएको बताउनुभयो । उहाँले सरकारले दिएको मापदण्ड अनुसार वितरण नहुदाँ समस्या भएको हुन सक्ने बताउदै समस्या भए सच्चाउन तयार रहेको बताउनुभयो ।
लकडाउनबाट जिवनयापनमा असहज भएको भन्दै बर्दघाट नगरले सबै वडा कार्यालयमार्फत अतिबिपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई १० किलो चामल २ किलो दाल १ किलो नुन आधा लिटर तेल र साबुन प्रदान गर्दै आएको छ ।